“रेलभित्रको सिपाही”

‘कति बज्यो दाइ?’
मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।
साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को नदेखिने रेल लखनउ पुग्न तीन घन्टा जति बाँकी थियो। भारतीय रेल पहिलोपटक चढेको भए पनि नेपाली सीमा नजिकैको सहरबाट छुटेको त्यो साधनमा नेपाली आवाज मैले अपेक्षै नगरेको चाहिँ थिएन। तर दसैंको बेला यो नेपाली ठिटो किन यो रेलमा?
‘पौने दस,’ मैले भने– ‘नेपाल टाइम।’
खल्तीबाट मोबाइल निकालेर समय बताउँदासम्म उसले म बसेको सिटैमा मेरो सामुन्ने पलेटी मारेर आफूलाई थमाउन भ्याइसकेको थियो। ऊ मलाई हेरिरहेको थियो।
निधारमा रातो रुमाल बाँधेको, तीन दिनजस्तो अघि दाह्री काटेको, अमेरिकी जुत्ता कन्भर्सको विज्ञापन कुदिएको टिसर्ट र सादा ट्राउजर लगाएको त्यो जवानले मसँग गफ थाल्ने पर्फेक्ट बहाना भेट्टाएको थियो। मेरो टिसर्टमा ठूलो रंगीन ‘काठमान्डू, नेपाल’ इम्ब्रोइडरी कुँदिएको थियो। हल्का आश्चर्य मलाई त्यतिबेला भयो जब उसले ऊ पनि त्रिवेन्द्रम जान लागेको बतायो। त्यो ट्रेनमा कोही नेपाली यात्रारत छन् कि भन्दै चाहार्ने क्रममा स्लिपर क्लासको दुई नम्बर डिब्बामा ऊ आइपुगेको थियो।
दसैंको मुखैमा चाडलाई गत वर्षझैं बेवास्ता गर्दै ब्याकप्याक बोकेर दिल्लीतिर बिदा मनाउन हानिएको मैले रेल टिकट नपाएपछि तत्कालै केरला बरालिने निर्णय गरेको थिएँ। कामको मुढमा म पक्कै थिइन तर त्यो क्षण दुई हजार शब्दको एउटा स्टोरी तीव्र गतिको रेलभित्र मेरै सिटमा बसेर मलाई नियालिरहेको थियो। उसको परिचय सुन्नासाथ मैले नोटबुक निकालेको थिएँ।
‘सुरेन्द्र हमाल,’ ठिटोले परिचय दियो– ‘इन्डियन आर्मी। गोर्खा राइफल्स।’
‘आर्मीमा चाहिँ यस्तो,’ मैले टिप्दै गर्दा उसले थप्यो– ‘त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।’
पुतलीबजार–१ स्याङ्जाको २२ वर्षेलाई मैले जस्तो ‘दिल्ली गोवा झरेर मनाउला दसैं भन्ने छनोट थिएन। विदेशी सेनाले दिएको एक महिने बिदा एकै दिन बितेझैं सकिएको थियो। नसकिँदो हो त दसैंको के कुरा छ महिनाअघि बिहे गरेकी पत्नीलाई छाडेर झन्डै पाँच हजार किलोमिटर टाढा जाने रहर उसमा कसरी आउँदो हो?
‘भर्खर भर्खरको प्रेम कस्तो हुन्छ?’ उसले त्यसरी भन्यो मानौ ऊ जवाफ मबाट खोजिरहेको छ– ‘मागी बिहेमा प्रेम पछि हुन्छ क्या। बिहेपछि।’
………….‘एई चाय, गरमागरम चाय,’ एउटा भट्ट्याउँदै आयो– ‘पिजिए भाई साहब, मजेदार चाय।’
‘एई वाट्रेएएए,’ अर्कोले पानीको अंग्रेजी शब्दलाई खाट्टी भारतीय रेल–व्यापार लवजमा उच्चारण गर्दै चियावालालाई पछ्यायो– ‘एई वाट्रेएएए। लिजिए कोल्ड ड्रिङ्क्स।’
‘लेओगे भाइ चाय?’ डिब्बाको उपल्लो कुनामा पुगेर फर्केको चियावालाले हमाललाई जिस्काउँदै सोध्यो।
‘अब तैंले खान्छन् है मेरो चुटाइ,’ उसले चियावालाको अनुहार र आफ्नो मुड्कीबीच आँखा सार्दै हाँस्दै भन्यो– ‘तेरेको तो मै दुंगा धुलाई। बढी कराउँछस्?’
पाँच वर्षअघि भारतीय सेनामा काम थालेयता हमालको आत्मविश्वास ह्वात्तै बढेको छ, जो प्रायः प्रकट भइहाल्छ। सेनाको कठिन तालिमलाई त्यसको जस जान्छ। ‘सुरुसुरुमा आउँदा अर्काको ठाउँ, कुट्लान् भन्ने हुन्थ्यो,’ उसले मसँग भन्यो– ‘अहिले इन्डिया खाइयो। हतियारै लिएर आए भने पनि एक/दुई जना मान्छे कसरी फाँड्ने थाहा छ। खतरा ट्रेनिङ गरियो।’
त्यो चियावालासँग अघिल्लो यात्रामा परिचय भएको हमालले बतायो। चिनाजानी त्यो बिहान अद्यावधिक भएको थियो। हमालको ‘एक/दुईजना फाँड्ने’ कुरा नबुझेको चियावाला अनिश्चयात्मक मुस्कान दिँदै र उही खाँट्टी भारतीय रेल लेग्रोमा पेयको विज्ञापन गर्दै अर्को डिब्बातिर लाग्यो।
…….संसारकै सबैभन्दा ठूलो र व्यस्त सञ्जालमध्येको भारतीय रेल प्रणाली खासमा त्यो समाज र अर्थतन्त्रको जीवनरेखा हो, जसमार्फत सम्पूर्ण भारत चलायमान हुन्छ। अंग्रेज साम्राज्यले भारतमा छाडेको सम्भवतः सबैभन्दा उपयोगी र प्रभावशाली विरासत हो रेल, जसले सस्तो र आरामदायी यात्रा गराउनुबाहेक एउटा कुनामा उत्पादित सामानलाई कम खर्चमै अर्कोमा पुर्यारइदिन्छ। आकाशबाट हेर्दा घिसि्रइरहेका लामा अजिंगरजस्ता देखिने तथा भित्र प्रायः भीड र होहल्लामा गुन्जिने भारतीय रेलमा दैनिक झन्डै दुई करोडले यात्रा गर्छन्। रेल आफैमा एउटा संसार हो, जहाँ अनेकौं भाषा बोलिन्छन्, थरीथरीका लजव देखिन्छन् र विविध खान्की खाइन्छन्। डिब्बाभित्रका ट्वाइटेलबाट निस्कासित बस्तु सोझै झर्ने हुँदा भारतीय रेल लिक संसारकै सबैभन्दा ठूलो शौचालय पनि हो। भारतीय रेलवेको चौथो लामो रुटको २३ डिब्बे ‘राप्तीसागर एक्स्प्रेस’ मा आज एउटा सानो सहरै सवार छ। ‘कति ठूला छन् यी रेलहरू,’ स्याङ्जाली राइफलम्यानले भन्यो– ‘सुरुमा एउटा रेलबाट मान्छे झरेको देख्दा मेरा जिल्लाका सबै आएछन् कि जस्तो लाग्या थियो।’
भारतीय सैनिक भएकाले हमालले निःशुल्क (र सिपाही भएकाले) शयन डिब्बामा यात्रा गर्न पाउँछ। तर उसका आँखा वातानुकुलित (एसी) तिर छन्। ‘हवल्दार भएपछि एसीमा हिँड्न पाइन्छ,’ उसले भन्यो।
त्यो सम्भवतः अबका १० बर्षमा भइसक्नेछ, जसको समाप्तिसँगै ऊ पेन्सनका लागि योग्य हुनेछ। त्यसपछि रेलै दिन्छु भने पनि उसलाई भारतीय जागिर गर्ने चाहना छैन।
‘अबका दस वर्ष पैसा जोगाउँछु,’ उसले भन्यो– ‘फेरि अर्को नोकरी गर्न मन छैन। पैसा जोगिए एउटा घर बनाएर फ्यामेली लिएर बस्न सकिन्छ।’
…….घरमा पत्नीबाहेक हमालकी विधवा आमा, हजुरबा र भाउजु छन्। हजुरबाजस्तै भारतीय सेनाबाट निवृत्त बाबुलाई हमालले १७ वर्षको हुँदा मोटरसाइकल दुर्घटनामा गुमाएको थियो। उसका दाइ नेपाली सेनामा छन्। बाबु बितेको चोटमा रोजगारीका दृष्टिले असुरक्षित बनेको हमालले सजिलो विकल्पका रूपमा भारतीय सेनामा जाने निर्णय गरेको थियो। पोखरामा भर्ती भएर सिम्लामा ५२ हप्ताको प्रारम्भिक सैन्य प्रशिक्षणसँगै ‘भारतका लागि मर्न पछि नहट्ने’ कसम खाएपछि ऊ औपचारिक रूपमा पल्टनमा सामेल भएको थियो। त्रिवेन्द्रम नजिकैको ब्यारेकमा दुई महिनाअघि पोस्टिङ हुनुअघि उसले सुदूर उत्तर भारतको पाकिस्तानी सीमा नजिकै विश्वकै सबैभन्दा अग्लो लडाइँ स्थल सियाचेन ग्लेसियरमा दुई वर्ष बितायो। त्यसअघि ऊ पूवोत्तर भारतको अरुणाचल प्रदेशस्थित चिनियाँ सीमा नजिकै थियो। ‘सबै ठाउँ छुट्टै संसार जस्तो,’ उसले भन्यो– ‘अरुणाचल अर्कै, ग्लेसियर झन् अर्कै। ग्लेसियरमा बंकरको बंकरै। निस्किए जाडोले बरफ होइन्छ या गोलीले माथि गइन्छ। अब केरला तल समुद्रमै भइगयो।’
‘रमाइलो छ जागिर?’ मैले सोधें।
‘अर्काको देशमा, अर्काको खटनपटन के रमाइलो हुनु,’ उसले भन्यो– ‘अर्काको लागि लड्नुपर्छ। घरैमा बस्न धनीको छोरा परिएन। जानुपर्ने विदेशमै हो, छाडेर पनि के गर्ने? १४ हजार आईसी पैसा ठीकै छ तर इज्जत हुन्न।’
इज्जत हुने र आफ्नै देशको सेवा पनि गरिने काममा हमालले रुचि नदेखाएको होइन। ‘तीन वर्षअघि,’ उसले भन्यो– ‘नेपाली सेनामा सेकेन्ड लेफि्टनेन्टमा नाम निस्केको थियो तर द्वन्द्वको समयमा माओवादी डरले त्यसमा भर्ती भइएन।’ यो एउटा तीतो विडम्बना हो, हमाललाई सेनामा भर्ती हुन रोक्ने माओवादीका प्रमुख अहिले नेपाली सेनाका पनि प्रमुख छन् र आफ्ना कार्यकर्तालाई त्यो राष्ट्रिय संस्थामा घुसाउन प्रयत्नशील छन्। हमाललाई अब त्यसमा खासै गुनासो छैन। उसले जसोतसो पेन्सन पकाउने निर्णय गरेको छ।हो, हमालले देशले दिन नसकेको रोजगारीका खातिर विदेशीका लागि मर्नेसम्मको बाचा गरेको छ तर त्यसो भन्दैमा उसले स्वदेशको मूल्यमा विदेशीलाई हृदयदेखि रुचाउँछ भन्ने होइन। सिर्फ पैसाका लागि विदेसिनु परेको वास्तविकताप्रति उसमा जति गहिरो ग्लानी छ, स्वदेशप्रति त्यति नै माया।
‘घरमा जति रमाइलो कहाँ होला,’ उसले भन्यो– ‘आफ्नो मर्जीमा बस्न पाइन्छ। फेरि हिन्दी शब्द आइहाल्छ, नेपाली बोलौ भनेको।’सधैं घर बस्ने समय आइसक्दा उसको बोलीमा सम्भवतः अझ बढी हिन्दी शब्द मिसिनेछन् तर त्यसो भन्दैमा हमालले गन्ती गर्न छाडेको छैन।
‘पेन्सन पाक्दा ३३ वर्षको हुनेछु,’ झ्यालबाट बाहिरको फराकिलो खेततिर आँखा डुलाउँदै उसले भन्यो– ‘त्यसपछि खुरुक्क घर फर्केर आनन्दले बस्छु। अर्को काम गर्दिनँ। विदेश मरे पनि जान्न।’
रेल निरन्तर दौडिरहेको छ, धान खेत सकिएको हैन। आवाज प्रस्ट सुन्न म ऊतिर ढल्किएको छु।
‘तर अबका १० वर्ष एकदम लामो लाग्छ,’ उसले भन्यो।
म सुनिरहेको थिएँ, ऊ बाहिरै हेरिरहेको थियो। हामी लखनउलाई निकै पछि पार्दै कानपुर कटिसकेका थियौं।
‘घरमा हुँदा दुई महिना दुई दिन जस्तो बितिहाल्छ,’ उसले थप्यो– ‘पत्तै हुँदैन, फर्किने बेला आइसक्छ।’
……….यसपालि फर्किंदा सबैभन्दा बढी ‘मिस’ हमालले आफ्नै पत्नीलाई गरेको छ। बिदा एक दिन बाँकी थियो तर त्यही दिनको ‘नेपाल बन्द’ छल्न उसले अघिल्लै दिन गोरखपुर हानिनुपर्योक।
‘नयाँ नयाँ छ नि प्रेम,’ उसले भन्यो– ‘एक दिन भए पनि सँगै बसौं भन्ने हुन्छ।’
सेनाको जागिर, ब्यारेकको जिन्दगी। केटी कल्पनामै मात्र हुन्छन्, वास्तविकतामा दुर्लभ। ‘केटीको फेस देख्न पनि पाइँदैन आर्मीमा,’ उसले भन्यो– ‘फौजीको नराम्रो भनेकै त्यही। केटाकेटा होइन्छ। उत्तेजना भइहाल्छ। अनि विकृति, रोग, वेश्यालय।’
मैले दाँत सिरिंग हुँदा बन्ने अनुहार पार्दै उसलाई हेरें। ऊ बोलिरहेको थियो। ‘बिहे नगरे फौजी बिग्रिन्छ,’ उसले भन्यो– ‘छिट्टै गरेको राम्रो। बूढो भएपछि के रमाइलो? जहाँ पायो त्यहीँ जाने, खर्च गर्ने सबै कन्ट्रोल हुन्छ।’
मैले टाउको हल्लाएँ।
‘कन्ट्रोल के ठप्पै हुँदो रहेछ,’ उसले भन्यो– ‘केही गर्नुपर्छ, पैसा जोगाउनुपर्छ भन्ने हुन्छ। अलि व्यावहारिक होइन्छ।’बिहे नगर्दा पैसा उडाउने गरेको सम्भिँदै उसले भन्यो– ‘बिदा सकिएर फर्किने बेला खर्च हुँदैन थियो। आमासँग माग्न लाज लागेर ऋण गरेर जान्थें।’
धन्यवाद, उसको जीवनमा पत्नीको आगमनलाई, हमाल अब पैसा बैंकमा जोगाउन चाहन्छ। घर बनाउने उसको लक्ष्य छ।
गत वर्षको त्यो दिन उसले कहिल्यै बिर्सने छैन। जब हमाल १२ कक्षाको परीक्षा पर्खिंदै गरेकी केटी हेर्न अहिलेको ससुराली पुगेको थियो। पहिलो हेराइमै ऊ आकर्षित भयो। ‘अर्काकी छोरीलाई कसरी नराम्रो भन्न सकिन्छ?’ उसले भन्यो– ‘अनि मन पर्योम। बाउले बीए पास गरेरपछि मात्र दिने भन्दै थिए, मैले भने– ‘ममीले कर गर्नुभएको छ।’ केटीले सोधी– ‘मैले पढ्न पाउँछु?’ मैले भने– ‘म शिक्षाप्रति त्यस्तो छैन । मैले पेन्सन नपकाउन्जेल जति पढे पनि हुन्छ।’
बिहेअघिको प्रतिज्ञा हमालले पूरा गरेको छ। पत्नी पोखरामा पीएन क्याम्पसमा भर्ना भएकी छिन्। ‘उनी,’ हमालले भन्यो, ‘त्यहीँको एउटा प्राथमिक स्कुलमा पढाउँछिन् पनि।’ पढाइमा सहयोग पुर्यानउन तत्काल बच्चा नजन्माउने सहमति उनीहरूले गरेका छन्। ‘(बच्चा जन्माए) पढ्ने मान्छेको पढाइ बिग्रन्छ,’ पतिले भन्यो। ‘उसले पनि काम गरे पो पैसा जोगाउन सकिन्छ,’ हमालले थप्यो– ‘मेरो कमाइले घरखर्च चलाउन थाले पेन्सन निस्कँदा जस्ताको तस्तै। तर इन्टरमात्रै गरेर जागिर पाइँदैन। (त्यसैले पत्नीले) डिप्लो त गर्नैपर्छ।’पत्नीलाई पढ्न उक्साउने हमाल आफैंमा पनि पढ्ने चाहना नभएको होइन। गणितमा असफल भएपछि पूरकमार्फत एसएलसी उत्तीर्ण गरेर सेनामा गएको उसले एकजना वरिष्ठ अधिकृतबाट अंग्रेजी नजाने केही नहुने जानकारी पाएपछि प्राइभेट परीक्षा दिएर आईए पास गर्योे। ‘अहिले काम चलाउ अंग्रेजी बोल्छु,’ उसले भन्यो– ‘म घरमा जाँदा पनि कम्प्युटर सिकेर बस्छु। नयाँ कुरा सिक्नैपर्छ।’
……‘नयाँ कुरा’ नसिके भारतीयहरू भन्दा उन्नतकोटीको कसरी होइन्छ? हमाल प्रत्येक हिसावले नेपालीहरू भारतीयभन्दा उच्चकोटीका र आधुनिक छन् भन्ने ठान्छ– विशेषतः फेसनमा।
कस्मिरमा हुँदा आतंकारी आक्रमणबाट बाँच्न हमालले लामो कपाल र दाह्री पाल्न पाउँथ्यो, जो उसको सोख हो। अब शान्तिपूर्ण क्ष् त्रमा सरुवा भएकाले पाल्न पाइँदैन। त्यसैले पत्नीपछि सम्भवतः उसले दाह्रीलाई मिस गर्नेछ। ‘मेरो कपालको स्टाइल हेर्नुस् न,’ उसले रुमाल फुकाएर क्रमशः तालु र कान मास्तिर इंगित गर्दै भन्यो– ‘यहाँ पूरै ठाडो, यहाँ तल झरेको। घरमा हुँदा दाह्री पालिहालिन्छ।’ तर ससुराली जाँदा चाहिँ काटिन्छ किनकि सम्बन्ध भर्खरको जो छ। ‘अब ससुराली जाँदा रुमाल बाँधेर, दाह्री पालेर ट्यापे जस्तो हुनु त भएन,’ उसले मुस्काउँदै भन्यो– ‘त्यसैले काटें। सुटपाइन्ट लगाउनैपर्योर। फेरि भर्खरको ससुराली।’
त्यो रुमालचाहिँ लद्धाखबाट फर्किदा ट्रेनमा छिरेका केटीको मन राखिदिन उसले त्यो किनेको थियो। ‘आज अलि टाउको दुखेजस्तो भएको छ, त्यसैले बाँधेको,’ उसले भन्यो।
हमालले रेलका भारतीय यात्रुको लवाइको बारम्बार टिप्पणी गरिरह्यो। ‘ऊ त्यसको पाइन्ट हेर्नुस् न,’ नजिकैको कम्पार्टमेन्टमा साइड पकेट भएको कटनको पाइन्ट लगाएको भारतीय ठिटोलाई संकेत गर्दै हमालले भन्यो– ‘आफूलाई खुबै हिरो ठानेको होला। हाम्रोमा त्यस्तो डिजाइनको पाइन्ट आएर पनि हराइसक्यो।’ त्यसपछि उसले धाक लगायो– ‘मेरो जस्तो टिसर्ट यिनीहरूले देख्नै पनि पाउँदैनन्। हेर्नुस् त सबैले एकनाशको सर्ट लगाएका।’ हमालको दाबीमा पूरै सत्यता छैन भन्न कुनै प्रमाणै चाहिँदैन तर एउटा गजवको संयोग थियो– उसको टिसर्टमा कुँदिएको डबल लेस मोडलको कन्भर्स जुत्ता मेरो ब्याकव्यापकमा थियो।
……………..फेसन टिप्पणी गर्दै पत्नीको सम्झना र भविष्यको योजनालाई मनमा साँचेर ऊ अहिले घरबाट निरन्तर टाढिँदो छ। पूरै तीन दिन, दुई रातको ६२ घन्टे यात्रापछि त्रिवेन्द्रममा उत्रेर उसले अटो चढेर ब्यारेक पुग्नुपर्छ। तर एउटा समस्या छ, गोरखपुरमा उसले पैसा हरायो। कसोकसो खल्तीको अर्को कुनामा थोरै आईसी र ८० जति नेरु भेटियो। सँगै रेलमा सोही बटालियनमा काम गर्ने एक वरिष्ठ सिपाही पनि छन्, जसलाई ऊ गुरु भन्छ तर अगाडि गफिन धक मान्छ। ‘अटोमा जान गुरुले सहयोग गर्लान् नि,’ मैले भने।
‘आम्मै,’ अनुहार फैलाउँदै भन्यो– ‘गुरुलाई भन्नै हुन्न। ब्यारेकमा थाहा पाए बबाल हुन्छ। हमाल लुटिएछ भनेर सबैले गिल्ला गर्छन्। सिपाही भएर पैसासमेत ठेगानमा राख्न नसक्ने भनेर जिस्काएरै मार्छन्।’
रात पर्दै थियो, त्रिवेन्द्रम आउन आधा घन्टा जति बाँकी थियो। मैले उसको नेपाली पैसा भारुमा साटिदिएँ। ‘यति भए पुगिन्छ,’ उसले ढुक्क हुँदै भन्यो।
ट्रेन रोकिँदै थियो, हामी ब्याकप्याक बोकेर ढोकातिर बढ्दै थियौं, उसले फेरि सोध्यो– ‘कति बज्यो?’
‘पौने नौ,’ मैले भने, उसलाई बाई गरे र थपें– ‘नेपाल टाइम।’

*कान्तिपुर कोसेलीमा प्रकाशित *

अरेवियन समुद्री किनारमा

कोल्भा विचमा उभिएर लगभग एक घन्टा सूर्यास्त हेरेपछि र एक गेगावाइट जतिका तस्बिर खिचेपछि म अरेबियन समुद्र किनार नजिकैको त्यो क्याफेमा छिरेको थिएँ। गोवामा ‘कफी डे’ को साइनबोर्डमा उल्लेखित ट्याग लाइनले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो– ‘अ लट क्यान ह्याप्पेन ओभर कफी…।’ कफीको बाहानामा धेरैकुरा हुनसक्छ।
मन मेरो ‘अ थाउजन्ड स्प्लेन्डिड सन्स’मै थियो। खालेद होसेनीको त्यो दोस्रो किताबमा अफगानी समाजमा महिलाहरूको दुखको वर्णनले मनलाई टुक्राटुक्रा पारेको थियो। कथाले गम्भीर मोड लिँदै छ। तन्नेरी तारिकसँग जिन्दगीको रमाइलो सपना देखिरहेकी टिनएजर लायला घरैमा बजि्रएको अचानकको बमले बाबुआमा मारेपछि टुहुरी भएकी छ। ऊ बाबुकै समयवी त्रू्कर वृद्धसँग विवाह गर्न बाध्य भई। अफगान पुरुषहरूप्रति मलाई बेजोडको रिस उठेको छ। कथा अब कता जाला भन्ने तीव्र चासो छ। लात्तेँ र व्ल्याक फरेस्ट अर्डर गरेर म पन्ना पल्टाउँदै थिएँ। त्यही क्षण ट्याग लाइनलाई सार्थक र मलाई चकित तुल्याउँदै उसले हात मतिर बढाएको थियो– ‘हेल्लो!’ हेत्तेरी, ‘पल्पसा क्याफे’ मा दृश्यले सुन्दर पल्पसालाई भेटेको गोवामा म चाहिँ एउटा केटोले अभिवादन गर्दै छ। किन म उनीहरूलाई भेटाउने अन्जुना विच नगएर कोल्भामा आएँ हुँला?
‘सेख,’ हात मिलाउदै गर्दा बुद्धका आँखा कुदिएको हाफ पाइन्ट र ‘माउन्ट एभरेस्ट, नेपाल’ लेखिएको मेरो टिसर्ट हेर्दै उसले आफ्रुनो परिचय दियो– ‘म तमिलनाडुको। ठ्याक्कै भन्दा कन्याकुमारी। तिमी नेपालबाट आएको हुनुपर्छ? मलाई त्यो देशबारे खुबै जान्ने चासो छ। मिस्टर प्रचण्ड के गर्दै छन् अचेल?’
‘ओ, वाउँ! हेल्लो,’ मैले दोहोरो उत्साहलाई सकेसम्म सामान्यीकृत गर्दै भने– ‘चार दिनअघि म कन्याकुमारीमै थिएँ। हाम्रो भेट यहाँ भयो। तर राम्रै भयो।’
मलाई झलक्क पल्पसा र दृश्यको त्यस्रुतै अचानकको भेटको झल्को आयो तर अहिले सेख मेरा अगाडि उभिइरहेको थियो। निलो खुकुलो जिन्स, एडिडास स्पोर्टस् जुत्ता र उज्यालो रंगको एब्स्ट्रयाक्ट पेन्टिङ छातीमा भएको टिसर्ट लगाएको उसले कपाल छोटो पारेको र दाह्री चिटिक्क काटेको थियो। सेखलाई मैले टेबुलमा निम्त्याएँ र कफीको प्रस्रुताव गरें, जो उसले तत्कालै स्वीकार गर्यो।। दक्षिण भारतमा नेपालबारे राम्रो थाहा पाउने निकै कम मानिस भेट्टाएको उल्लेख गर्दै मैले उसलाई अहिले देशमा शान्ति छाउँदै गरेको र दस वर्ष युद्ध गर्ने मान्छे प्रधानमन्त्री भएको बताए। मलाई आफ्नोतिरको समाचार सुनाउने भन्दा पनि उसको नाम सुन्नेबित्तिकै मनमा उब्जेको प्रश्न गर्ने हतारो बढी भइसकेको थियो।
‘त्यसो भए तिमी मुस्मिल?’ मैले सोधें र उसले त्यसलाई अन्यथा लेला भन्ने चिन्ताले होसेनीको किताब देखाउँदै प्रस्ट्याएँ– ‘हेर न म यो पढ्दै छु। अफगानिस्तानको कथा कस्रुतो हृदयविदारक छ।’
हामी आमा छोराको हत्केलाबीच भर्खरै उदाएका सूर्य नारायण । कन्याकुमारी ।
खासमा मानिसहरूलाई उनीहरूको धर्मको आधारमा वर्गीकृत गर्ने कुरा मलाई पटक्कै मन पर्दैन। नौलोसँग परिचय गर्दा सुरुवाती केही वाक्यहरूमै धर्मको कुरा मैले कहिल्यै गरेको थिइनँ। तर बितेका केही दिनमा रेलमा भेटिएका थुप्रै मानिससँगका मेरा कुराकानी कुनै न कुनै बिन्दुमा कसोकसो त्यतैतिर मोडिएका थिए। भारतमा सधैं धर्मलाई लिएर केही न केही बखेडा भइरहेको हुन्छ। विश्व हिन्दु परिषद्का नेता स्वामी लक्ष्मानन्द सरस्रुवतीको शंकास्पद माओवादी क्रिस्चियनहरूले हत्यागरे लगत्तै त्यसको बदाला भन्दै अगस्ट अन्तिम साता भुवनेश्वर, उडिसाकी २३ वर्षे क्रिस्चियन ननलाई हिन्दु अतिवादीले बलात्कार गरेका थिए। तीनै घटनाका सेरोफेरोमा हिन्दु अतिवादीहरूले थुप्रै क्रिस्चियनलाई दुख दिएको र घरमा हिन्दु झन्डा फहराउन बाध्य पारेका रिपोर्टहरू मिडियामा छाइरहेका थिए। अल्पमतका धार्मिक सुमदायलाई हिन्दुहरूले दिएको दुखले भारतीय अन्तरार्ष्ट्रिय छविमा असर परेको चिन्ता थुप्रै रिपोर्टहरूमा व्यक्त गरिएका थिए।
कन्याकुमारी, छिमेकी राज्य केरला र गोवामा बहुसंख्या क्रिस्चियनहरूको छ जसलाई भारतभरी हिन्दुवादी राजनीति र सक्रियता जनाउनेले सहज लिएका छैनन्। कन्याकुमारीस्थित त्यही नामको प्रख्यात हिन्दु मन्दिर नजिकैको एउटा बंगाली आश्रमका कर्मचारीले मेरो एउटा प्रश्नमा भनेका थिए– ‘रुपैसा दिएर धर्म बदल्ने काम भइरहेको छ। यो क्षेत्रका सधैका हिन्दु गरिब माझीहरूलाई डुंगा किनिदिने भन्दै क्रिस्चियन बनाइएको छ। के त्यो राम्रो हो?’
दिल्लीमा धर्मनिरपेक्ष केही राजनीतिक पार्टीहरूले प्रतिबन्ध लगाउनुपर्छ भनी उल्लेख गरिरहेको अतिवादी हिन्दु संस्था बजरंग दलले क्रिस्चियन बस्रुतीहरूमा छिरेर अत्याचार मच्चाउन थालेपछि कतिपय स्थानका मानिस आन्तरिक शरणार्थी भएका छन् भने छरछिमेकका अल्पसंख्यक धर्मावलम्बीहरूमा एकखाले भय छाएको छ।
केही दिनअघि केरलाको त्रिवेन्द्रमबाट रेलको जनरल डिब्बामा बसेर कन्याकुमारी जाँदै गर्दा सिटमा मैले एकजना अधवैसे शंखेकीरा व्यापारी भेट्टाएको थिएँ, जो घर फर्किदै थिएँ। हामीले आ–आफ्नो नाम पहिल्यै भनिसकेका थियौं तर बेलुका बस्रुने होटलबारेको एउटा प्रसंगमा तीनले फेरि मेरो नाम सोधे र मैले बताएपछि भने– ‘त्यसो भए तपाई हिन्दु। रेलवे प्ल्याटफर्मबाट बाहिर निस्रुकेपछि ब्रिटिस बेकरी नजिकै एउटा बंगाली आश्रम छ, त्यहीँ गएर बस्दा हुन्छ, राम्रो छ। होटलमै किन बस्नु खर्च गरेर?’
उनले ‘त्यसो भए तपाई हिन्दु?’ भन्दा मलाई यति अप्ठेरो, अनौठो र असहज लागेको थियो जो कठिन विषयको परीक्षा दिने विद्यार्थीलाई हुन्छ। शंकै छैन, हिन्दु मेरो जीवन पद्धति हो। म हिन्दु परिवेशमा जन्मे, हुर्कें र छु तर त्यति हुँदा हुँदै पनि केही फर्महरू भर्दा अचेतन रूपमै उल्लेख गर्नुबाहेक मैले कहिल्यै आफूलाई हिन्दु भनेर चिनाएको छैन। छ्याः, मलाई लाग्यो, धर्म पनि आफूलाई परिचय गराउने माध्यम हुनसक्छ र?
रामदास नामका ती क्रिस्चियन व्यापारी जति सहृदयी र सहयोगी थिए तिनको नाम र धर्ममा त्यति नै विरोधाभास थियो। या त्यो धार्मिक सहिस्ष्णुताको एउटा नमुना पनि हुनसक्थ्यो।
‘नाम कसरी रामदास?’ मैले सोधें।
‘हजुरबाका पालामा हामी क्रिस्चियन भएका थियौं,’ रामले भने– ‘तर नाम बदलेनौं, परम्पराअनुसारै राख्दै आयौं।’
तिनलाई भेटेको अघिल्लो दिन मैले ‘सन्डे टाइम्स अफ इन्डिया’ मा एउटा रिपोर्ट पढेको थिएँ, जो कन्याकुमारीको सनसेट प्वाइन्टमा उठाइएको विवादास्पद हनुमान मूर्तिबारे थियो। त्यो साता समुद्र किनारैमा सूर्यास्त हेर्ने ठाउँको एउटा निजी पार्कमा हिन्दुहरूले एउटा भव्य हनुमान मूर्ति ठड्याएका थिए। सम्बन्धित सरकारी अधिकारीलाई पूरै सत्य नबताई मूर्ति राख्ने झुक्याएर स्वीकृति लिइएको भन्दै सरकारले भत्काउने प्रयास गर्दा हिन्दु कार्यकर्ताले वरिपरि हाते साङ्लो बनाएर त्यो जोगाएका थिए। त्यो घटनाले सामान्यतः शान्त कन्याकुमारीमा अप्ठेरो अवस्था जन्मेको उक्त रिपोर्टले संकेत गरेको थियो।
‘तपाईहरूकहाँ पनि धार्मिक किचलो छ है?’ मैले रामदासलाई सोधें।
‘हैन, हैन, हैन,’ उसले मैले थाहै नपाउनुपर्ने पूरै गलत कुरा थाहा पाएको झैं भन्यो– ‘हाम्रोमा त्यस्तो केही छैन। मन्दिर र चर्च आमनेसामने छन्, यहाँ लामो समयदेखि। मान्छे मिलेर बसेका छन्।’
‘तर त्यो हनुमान मूर्तिको विवाद?’
उसले कम्पार्टमेन्टमा वरिपरि हेर्यो, नजिकै कोही थिएनन्। ऊ मतिर ढल्कियो र साउती गर्ने लवजमा भन्यो– ‘केही मान्छेले धर्ममा राजनीति घुसाएका छन्। त्यसकै परिणाम हो त्यो।’
जब धर्ममा राजनीति घुस्छ, त्यसले प्रस्टतः समस्या सिर्जना गर्छ। ती दुईलाई एउटै वाक्यमा उल्लेख गर्दा थुप्रै मानिसले घृणा या डर मानको मैले महसुस गरें। गोवाबाट बम्बे जाँदाको ट्रेनमा एक अधवैसे भेटिए, जो श्रीमती एउटा कम्पार्टमेन्टमा र आफू अर्कोमा हुँदाको समस्यामा थिए। ती दुईलाई सँगै बस्ने वातावरण मिलाउन मैले आफ्नो सिटको प्रस्ताव गरेपछि ती मसँग कति अनुग्रहित भए भने मानौं मैले तिनलाई डुब्दै गरेको अवस्थामा इनारबाट निकालेको थिएँ। ‘बिहानको ट्रेनमा टिकट थियो तर छुट्यो,’ तिनले भने– ‘यसमा आएको, उनी पल्लोमा, म यहाँ। राति समस्यै हुने थियो। हामी न्युर्योमा बस्छौं, दुवै नर्स हौं र उसकी आमा बितेकाले आएका। खासमा हामी गोवाका। अमेरिकाको ग्रिनकार्ड छ।’ फर्नान्डिज थरका तिनले आफू क्रिस्चियन भएको बताए।
लगत्तै उनले पर्स निकालेर ग्रिनकार्ड र अमेरिकी हस्पिटलको उनको परिचय देखाए। मैले बुझें तिनी आफूलाई सिट दिने विदेशीलाई सकेसम्म आश्वस्त पार्न चाहन्थे– गलत मान्छेलाई सहयोग भएको छैन। ‘गोवालीहरू असाध्यै राम्रा हुन्छन्,’ उनले केरलाको पर्यटन नारा ‘भगवानको आफ्नै देश’ भन्ने नारा उल्लेख गर्दै भने– ‘यो चाहिँ खासमा भगवानको आफ्नै देश हो।’
‘तर केही मान्छेमा डर देखें मैले,’ मैले भने र साधुको हत्या तथा ननको बलात्कारको प्रसंग कोट्याए।
‘१९६१ सम्म हामी अर्कै देश थियौं,’ उनले पोर्चुगलको नाम नलिइकनै भने– ‘त्यो वर्ष हामी इन्डियाको भयौं। मैले अझै निर्णय गर्न सकेको छैन हामीले त्यो दिन स्वतन्त्रता पायौं या हामीमाथि अर्को साम्राज्य लादियो। तैपनि गोवामा ठीकै थियो तर धर्ममा राजनीति हुन थालेपछि जनताले सुख पाउँदैनन्।’
कुरो गम्भीर थियो, जसले त्यो क्षण मलाई गोवामा मसँगै कफी खाने सेखलाई सम्झाएको थियो। मैले उसलाई ‘त्यसो भए तिमी मुस्लिम?’ भनी सोधेको थिएँ।
‘तिमीलाई के जस्तो लाग्छ?’ उसले हाँस्दै प्रश्न गरेको थियो, जसले मलाई प्रतिरक्षात्मक अवस्थामा धकेलेको थियो।
‘मैले मेरो फेसबुक प्रोफाइलमा ‘धार्मिक दृष्टिकोण’ भर्नुपर्ने ठाउँमा यस्तो भरेको छु,’ मैले भने– ‘विश्वमा धेरै मान्छेले दाबी गरेझैं छन् भने सबै भगवान मेरा लागि बराबर। अस्ति म मधुरायको मिनाक्षी मन्दिरमा धोती लगाएर छिरें, आज बिहान ऊ त्यो पर्तिरको चर्चमा प्रार्थना भइरहँदा छिरेर आधा घन्टा बसें। तिमीलाई मैले एउटा मानवका रूपमा लिएको छु तर बितेका केही दिनमा भारत घुमेपछि फ्याट्टै त्यो सोध्न मन लाग्यो।’
‘म मुस्लिम हुँ तर मलाई त्यसको इद भन्दा अघिल्लो रात, चाँद रात, मा मात्रै थाहा हुन्छ,’ सेखले भन्यो– ‘इद मुबारक भन्दै हामी सपिङ जान्छौं। मान्छे धर्मलाई लिएर झगडा गर्छन् तर मलाई त्यसका केही चासो छैन। मेरा थुप्रै साथी हिन्दु छन् तर हामी त्यसको केही कुरा गर्दैनौं।’
त्यतिन्जेलसम्ममा मैले मगाएको दोस्रो लात्तें सकिनै लागेको थियो। ऊ चेन्नईमा एउटा अमेरिकी कम्पनीका लागि बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) मा काम गर्छ र इद बिदालाई अलि लम्ब्याएर ऊ गोवा पुगेको थियो।
‘तपाईलाई थाहै होला, कल सेन्टरमा अमेरिकीहरूसँग उनीहरूकै लवजमा कुरा गर्नुपर्छ,’ उसले हल्का व्यंग्यात्मक लवजमा भन्यो– ‘उनीहरूको बिदा योजना हाम्रो कम्पनीले प्रसोधन गर्छ तर टिकटबारे मात्रै जानेर हुँदैन जिससबारे पनि डक्टरेट गरेसरह थाहा पाउनुपर्छ।’‘कल सेन्टरमा मेरो नामै स्ट्यान हो, जो क्रिस्चियन हो,’ उसले भन्यो। (सेन्टरमा नाम बदलिइने संस्कृतीबारे मैले त्यही दिउँसो मडगाउ रेल्वे प्लेटफर्ममा किनेको ‘वान नाइट एट द कल सेन्टर’ पढेर बढी थाहा पाएको थिएँ।) म हाँस्दै गर्दा ‘स्ट्यान’ले कुरा सिध्यायो– ‘संसारै एउटै जस्तो भा’ बेला धर्ममा अल्भि्कनु कुनै तुकको कुरा हो? म आफूलाई नयाँ पुस्रुताको इन्डियन ठान्छु, र आशा गर्छु सबैले प्रगतिलाई आफ्नो धर्म ठानून्।’
त्यो गम्भीर माहोलमा हल्का कुरा ल्याउनु उचित थिएन तर मनै त हो कता कता आइहाल्यो यो सेखको सट्टा पल्पसा जस्रुतै केटी भएकी भए हाम्रा कुरा कस्ता हुन्थे होलान्?
...........................यो लेख दिनेश वाग्लेको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ...............................