गरिब अमेरिकामा

'गरिब र घरबारविहीन हुनु संसारको जुनसुकै कुनामा दुःखद् हुन्छ । अझ, अमेरिकामा यस्तो हुनु दोब्बर दुःखद् हुन्छ,' टिम बार्करको यो भनाइले सुपि्रम अमेरिकाको एउटा भिन्नैखाले वास्तविक चित्र प्रस्तुत गर्छ । तेस्रोविश्वका 'गरिबहरू' गरिखान जाने स्वप्नदेशमा अहिले गरिब र घरवारविहीनहरू दिन दुई गुना रात चौगुना बढिरहेका छन् ।

टिम बार्करले घरको सट्टा ट्रकमा बस्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । उनी प्लम्बर हुन् । चार महिनाअघिसम्म क्यालिफोर्निया राज्यको सान फर्नान्डो भ्यालीमा एक बेडरुमवाला 'भव्य' अर्पाटमेन्ट थियो उनको, पौडी-पोखरी र ज्याकुजी भएको ।
अमेरिकीहरू आफ्नो जन्मदिवस विशेष तामझामका साथ मनाउँछन् । अक्टोबरमा बार्करको जन्मदिवस पर्छ । उनले पनि सन् २००९, अक्टोबर १४ का दिन आफ्नो ४७औँ जन्म दिवस रमाइलोसँग मनाउने विचार गरेका थिए
। सुन्दर बर्थडे केक, ४७ थान मैनबत्ती, आइसक्रिम-कोन आकारका केही रंगीन टोपीको व्यवस्था भइसकेको थियो, उनको घरमा । तर, जन्मदिवसको केक काट्न नपाउँदै उनको युनियन 'लोकल सेभेन सिक्स वन' ले जन्मदिवसको उपहारस्वरूप उनको जागिर नरहेको खबर दिएको थियो । यसदिन उनीलगायत अरू १९९ जना प्लम्बरको जागिर गएको थियो ।

अहिले बार्करको छोरो बार्करको काकाको छोराको हलिउडमा रहेको एक बेडरुमवाला अपार्टमेन्टमा बस्छ । ऊ सोफामा सुत्छ किनभने उसले आश्रय लिइरहेको अपार्टमेन्टमा एउटै मात्र पलङ छ, जसमा घरधनी काका सुत्छन् । जेहोस्, बार्करको छोराले जसोतसो गुजारा गरिरहेको छ ।

तर, बार्करको भने बेहाल छ । '२००३ फोर्ड रेन्जर' पिकअप अहिले उनको घर भएको छ । बार्कर पिकअपको छतमा सुत्छन् । आफ्ना 'स्वामित्व'का खत्र्याकखुत्रुक चिजबिज पिकअपमा राखनधरन गर्छन् । बेरोजगार प्लम्बरसँग धेरै मालसामान नहुने हुँदा एकप्रकारले उनलाई सुविस्तै भएको छ !

'म ४७ वर्षको भएँ,' बार्करको जिन्दगीप्रतिको गुनासो यसरी छताछुल्ल हुन्छ, 'यस उमेरमा गाडीलाई घर तुल्याएर बस्नु असुविधाजनक त हुँदै हो, त्यसमाथि अमेरिकाजस्तो समृद्ध देशको घरवारविहीन र गरिब नागरिक हुनुको पीडा !'

मोटो, भद्दा शरीर भएका एकल पिता बार्कर धोद्रो आवाजमा बेघर भएपछि भोगेको सास्ती सविस्तार बताउँछन्, 'जनवरी महिनामा हामी बाउछोरा ट्रक-घर) मा बसेका थियौँ । यहीवेला घनघोर वषर्ा भयो । ट्रक -घर) को छानो चुहिएको थियो । बाउछोरा जाडोले कठ्यांगि्रएका थियौँ । ५/६ रात हामीले असाध्यै कष्टसाथ काट्यौँ । बाहिर मुसलधारे वषर्ा भइरहेको छ, दाँत कटकटाउने जाडो छ, त्यसमाथि बिरालाहरू झम्टिन आएका छन् ! हामी बाउछोरा रुघा र ज्वरोले एक हप्तासम्म थलियौँ ।'





०००





घरभाडा तिर्न नसक्ने अमेरिकीका लागि अचेल कार, ट्रक, पिकअप, बसजस्ता सवारीसाधन घर भएका छन् । सडकमा बस्नुको बेइज्जतीबाट बचाउने एक मात्र प्रतिष्ठाको माध्यम भएका छन्, यी सवारीसाधन । उसो त, आरभी -भान्छा, शयनकक्ष, बाथरुम आदि भएको बस) जस्ता चलायमान घर लिएर कहिलेकाहीँ यात्रामा निक्लन्छन्, केही अमेरिकी । अमेरिकामा आरभी, वागन ट्रेनजस्ता 'चलायमान घर'का इतिहास निकै पुरानो पनि छ । वषार्ंैसम्म चलायमान घरमा बस्ने अमेरिकी पनि भेट्न सकिन्छ । तर, घरभाडा तिर्न नसकेर गाडीमा गृहस्थी चलाउन बाध्य टिम बार्करहरूको दुःख भने अर्कै छ ।





०००





घरबारविहीनहरूलाई सहयोग गर्ने एक संस्थाका प्रमुख जोन एडमन्ड भन्छन्, 'गत डिसेम्बर महिनाको एक रात आफ्ना कारमा सुतिरहेका ६ जनालाई मैले भेटेको थिएँ । तीमध्ये एअरफोर्समा काम गरेकी एक वृद्धा विधवा पनि थिइन् । उनीसँग कुरा गरेपछि मेरा आँखा रसाएका थिए ।' एडमन्डको कुराको सार यही हो कि अमेरिकामा घरबारविहीनहरू बढ्दै छन्, बेस्कन बढ्दै छन् ।

पाथ भन्ने घरबारविहीनहरूलाई सहायता पुर्‍याउने संस्थाका प्रमुख जोएल जोन रोबर्ट्सका अनुसार घरबारविहीन अमेरिकीका लागि कारहरू अचेल नयाँ आश्रयस्थल भएका छन् । सन् २००९मा लस एन्जलस काउन्टीमा मात्र ५० हजार घरबारविहीन थिए । यीमध्ये दश प्रतिशतजति गाडीमा बस्छन् । अमेरिकाका धेरै ठाउँमा यसरी गाडीमा बस्नु गैरकानुनी मानिन्छ ।

पाथले अर्की एक घरबारविहीनलाई भेटेको थियो जो छत्तीस वर्षसम्म स्वरोेजगारका भरमा गर्वसाथ बाँचेकी थिइन् । तर, आर्थिक मन्दीका कारण उनको जिन्दगी चौपट भयो । अहिले उनी बिएमडब्लु कारमा बस्छिन् । कारभित्र एउटा सिरक र केही पुस्तक छन् । ती महिला कार-घरमा सिरक ओढेर किताब पढिरहेकी भेटिन्छिन् ।





०००





कामबाट निकालिएपछि टिम बार्कर आफू र आफ्नो छोराको शिर लुकाउने छानोको खोजीमा लस एन्जलसका कुना-कुना भौँतारिए । घरबारविहीनलाई सहायता गर्ने धेरै संस्थामा हार-गुहार गर्न पुगे । 'एक ठाउँमा आश्रय पनि पाइएको थियो,' उनी भन्छन्,' 'तर ठाउँ यति खराब थियो कि दिउँसै भूतले तर्साउलाजस्तो । मेरो छोरा र्‍यान्डीले 'ड्याड, जसरी हुन्छ मलाई यो मसानघाटजस्तो ठाउँबाट टाढा लैजानुहोस्' भनेपछि मैले ट्रकलाई घर बनाउने निर्णय गरेँ ।' टिम बार्करको अहिलेको पिकअप घरको भित्तामा ठुल्ठूला अक्षरमा लेखिएको छ- 'जिससक्राइस्ट पनि घरबारविहीन थिए ।'





०००





घरबारविहीन हुनु भनेको ब्याड लक -खराब भाग्य)को शृंखलाबद्ध आक्रमणमा पर्नु हो भन्छन्, भुक्तभोगी अमेरिकी । यता, भएको घरबाट निक्लनुपरेको छ, उता परिवारमा सम्बन्ध डाँमाडोल भएको छ, र यही वेला ठूलो रोगले समातेको छ !

अमेरिकामा घरबारविहीनको संख्या बढ्नुमा अमेरिकी परिवारका आम्दानीमा हुन थालेको भयानक उतार-चढाव हो । अचेल अमेरिकामा महलका मानिस कतिखेर सडकमा आइपुग्छन्- अर्थशास्त्री, समाजशास्त्री कसैले भविष्यवाणी गर्न सक्दैन । यसलाई अमेरिकी अर्थनीति पूर्णतः विफल भएको ज्वलन्त उदाहरण भन्नेहरूको पनि कमी छैन । अमेरिकी अर्थनीति सफल छ या विफल- यो बहसको विषय भए पनि व्यक्तिको आर्थिक असुरक्षा अमेरिकामा अचाक्ली बढेकोचाहिँ सत्य हो ।

गाडी-घरमा बस्ने केही भने आफूलाई सुकुम्बासी ठान्दैनन् । मध्यमवर्गीय परिवारबाट आएका र श्रमिकवर्गका मानिस भन्ने गर्छन्, 'म सुकुम्बासी होइन । म कारमा बसिरहेको मात्रै हुँ ।' आत्मसन्तुष्टिका लागि जे भनिए पनि मानिसको आफ्नो घर नहुनुजति पीडादायी कुरा अर्काे हुँदैन । यसै पनि, क्यालिफोर्नियाको संघीय कानुनले सवारीसाधनमा बस्नेलाई घरबारविहीन मान्छ ।





०००





५८ वषर्ीय पेग्गी हलिवडनजिकैको एक गल्लीमा बस्छिन् । सानो बसलाई उनले घर बनाएकी छिन् । टेलिमार्केटिङको काम गर्थिन्, उनी । सन् २००९को जनवरी महिनामा जागिर गुमाउने ७६ हजार अमेरिकीमध्ये एक थिइन्, उनी । 'एकसाथ यत्तिका मानिसले जागिर गुमाउँदा मैले एक्लो भएको महसुस गरिनँ,' फ्लफी नामको कुकुरसित सानो बसमा बस्ने उनी भन्छिन्, 'मेरी आमाले यो २० वर्ष पुरानो आरभी -बस-घर) मलाई दिएकी हुन् । आफ्नो अपार्टमेन्टको मलाई साह्रै सम्झना आउँछ । जे भए पनि घर भनेको घर हो । यो प्यारो र न्यानो हुन्छ । यसका एक-एक इँटसित मानिसका आत्मीयता गाँसिएका हुन्छन् ।' आफू बस्ने गल्लीका सडक बढार्ने र फोहोर टिप्ने काम गरिरहेकी छिन्, उनी अहिले ।

फिनिक्सकी अर्की घरबारविहीन एग्नेस कुपर अहिले कारमा बस्छिन् । एक जिम -व्यायामशाला) बाहिर उनी घर 'पार्किङ' गरिरहेकी हुन्छिन् । 'कारमा सुतेको पहिलो रात भयानक थियो,' उनी भन्छिन्, 'केही हुल्याहा केटाले मलाई जिस्क्याए । मैले साह्रै अपमानित महसुस गरेँ ।'

लस एन्जलस मनोरञ्जन उद्योगमा प्रकाश व्यवस्थापकको काम गर्ने माइक एक वर्षअघि बेरोजगार भए । ओस्कार अवार्डको समारोहमा समेत उनले एकपटक काम गरिसकेका छन् । 'अहिले म बेरोजगार छु,' उनी भन्छन्, 'कारमा बसिरहेको छु । कारलाई घर बनाउनुमा कुनै आनन्द छैन । कार कहाँ पार्क गर्ने भन्ने समस्या सधँै हुन्छ । सुनसान ठाउँ खोज्दा-खोज्दा हत्तु भएको छु म । पुलिससँग कथंकदाचित भनाभन भयो भने पुलिसले तपाईंको कार अर्थात् घर खोस्न सक्छ । हुल्याहाहरूले तपाईंको घर तोडफोड गर्न सक्छन् ।' संसारभरिका घरबारविहीनहरूको ठेक्का लिने अमेरिकाले आँखैअगाडिका आफ्ना घरबारविहीन नागरिकलाई भने नदेखेजस्तो गरिरहेको छ ।