चिसोपानी एउटा सुन्दर कैदी

हिमालयको अनुपम दृष्य आँखाबाट अटुटरूपले लहरिरहन्छ तवसम्म जब कोही पुग्छ चिसोपानी । काठमाडौँवासी कमैलाई थाहा छ चिसोपानीको सौन्दर्य बारेमा । महाकवि देवकोटाले 'सुन्दरीजल' माथि काव्य रचना गर्नु भयो । अपसोच उहाँ चुक्नु भयो सुन्दरीजलदेखि चौध किलोमिटर उत्तर तर्फको पर्वतीय थुम्को चिसोपानी अज्ञात रह्यो। जहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरू आँखा नथाकुन्जेल सम्म हेरिरहन पाइन्छ । एक पछि अर्को गर्दै पत्र-पत्र ढिकैढिकाका साङ्लाहरू बाँधिएको जस्तो देखिन्छ । जहाँ सूर्यको प्रथम किरणले आँखाभरि सुन्तला भर्छ र लम्किरहन्छ मध्यान्नको रफ्तारमा । धेरैलाई ज्ञान छ नगरकोटको प्रसङ्ग, भेँडेटारको स्मृति, गोसाइँकुण्डको बाटो, ककनीको यात्रा तर संयोगले चिसोपानी टेक्नेहरूलाई त्यहाँको सौन्दर्यसास्त्रबारे सोच्नेहो भने आश्चर्य लाग्न सक्छ । समुद्र सतह देखि बहत्तर सय फिट उँचाइमा रहेको चिसोपानी हिम पर्वतहरूले घेरिराखेको सुन्दर कैदी झैँ टुपुक्क बसिरहेको देखिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँगैको उत्तरी मोहोडामा अवस्थित यस ठाउँमा मान्छेहरूको आवतजावतको कहिले देखि भयो यकिन बताउन गाह्रो छ । तर बसोबासको हिसाबले सो क्षेत्रमा पहिलो पल्ट भकारी गोठ हालेर बसेको कथा स्थानीय वासिन्दा बलदेव केसीसँग छ । उहाँले पछि गएर सो क्षेत्रमा थप बस्तीको विस्तार समेत गर्नु भयो। उहाँ भन्नु हुन्छ - "हेर्नुस् म चालिस साल तिर यहाँ आउँदा थोरै
सङ्ख्यामा पर्यटकहरू यो बाटोभएर आवत जावत गर्थे , पदयात्रामा हिँडेका उनीहरूलाई यहाँ बास बस्नेको के कुरा पिउनलाई पानी समेतको ब्यवस्था थिएन । त्यसैले सोचेँ यहाँ एउटा बसोबास बसाऊँ ।" केही आफन्त र चिनजानका साथीहरूलाई अनुरोधगरेर यहाँ क्रमस बस्ती बाक्लिँदै गएको कुरा उहाँ बताउनु हुन्छ । बलदेव केसी र केही अन्य उत्साहि दौँतरीहरुको त्यो आँटले अहिले अठार घर धुरी भन्दा बढी बस्तीको स्थापना भइसकेको छ । गोसाइँकुण्ड, नगरकोट, काठमाडौँ, हेलम्बु, कुटुम्साङ आदिको बाटो हुँदै पदयात्रामा आउनेहरूकोलागि एक रात बिसाउने थलो भएको छ चिसोपानी । पर्यटकहरूलाई पहिले जस्तो असुविधा र गन्तब्यमा पुग्नको लागि हतारो छैन । उनीहरू आफ्नो गन्तब्यमा पुग्नकोलागि थप उत्साह भरिदिन्छ चिसोपानीको सौन्दर्यले । हाल यस स्थानमा बास बस्नाकालागि ५-६ वटा होटलहरू छन्, सञ्चार र यातायातको सुरक्षित प्रबन्ध छ । काठमाडौँबाट चिसोपानी सम्म आउनलाई सरकारी उदासिनताका बावजुत पनि स्थानीय बासिन्दाहरूको हातेमालो अभियानले संयुक्त श्रमदानद्वारा बाटो निर्माण गरेको छ । यसलाई नियमित बनाउन प्रयासहरू जनस्तरबाट थालिएका छन् ।
चिसोपानीका बासिन्दाहरूको आम्दानीको स्रोत भनेको पर्यटन व्यावसाय नै हो । यद्यपि सो क्षेत्र नेपाल सरकार र पर्यटन विकासमा कार्यरत संघ संस्थाहरूबाट उपेक्षित भई ओझेलमा परेको छ । 'सिजन'मा कम्तिमा पाँचसयजना तथा सामान्य बेलामा करिब पचासजनाको सङ्ख्यामा पर्यटकहरू चिसोपानीको स्पर्शलिएर जाने कुरा बलदेव केसी बताउनुहुन्छ । फेरि पनि सुनसान छ, मुक दर्शक छ सरकारी संयन्त्र जसले लोकतन्त्रको रङ् फेर्यो तर आफ्नो आत्मा फेर्न सकेन, कार्यकुशलतामा ध्यान पुर्याउन सकेन । राजधानी निकट तर विकट यो सुन्दर स्थानको सम्भाव्यतालाई सम्बन्धित निकायको ध्यान आकृष्टहुन सकेन । शिवपुरी राष्ट्रिय निकुञ्जले चिसोपानी भएर पदयात्रागर्ने पर्यटकहरू बाट प्रति व्यक्ति दुईसय पचास शुल्क लने गरेको छ । जसको वार्षिक आम्दानी पन्द्र देखि विसलाख सम्म हुनआउँछ । सो क्षेत्रको पदयात्रामा जानेहरूबाट उठाइएको कुल प्रवेश शुल्कको केवल दस प्रतिसत मात्र चिसोपानी क्षेत्रमा लगानी गर्ने हो भने त्यहाँको प्रचुर पर्यटकीय सम्भावनाले मुर्तरूप प्राप्त गर्ने थियो । पदयात्राम जानेहरूको पर्याप्त सुरक्षा, पर्यटकीय सूचनाकेन्द्र, प्राथमिक उपचार केन्द्र, विद्युत तथा नियमित यातायातको सुविधाको व्यवस्था गर्न सकियो भने यस भेगको चर्चा परिचर्चा र आकर्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ ब्यापक भएर जाने थियो भन्ने सोच स्थानीय युवा उद्यमी निरञ्जनको छ । उहाँ गुनासो गर्नु हुन्छ - सरकारले यस क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूबाट अनिवार्य प्रवेश शुल्क लिए पनि सो अनुरूपको शान्ति सुरक्षाको प्रबन्ध गर्न सकेको छैन ।
अधिकांस तामाङ जातिको बाहुल्य राहेको चिसोपानी क्षेत्रबाट देखिने हिमालहरूमा विशेषगरि गौरीशङ्कर, जुगल, मनासलु, गणेश हिमाल, लाङटाङ, अन्नपूर्ण-१, अन्नपूर्ण-२, लोत्से, नुत्से, गन्जला लगायतका रहेका छन् । सूर्योदयको मनोरम दृष्य हेर्नपाइने यस स्थान र नगरकोट बिच समानतापाइए पनि शिवपुरी निकुञ्ज अन्तर्गतको मध्यवर्ति क्षेत्रमा अवस्थित यस स्थानमा मृग, बँदेल, खरायो, बाघ, भालु, कालिज जस्ता बन्यजन्तु र चराचुरुङ्गीहरू पाइनेहुँदा चिसोपानी अद्भुत रमाइलो क्षेत्र मान्न सकिन्छ । सामान्य उपलब्धि सहित व्यापक लोकप्रियता प्राप्त गरेको नगरकोट र अथाहा उपलब्धि बोकेको तर थोरै लोकप्रियतामा उब्राइरहेको चिसोपानी गइसकेका हरूकालागि फेरि फर्कने वाचा हो । जानेहरूका लागि ठूलो सौभाग्य र अवसर हो । सोही स्थानको संरक्षण र समवर्धनमा क्रियाशील संस्थाका अध्यक्ष समेत रहनु भएका बलदेव केसीका अनुसार यस क्षेत्रमा दृष्यावलोकनकालागि 'भ्यु टावर'को निर्माण गर्न सकियो भने पर्यटकहरूले हिमालको सजिवतालाई अझ नजिकबाट नियाल्न सक्ने थिए ।
चिसोपानी केवल सौन्दर्यअवलोकनका लागि मात्र नभई पदयात्रको हिसाबले पनि केन्द्रीय थलोको रूपमा चिनिने गर्दछ। विशेष त ग्रामिण पदयात्रमा रमाउने हरूकालागि निम्न मार्गहरू रहेका छन् -
१. सुन्दरीजल-चिसोपानी-कुटुमसाङ-माउनगोठ-ठाडेपाटी-घोप्टे-गोसाइँकुण्ड-रसुवाधुन्चे-काठमाडौँ (सात दिने पदयात्रा)
२. चिसोपानी - कुटुमसाङ - हेलम्बु - मेलम्ची - काठमाडौँ ( सात दिने पदयात्रा)
३. काठमाडौँ - चिसोपानी - गोसाइँकुण्ड - सिगुम्बा - ठूलो स्याप्रो - लामा होटल - लाङ्टाङ (चौध दिने पदयात्रा)
४. काठमाडौँ - बनेपा - मेलम्ची - हेलम्बु - चिसोपानी (सात दिने पदयात्रा)
५. काठमाडौँ - सिन्धुपाल्चोक - तारङमराङ - चिसोपानी (सात दिने पदयात्रा)
६. काठमाडौँ - बुढानीलकण्ठ - शिवपुरी - चिसोपानी (तीन दिने पदयात्रा)
७. काठमाडौँ - चिसोपानी - नगरकोट (तीन दिने पदयात्रा)
८. नगरकोट - चिसोपानी - काठमाडौँ (तीन दिने पदयात्रा)
९. ककनी - पाटिस्वारा - अल्छे - चिसोपानी (दुई दिने पदयात्रा)
१०. त्रिसुली - लिखु खोला - चिसोपानी (तीन दिने पदयात्रा)
११ काठमाडौँ - साँखु - फर्सेचौर - झुले - चिसोपानी (१५ किमी साइकिलिङ)
चिसोपानी एउटा अनिवार्य गन्तब्य । तपाइँ गइसकेकाहरूलाई सोध्नुस् जानका लागि । अथवा जानुहोस् र विश्वास गर्नुहोस् । अनि वर्णन गर्नुहोस् हितैसीहरूलाई - कस्तो रहेछ त चिसोपानीको वास्तविकता । काठमाडौँको कोलाहलपूर्ण वातावरण देखि एकदिनको लागि भएपनि मानसिक शान्ति विश्रामको निम्ति आफ्नो एक दिनको अमुल्य समयलाई खर्च गर्नुहोस् चिसोपानीमा र बदलामा बहुमुल्य अनुभव सँगालेर फर्कनु होस् ...
जीवन त्यो होइन जो सुनिन्छ । जीवन त्यो हो जो भोगिन्छ । तपाइँ आफ्नो जीवन जस्तै बहन दिनुस् प्रकृतिको काखमा चिसोपानीको चीसो ची ऽऽऽ सो ऽऽऽ आनन्दमा ।