के सुख, के दु:ख !-----------------श्रीओम श्रेष्ठ 'रोदन'

जसले जे सकै भनुन्, मान्छे समग्रमा मान्छे नै हो । जो जस्तो भए पनि, जसरी जीवन बाँचेको भए पनि, दुःख-सुखमा एउटै बन्छन् । अनुभूति एउटै हुन्छ । दुख्ने कुराले दुखेरै छाड्छ , हँसाउने कुराले हँसाएरै छोड्छ । दुःखको आँसु र सुखको हाँसोमा अन्तर हुँदैन । हुन सक्दैन भन्छु । जसरी प्रकृतिका सिर्जनाहरु एकै भएर पनि त्यसप्रतिको दृष्टिकोण फरक-फरक भए जस्तै मात्र हो । मलाई त्यस्तै अनुभूति गरायो त्यस दिन । जुन दिन देशभरि तिहारको झिलिमिली चलिरहेको थियो । प्रत्येक घर आ-आफ्नो गच्छे अनुसार दिपमालिकाले सिंगारिएका थिए । बाटोहरु बत्तिले सिंगारिएका थिए, मान्छेहरु सबै उज्याला देखिन्थे, प्रत्येकका निधारमा भाइटीकाको टीका, कसैका निधारमा रातो टीका, कसैकोमा सप्तरङ्गी । आ-आफ्नो घरमा खाएर, खेलेर पर्व मनाएर व्यस्त थिए ।
पाटन अस्पतालको परिसर व्यस्त थियो । सबै आ-आफ्नो विरामी प्रति चिन्तित थिए । आपतकालीन विरामीहरु संगै डाक्टरहरु व्यस्त बनिरहेका थिए ।
एउटी युवती नजिकैको वेडमा लम्पसार परिरहेकी थिईन्, अर्ध चेत अवस्थामा, वरिपरि आफन्तहरुले
घेरिएर स्नेहको आशा खोजिरहेकी । वरपरका सबैलाई बाहिर जान भनेपछि, कपडाको डल्लो उनको मुखमा कोचियो दुइजना चिकित्सकहरुबाट । म नजिकै भएकोले आर्श्चर्य र कौतूहलताका साथ हेरिरहेको थिएँ । एकैछिनपछि कपडा निकाल्नासाथ उनी लामो लामो सास फेर्दै होसमा आएको जस्तो देखिईन् । त्यसपछि प्रश्न गर्न थालियो, -'के खाएको भन -' तर उनले विस्तारै आँखा मात्र खोलिन्, केही बोलिनन् । धेरै पटक सोधेपछि आफ्नो पेट दुखेको मात्र भनिन् । त्यसपछि अन्य परिक्षण गरियो र डाक्टरले सोध्न थाल्यो-'तिम्रो महिनावारी भएको कति दिन भयो ?' - 'दुईदिन ।' एकछिन गनेर डाक्टरले फेरि सोध्यो- ''अनि किन विष खाएको भनेको बेकारमा ? पर्वको दिन यस्तो दुःख दिने ? बदमास ! तिमीलाई केही पनि भएको छैन ।' त्यसपछि उसका परिवालाई डाकेर भनियो - 'उसले विष-सिष केही पनि खाएकी छैन । उनी पल्टिरहेकी थिईन्, भित्तातिर फर्केर ।
रातको साह्रे नौ बजिसकेको थियो । म त्यही युवती प्रति लागेको आरोप र डाक्टरको जवाफ संगै उनलाई उनको बाध्यतालाई खोजिरहेको थिएँ । एउटी नर्सको च्याठिँएको आवाज सुनँे- 'यस्ता पनि छोरा हुन्छन् ? पढे लेखेको मान्छे यस्तै हुन्छ ? बेकारमा परिवारलाई दुःख दिएर ! मूख हुनको पनि एउटा सीमा हुन्छ नि !' उनी एकजना नवजवान युवकलाई गाली गर्दे थिईन् । उसले मेटासिड खाएको रहेछ । तुरुन्तै परिवारले थाहा पाएकोले साबुनपानी खुवाएर बान्ता गराएपछि मात्र अस्पताल पुर्‍याएको रहेछ । यहाँ पनि डाक्टरहरुले भाग्यले मात्र बचाउन सकेका रे । ऊ कसैलाई हेन नसकेर भुँइतिर अनुहारलाई लुकाउँदै थियो । उसको नाकमा अक्सिजन र छातीमा मुटुको चाल नाप्ने यन्त्र जोडेर पर्दामा त्यसलाई नाप्ने काम भइरहेको थियो । उसलाई त्यस्तो के वाध्यता पर्‍यो होला ? अहिलेसम्म कसैले सोध्ने आँट गरिसकेको थिएन, अहिले त्यसको लागि अनुकूल समय भइसकेको थिएन । म बेन्चमाथि बसेर उसलाई लुकी-लुकी हेरिरहेकेा छु। उसको आँखामा पढ्न खोजिरहेको छु । आखिर किन मान्छे आत्महत्या गर्न खोज्छ ? मानसिक पराजयले नै त्यति जघन्य अपराधमा कसरी आँट गर्न सक्छ ? आफ्नो वरिपरि अँध्यारो नै अँध्यारो देखेपछि उज्यालोको खोजी गर्दो हो, सक्दो प्रयत्न गर्दो हो तर केही नलागेर हार मानेपछि कमजोर मानिसहरु आत्महत्या गर्दा हुन् ! समस्या जस्तो सुकै भए पनि समाधान हुन्छ भन्ने कुरामा विश्वास नगर्नेहरु नै त होलान् नि ! आवेगको आँटले मरे त मर्‍यो, यदि यिनीहरु जस्तै बाँच्नु पर्‍यो भने के सोच्दा होलान् ? मृत्युदेखि डर लाग्छ होला कि रिस ? बाँच्नुलाई यिनीहरु जित ठान्छन् होला कि हार ? म उनीहरुको आँखा हेर्दै प्रश्न आँफैमाथि खन्याउँछु ।
तिहारको औँसी एकातिर बाक्लिदै, चिसिंदै गइरहेको थियो भने अर्कोतिर बत्तिका उज्यालाहरु अँध्यारो चिर्ने काम गर्दै थियो । कस्तो मेल हो यो ? अँध्यारो उज्यालोसंग बल गर्ने, उज्यालो पनि अँध्यारोलाई देखिनसहने ! युवकको अनुहार पुलुक्क हेर्छु उसको लामो आयुको उज्यालो यात्रामा अँध्यारोसंग दूर्घटना भए जस्तै ।
यस्तै हो, एउटै कुरा एउटै मानिसको लागि कहिले सुखद होला, कहिले दुखद् । समय समयको कुरा हो । मानिस एकै भए पनि उसको मनस्थिति परिवर्तनशील भइरहन्छ । त्यसैले होला, चिनेँ भन्नेहरु पछुताउन परिरहेको, बुझेँ भन्नेहरु प्रश्न बनिरहेका, मिलेँ भन्नेहरु छुटिरहेका ! सजिलो संग चिनजान भए पनि मान्छे सम्पूर्ण रुपमा चिन्न कहिले पनि सम्भव हुँदैन, हुँदै हुँदैन भन्दा पनि हुन्छ होला । एकले अर्कोलाई भित्रदेखि चिन्नु त टाढाको कुरा भयो । आफैंले आफैंलाई त चिन्न सकिंदो रहेन छ । आफूले आफूलाई चिन्न सक्ने भए किन आफूले आफ्नै हत्या गर्छ, गर्न खोज्छ ? यो प्रश्न उत्तरविहिन छ ।
हिंड्न सबै सुखैको खोजीमा हिंड्छन् ? सानो, सानै किसिमले, ठूलो, ठूलै किसिमले, तर सबै कहाँ सुखी हुन सक्छन् र ! कोही सुखको निम्ति धन कमाउँछन् , कोही धन गुमाउँछन्, कोही सिर्जना गर्छन, कोही विनाश गर्छन्, कोही आ-आफ्नो आस्थाको केन्द्रमा भजन गाउँछन्, कोही युद्ध कला सिक्छन् । आ-आफ्नै परिभाषा छ सुखको दुखको । मात्र हाँसो र आँसुको परिभाषाले पर्याप्त हुँदेन । भावनाले मात्र होइन भौतिक समानताले पनि परिभाषालाई पृथक बनाएको हुन्छ । केही पैसाको कारण घरबार नहुने, राम्रो पेट पूजा गर्न नपाउने, औपधिमूलो गर्न नसक्ने, सामाजिक वाध्यताको लाज छोप्न नसक्नेहरुका लागि पैसा भनेको सुख र सुख भनेको पैसा भन्ने पर्याय ठान्छन् होला । तर रातदिन पैसाको डसनामा निदाउनेहरुको अनुहारमा खुशीको समुद्र कहाँ पाइन्छ र ? तिनीहरुको दुःख अर्कै हुन्छ । कतिपय समाचार बनेका छन् पैसा नै दुःख भएको समेत ।
२०६२ मंसिरकै समाचार हो, भारत लखनउका प्रहरी महानिरीक्षक डि के पन्डा अहिले कृष्णकी प्यारी राधा बनेका छन् । उनी कृष्ण भक्तिमा उनले आफ्नो जीवनको वास्तविकता पाउन सकेको बताएका छन् । कृष्ण भक्तिलाई सबै थोक ठानेर भक्तिरसमा डुबेका प्रहरी महानिरीक्षक पन्डा मरिसकेको बताउँछन् ।
उनले राधाझैं सिउँदोमा सिन्दूर र नाकमा नत्थी लगाएर कृष्णलाइ खुशी पार्न नाचिरहन्छन् ।
यो कस्तो लीला हो कृष्णको, एकजना जिम्मेवार र शक्तिशाली व्यक्तिलाई पूणरुपले पलायन गराउन सक्ने ? उनले सवै कुरा बिर्सिसकेका र जतासुकै कृष्णै कृष्ण मात्र देख्ने गरेका पनि बताएका छन् । गजबै छ, यो कृष्णको लीला पनि, जस्तो सुकै क्रूर भए पनि अन्त्यमा आफ्नै बसमा पार्न सक्ने ! महाकवि लक्ष्मी प्रसाद देवकोटाले पनि अन्तिम अवस्थामा जीवनभरि नभनेको र नलेखेको कुरो लेखेकै थिए, आखिर श्री कृष्ण रहेछन् भनेर ।
उनले कृष्णकी राधा जस्तै साडी चोलो लागएर मात्र होइन, पूरै भेषभुषा राधाको बनाएर कृष्णको आराधनामा छमछम नाचेको नाच्यै गरेका छन् । यो कस्तो सुख ? उनले प्रष्टसंग भनेका छन्- 'यतिन्जेल म भ्रममा बाँचेको रहेछु, वास्तविक जीवन मैले बल्ल पाउन सकेँ । अब मलाई मेरो कृष्ण र मबाहेक अरु कोही पनि र केही पनि आवश्यकता छैन ।'
यो व्याख्या गरेर सकिने विषय हुँदै होइन । परिभाषाको दृष्टिले यो विषय कमजोर छ, गरिब नै छ । भनौँ न, अदालतमा सँधै मुद्धा हुन्छ र वकालत हुन्छ, के वकालतकै आधारमा दूधको दूध पानीको पानी छुट्टिएका छन् ? यस्तो हुँदैन, नहुन सक्छ भनेरै त हो नि तहतहको अदालतको व्यवस्था भएको ! २१ औ शताब्दिको वैज्ञानिक युगमा गीता छोएर कसले यो सत्य बोल्छन् र ? व्यङ्ग्य भनौ कि विडम्बना ? महानिरिक्षक राधा बने जस्तै बहुलठ्ठी लाग्ने ! अरुका निम्ति अनौठो र बहुलठ्ठी भए पनि उनको निम्ति ठूलो प्राप्ति भए जस्तै भएको छ । अदालतमा हुने दुईपक्ष जहिले पनि आ-आफ्नो पक्षको लागि महाभारतको युद्ध जस्तै तर्क गरिरहेका हुन्छन् । तर्क युद्धले जित्ने, हार्न सक्छ र हार्ने, जित्न सक्छ । सत्य, झूठो बन्न सक्छ र गलत, सही । त्यसैले भनेको, गीता छोएर सत्य बोल्नेहरु सत्य छैनन् । छुवाउनेहरु पनि कहाँ सत्य हुन्छन् ? फेरि गीता भनेको एउटा ग्रन्थ हो धर्मको । के अदालत एउटा धर्मको लागि मात्र हो त ? देशमा एउटै धर्म मान्नेहरु मात्र बस्छन् ? यति नाथे कुरोमा पनि ध्यान पुगेको छैन कसैको । कसैको त किन नहोला र ? पुर्‍याउनु पर्नेहरु किन यस्तो कुरामा समय बर्बाद गर्न चाहन्छन् र ? सबै परम्परामा निर्भर छ । विरलो बाँधेपछि सराद्ध सफल भए जस्तै । बाँचुन्जेल आफ्नो आमा बाबुलाई श्रद्धा नगर्नेहरुले सराद्ध गरेर सबैलाई दक्षिणा दिई-दिई भोज खुवाए जस्तै । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै । हुन त कुम्लो बोकी ठिमीतिर किन भनिएको होला ? ठिमीतिर कुनै काम हुँदैन र ? ठिमीतिर जानेहरु काम नभएका वा भएकाहरुले पनि वेवास्ता गर्ने गरे जिम्मेवार व्यक्तिहरु मात्र जाने हुन् त ? उखान पनि कस्तो छ हाम्रो ।
हुन त हामी यस्तै साँस्कृतिक परम्परामा हुर्कियौं । बाख्राको पाठीलाई पोखरीको बीचमा फालेर जिउँदै लुछालुछ गरेर जात्रा मनाउँछौं । एकछाक अन्न राम्रोसंग खान नपाउने हामीहरु मुरीका मुरी चामल पकाएर गुरुआमालाई चढाउँछौं । संस्कृतिका नाममा त्रिशुलले जिब्रो छेडेर धर्म गर्र्छों । लाखौं लाख जनावरको बलि दिएर विश्व किर्तिमान राख्ने गढी माइ मेला गर्ने हामी, जिउँदै र्सप, भँगेरा जस्ता जीवलाई आगोमा होम गरेर शान्ति खोज्ने हामी आफ्नो देशमा आगो लाग्दा विदेशमा पानी खोज्न जाने हामीहरु, अरु के पो हुन सक्छौं र ? यो हाम्रो नियति हो । हाम्रो परम्परा नै हाम्रो जीवन बनिसकेको छ । कसैले के दुःख, के सुख, जे भए पनि के हुन्छ ? सबैको आ-आफ्नो परम्पराको सुख छ र दुःख पनि दुवै आफैंले अनुभूति गर्ने कुरा हुन् । बोकालाई बोकाको सिङ भएकोमा, राँगोलाई राँगोको सिङ भएकोमा गर्व होला कि भारी ? त्यसैले जे छ ठीक छ । त्यसैले सबैको मन हुन्छ र एउटै हुन्छ भन्ने सबैले बुझन सके, कसैले कसैलाई मन नदुखाउन सके पुग्छ । अरु के भनु ?