कस्की श्रीमती कति असल ?


तपाईं आफ्नी पत्नीमा के-के गुणहरू हुनुपर्छ भन्ने ठान्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा चार युवा पुरुष भन्छन्- ऊ शारीरिक रूपमा आकर्षक होस्, घरको देखभाल गरोस्, हास्यचेतले पूर्ण होस् ।
उनीहरूले आफ्नी पत्नी केमा कस्तो काम गर्छिन् भन्ने कुरो चाहिँ बताएनन् । तर, पत्नीले आफ्नो परिवारको ख्याल गर्नुपर्ने विषयलाई भने उनीहरूले सबैभन्दा पहिलो नम्बरमैै राखे । धेरैजनाले आफ्नी पत्नीले धेरै पैसा कमाउने जागिर खाएको भने रुचाएनन् ।
के यो अरूचिका पछाडि लैंगिक भूमिकाका कारण पुरुषले आफ्नो पुरानो असल दुनियाँ अर्थात् घरेलु संसार रोजेको त होइन ? के पुरुषले वृत्तिमुखी, सशक्त महिलासँग जीवन चलाउनु गार्‍है हुन्छ त ?
एकजना प्रख्यात सञ्चार संस्थाकी पत्रकार भन्छिन्- मेरा केही पुरुष साथीहरू एकदमै स्मार्ट केटीहरूसँग डेटिङमा जान्छन् । तर, अन्त्यमा उनीहरूले कलेज पढी नभ्याउँदैका भर्खरका युवतीलाई बिहे गर्न रुचाउँछन् किनभने उनीहरू ठुल्ठूला जागिर ताक्ने, अत्यन्त बढी वृत्तिमुखी महिलाभन्दा बढी स-साना भावी योजना भएका सामान्य युवती छनोट गर्छन् । उनीहरू बढी छलफल गर्ने, बुद्धि खियाउने, विवाद र बहसमा उत्रनमै बढी समय बिताउने युवती रुचाउँदैनन् । बरु आफ्नो जीवन-डुंगा चलाउने क्याप्टेनका रूपमा श्रीमान् रहोस् भन्ने विचार भएका केटी नै बिहे गर्न रुचाउँछन् ।
दिल्ली विश्वविद्यालयकी समाजशास्त्रकी एकजना रिडरले समाज दिनानुदिन विकसित भइरहेको परिप्रेक्ष्यमा पुरुषहरू आफ्ना व्यस्त जीवनसाथीसँग मिल्ने हिसाबले नभएर अझै उस्तै पुरानोखालको धारणा राख्छन् भन्नेबारेमा अध्ययन गरिन् । यो खासगरी पुरुषको भन्दा बढी महिलाको क्रियाकलाप बढी राम्रो भएको ठाउँमा देखिन्छ । ईष्र्या र अहंजस्ता पक्षले वस्तुतः सम्बन्धमा तिक्तता उत्पन्न गर्छन् । अझ कामकाजी महिला जीवनसाथी हुनुको अर्थ घरेलु कामकाजमा पनि हात बाँड्नु हो र धेरैजना पुरुष त्यस्ता घरेलु काममा अभ्यस्त हुँदैनन् । काम गर्ने समय अर्को एक कारक तत्त्व हो जसमा पुरुषलाई साह्रै गार्‍हो अनुभव हुन्छ । पति-पत्नीबीचको सम्बन्धमा यस्ता धेरै कारक तत्त्वहरूले काम गर्छन् । तथापि कोही-कोही त आफ्नी पत्नीले गरेका काम देखेर गौरवको अनुभव पनि गरिरहेका भेटिन्छन् । त्यसो भए केही मानिस स्मार्ट, स्वतन्त्र र वृत्तिमुखी महिलासँग व्यवहार गर्न अप्ठ्यारो मान्छन् त ?
एकजना सम्बन्ध विशेषज्ञ भन्छन्- केही पुरुष आफ्नी पत्नीले व्यावसायिक रूपमा आफूभन्दा एकदमै बढी राम्रो काम गर्न थाल्छिन् तब आफूलाई चुनौती खडा भएको र असुरक्षितजस्तो सम्झन्छन् । त्यसकारण त्यस्ता पुरुष घरेलु महिला मन पराउँछन् । उनीहरू आफ्नी महिला कामको सिलसिलामा बाहिरू घुम्न गएको, अबेरसम्म अफिसमा काम गरेको र आफ्नो शक्ति प्रदर्शन गरेको देख्न चाहन्नन् । आफ्नी श्रीमती सफल हँुदै गई भने उसले सबै कुरामा नेतृत्व हत्याउने र आफूलाई सम्मान गर्न छोड्लान् भन्ने डरले उनीहरू त्रस्त हुन्छन् ।
अझै पनि आफ्नो आत्मासँग मिल्ने श्रीमान्को खोजमा रहेकी एकजना ३६ वर्षे जागिरे महिला भन्छिन्- मैले भेटेका धेरैजना पुरुष उनीहरूमाथि आश्रति महिला नै उत्तम हुने ठान्छन् । तिनीहरूमध्ये केहीचाहिँ त सुशिक्षित, राम्रो आम्दानी भएकी महिलामा बढी नै अहं भाव हुने हुनाले उनीहरूसँग व्यवहार गर्नु कठिन मान्छन् । मेरा विचारमा सशक्त महिलाले घरेलु विषय र जीवनमा आइपर्ने चुनौतीको सामना गर्न सक्ने हुनाले उनीहरूबाट धेरै फाइदासमेत हुन्छ ।
तर, बदलिँदो समाजमा पुरुषहरूको पुरानो धारणा अझै बदलिएको छैन । के एक सशक्त कामकाजी महिला पत्नीका रूपमा रहनु फाइदाकै कुरो होइन र ?