´आत्तिनुपर्दैन स्वाइन फ्लुबाट´

विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको स्वाइन फ्लु (एएचवान /एनवान) बाट संक्रमित नेपालमा पनि भेटिएको पुष्टि भएपछि सरकारले रोग नियन्त्रणका लागि उच्च सर्तकता अपनाएको जनाएको छ ।
सरकारले रोग नियन्त्रणका र फैलनबाट रोक्नका लागि रोगबारे प्रचारप्रसार अभियानलाई तीब्रता दिएको र देशका विभिन्न नाकामा स्वाथ्य जाँचको ब्यवस्था मिलाएको बताएको छ ।
रोग भित्रिन नदिन सर्तकता अपनाएको भन्दै गर्दा सोमबार अमेरिकाबाट फर्किएका एकै परिवारका तीन नेपालीलाई फ्लुको संक्रमण भेटिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.सेनेन्द्रराज उप्रेतिले रोग नियन्त्रणका लागि यथासम्भव प्रयत्न भईरहेको र आत्तिनुपर्ने गरी रोग नफैलिएको बताए । उनले रोग नियन्त्रणका लागि विमानस्थल लगायत अन्य नाकाहरुमा सुरक्षाको प्रबन्ध मिलाईएको र टेकु र शिक्षण अस्पताल महाराजगन्जमा उपचारको ब्यवस्था मिलाईएको बताए ।
'हावाबाट सर्ने रोग हुनाले रोक्न गाहृो छ', उनले भने-'तर, आत्तिईहाल्नुपर्ने गरी रोग फैलिएको छैन् ।' उनले संक्रमित भएका भनिएकाहरुको उपचार आईसुलेसनमा भईरहेको पनि बताए । महाशाखा प्रमुख उप्रेतिले फ्लु बारे ब्यापक सूचनाको प्रचार गर्नु जरुरी रहेको र जनता आफैं सचेत हुनुको विकल्प नरहेको पनि बताए ।
संक्रमित भेटिएपछि काठमाडौंमा रोगको सन्त्रास फैलिएको तर सचेतता अपनाए डराउनु नपर्ने उनले बताए । उनले फ्लु फैलन नदिन सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।
विश्वब्यापी महामारीको रुप लिएको यो रोग हालसम्म विश्वका १६३ देशमा देखापरेको छ । यो रोगबाट ३११ ले ज्यान गुमाईसकेको र झन्डै ७० हजार ८९३ मा संक्रमण देखापरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।