नेपालको नाम मात्रको अन्तराष्टीय बिमानस्थल

जहाँसुकै लाइन, खचाखच भीड, जथाभावी भाँचिएका कुर्सीहरू, बिगि्रएका एक्सरे मेसिन, दुर्गन्धित शौचालय, काम नगर्ने सिसिटिभी, भत्किएका ढोका, चुहिने छाना र असहयोगी कर्मचारी ।
जब आम मानिस विदेश जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्, हरेक स्थानमा देखिने पट्यारलाग्दो लाइन, अस्तव्यस्त कार्यशैली र असहयोगी कर्मचारी भेटेपछि दिक्क देखिन्छन् ।
विमानस्थलमा सर्वसाधरणलाई विदेश जानका निम्ति मुख्य दुईवटा प्रवेशद्वार छन् । धेरै यात्रु पस्ने विमानस्थलको पहिलो मुख्य ढोका बन्द छ किनभने बन्द द्वारभित्र रहेका यात्रुका सामान जाँच गर्ने दुवै एक्सरे मेसिन बिगि्रएका छन् । खुला रहेको एउटा ढोकाभित्रको दुईमध्ये एउटा एक्सरे मेसिन पनि बिगि्रएका छ । चारमध्ये एउटामात्रै एक्सरे मेसिन सञ्चालनमा रहेका कारण भित्र प्रवेश गर्न यात्रुले बाहिरै घन्टौं लाइन लाग्नुपर्ने अवस्था छ ।

जताततै लाइन
घन्टौं लाइनमा लागेर भित्र पसेका यात्रु भारी सामान डोर्‍याउँदै एयरलाइन्सका टिकट काउन्टर पुग्ने लाइनमा बस्छन् । घरबाट टीका लगाई बिदा भएर आएका केही यात्रु त 'कन्र्फम' टिकट भए पनि एयरलाइन्सको झमेलामा फसेर र्फकन बाध्य हुन्छन् । सामानको तौल, टिकटको तिथिमिति अनेक नाममा स्पष्टीकरण दिँदादिँदा बोडिङ कार्ड हात पारेपछि तिनै यात्रु पुनः माथिल्लो तलामा रहेको अध्यागमन अधिकारीलाई भेट्ने लाइन लाग्न बाध्य हुन्छन् ।
अनेक बहानामा अध्यागमनका लाइनबाट पार पाउँदानपाउँदै यात्रु सुरक्षाकर्मीलाई शरीर खानतलासी गराउन लाममा बस्न तयार हुनुपर्छ । शरीर र हातमा बोकेको सामान चेकजाँच गर्ने स्थानमा राखिएका तीनमध्ये दुई एक्सरे काम नगर्ने भएपछि बन्द गरिएको छ । शरीर जाँच गराएर हस्याङफस्याङ गर्दै मुख्य सुरक्षित स्थान (इस्टलाइजिङ जोन) पुगेका सयौं यात्रु शौचालयका लागि पालो कुरेर लाइनमा बस्छन् । अन्तिम बिन्दुमा रहेको उक्त कक्षमा एक पटकमा दुई जनाले मात्रै शौच गर्ने सुविधा छ ।
लाइनमा बस्ने पीडा जाँदा मात्रै होइन । विदेशबाट आउने क्रम झनै भयावह छ । सबैभन्दा बढी जहाज आउने साताको तीन दिन सोमबार, बिहीबार र शनिबार यात्रुले अध्यागमन डेस्क पुग्न घन्टौं लाइनमा बस्नुपर्छ । कतिपय अवस्थामा त लाइनमा बस्दाबस्दै तल बेल्टमा घुमिरहेका सुटकेस र झोला कसले घर पुर्‍याइसकेको हुन्छ, पत्तै हुँदैन ।
'ओहो जाँदा मात्रै लाइन होला भनेको त र्फकंदा पनि उस्तै रहेछ,' बंैककबाट काठमाडौं फर्केका व्यापारी योगेश सिंहानिया भन्छन्, 'अबचाहिं विमानस्थल एकदमै साँघुरो भएजस्तो लाग्न थालेको छ ।'
स्थान अभावले जतासुकै लाइनमा बस्नुपर्ने भए पनि विमानस्थलको भित्री कक्षमा थप लाइन बस्ने निकाय खडा गरिँदै छ । केहीअघि कामका लागि विदेश जाने नेपालीलाई व्यवस्थित गर्न 'लेबर डेस्क' खडा गरिएको थियो भने हालै स्वास्थ्य मन्त्रालयले 'स्वाइनफ्लु' रोगको पहिचान गर्न थप डेस्क खडा गरको छ ।

जताततै फोहोर
सधैंभरि सफा र चिटिक्क देखिनुपर्ने विमानस्थलभित्र र बाहिर सधैं फोहोर र अस्तव्यस्त देखिन्छ । भित्री सरसफाइ र बाहिर घाँस काट्न पचासौं लाख उड्डयन प्राधिकरणले खर्च गर्छ तर न विमानस्थलभित्रै सफा छ न बाहिर सफासँग घाँस काटेको देखिन्छ । सुलुलु बग्ने 'ब्यागेज बेल्ट' कराएका आवाजले एकआपसमा बोलेको सुनिन छाडेको छ । जतासुकै बिग्रेका एक्सरे मेसिन, कुर्सी, फर्निचर यततत्र देखिन्छन् ।
'मेसिनरी उपकरण बिग्रनु स्वाभाविकै हो, बनाउने क्रममै छांै, नयाँ ल्याउनका लागि पनि टेन्डरको प्रक्रियामा छौं,' विमानस्थल प्रमुख त्रिरत्न मानन्धर भन्छन्, विमानस्थलभित्र भइरहेको साँघुरोपन हटाउन पनि आगामी आर्थिक वर्षमै तीन सय जना अट्ने छुट्टै स्थान बनाउने योजना छ ।'
सुरक्षाका लागि लगाएका तारजालीका घेरामा प्वालैप्वाल देखिन्छ । विमानस्थल प्रवेशका लागि वितरण गरिने पासको पनि व्यापक दुरुपयोग भएको देखिन्छ । चिनजान र व्यपारीलाई तत्कालै रनवेसम्मको पास दिइन्छ भने जरुरी परेकालाई अनेक बहानामा झुलाउने गरिन्छ । उड्डयन कार्यालयले हालसम्म ५ हजार ५ सयभन्दा बढीलाई तस्बिरसहितको भित्र प्रवेश गर्ने पास वितरण गरेको छ भने ४ सय ४६ पास होटल व्यवसायी, पि्रपेड ट्याक्सी, पोस्टपेड ट्याक्सी, र ट्रेकिङ एजेन्सीलाई वितरण गरेको छ ।
विशिष्ट व्यक्तिको आगमन र प्रस्थान क्रममा महत्त्वपूर्ण व्यक्तिसँगै अनावश्यक मान्छे घुइँचो लागेर भीआईपी कक्षसम्म पुग्ने गरेको देखिन्छ । तर निम्ता गरिएका आगन्तुक सम्बद्ध सरकारी कर्मचारीहरूलाई बाहिरै कुर्न लगाइन्छ । विमानस्थल सुरक्षा र आम यात्रुको सहयोगका लागि १८ वटा सरकारी, चार वटा अर्धसरकारी र दस वटा निजी संघसंस्था कार्यरत छन् ।
उड्डयन प्राधिकरणले विमानस्थल सुरक्षाका लागि वषौर्ंअघि जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये ११ वटा मात्रै चालु हालतमा छन् । बाँकी मर्मतसम्भारका अभावमा बन्द छन् । सुरक्षाका लागि आवश्यक परेको स्थानमा प्रत्येक वर्ष सिसिटिभी थपिँदै जानुपर्नेमा बिग्रँदै गएकामा प्राधिकरण बेखबर देखिन्छ । 'बेलाबेला टिभी त भित्तातिर फर्काइएको हुन्छ,' विमानस्थलका एक अधिकारी भन्छन् ।


मान्दैनन् आदेश र नियम
विमानस्थलभित्र कार्यरत सबै निकायका कर्मचारीलाई पोसाकको सुविधा दिइएको छ । यात्रु र कर्मचारी छुट्याउने उद्देश्यले अनिवार्य लगाउन दिएको ड्रेस र परिचयपत्र गलत काम गर्दा पहिचान हुने डरले थोरैले मात्रै लगाउँछन् । उड्डयन प्राधिकरणको अन्तर्राष्ट्रिय प्रचलनअनुसार दिएको ड्रेस र परिचयपत्र अनिवार्य लगाउनुपर्ने प्रावधान कडाइ गर्दा पहिले समय मागिन्छ, तोकिएको समयमा कडाइ गर्न खोज्दा आन्दोलन प्रयास हुन्छ ।
यात्रुको आवागमन चुस्त रेकर्ड राख्न अध्यागमनलाई कम्युटर सर्भर राख्न दिएको निर्देशन वर्षौं बित्दा पनि कार्यान्वयन भएको देखिँदैन । हँसिला र सहयोगी हुनुपर्ने अध्यागमन अधिकारी कठोर र असहयोगी देखिन्छन् । छिटो र सजिलो कामका लागि एकजनाको काम सकिएपछि मात्रै अर्को यात्रु जान पाउने व्यवस्था तेस्र्यार्एर आम्दानी गर्ने बाटो बनेको देखिन्छ । अध्ययनका सिलसिलामा अस्ट्रेलिया र कोरिया जाने नक्कली युवा दम्पतीहरू केही समययता मुख्य सिकार बनेका देखिन्छन् ।

केदार ओझा/काठमाडौं
कान्तिपुर