चिहानमा सपनाहरू

लोग्नेको लासलाई हल्लाउँदै विक्षिप्त अवस्थामा श्रीमती प्रश्न गर्छ "तिमीलाई मर्ने सोचाइ थियो भने किन मलाई बिहे गरेर भित्र्यायौ ? किन बिहे गरेर बच्चा समेत जन्माउन लगायौ ? किन ? किन ?? हृवाँ.....।"
उसको श्रीमान्ले आत्महत्या गरेको थिएन । इच्छामृत्यु नगर्नेहरूलाई मरेवापत् गाली गर्नु भनेको भोकालाई खान नपाएवापत् गाली गर्नुजस्तै हो । तर, तनावले चेतना हराएकी उसकी श्रीमतीले यी कुनै कुरा बुझ्ने सम्भावना नै थिएन । उसलाई श्रीमान् जीवित हुँदाको समयको वाचा, सपना र एकिकृत जीवनको बाटोको मात्र याद थियो सायद । सपना भङ्ग हुनुको पीडा थियो उससँग । सपना भङ्ग भएपछि मानिस योजनाविहीन बन्छ । आफूले टेकेको जमिन भासिँदैं जान्छ, हरियाली क्रमशः डढेलोमा परिणत हुन्छ । माइला मुर्मुको जीवनको अन्त्य भएपछिको क्षणमा मैले यस्तै सोचलाई खोलाइरहेको थिएँ । उसकी श्रीमतीका लागि गोली लागेर क्षतविक्षत अवस्थाको लाश अप्रत्याशित थियो । तर, अव्यवस्थित विद्रोहको परिणाम अघिल्लो साँझ नै गाउँमा फैलिएकोले हामी अन्य गाउँलेहरू माइलाको हत्या/मृत्युभन्दा
बढी यी त्राशद स्थित्रि्रति बढी चिन्तित थियौं ।
घटना फेरि जोडिएर सपनातिर नै पुग्छ । माइली (रंगेलीबाट हाम्रो गाउँमा बिहे गरेर ल्याएपछिको नाम)का सपना भताभुङ्ग भए पनि माइलाले दुवैको सपना बोकेर हिँडेको थियो । अझ भनौं उससँग हामीले देखेका तीन पुस्ताका सपना थिए- प्रत्यक्ष रुपमा नै । माइलाको बाजे दर्गालाल मुर्मु आदिवासी जमिन्दार थियो । हामीले थाहा पाउँदासम्म उससँग ६ बिगाहा जग्गा बाँकी थियो । तर, उसको २ सय बिगाहा जग्गा, ४ वटा हात्ती, ४ बिगाहाको कोलाघारी, दरबारजस्तो इनारसहितको घर जस्ता सामग्रीका अवशेष हामीले पनि देखेका थियौं । 'ताम्कुर मेना या -' हामी दुर्गालाई नजिक बनाउन यसरी खैनी माग्थ्यौं । उसले बिहानको स्कुल लागेको जेठमा लामो समय खैनी माडेर खुवाउँथ्यो । त्यसपछि अतीतमा हराउनु उसको दिनचर्या थियो । 'तिम्रो मुखिया पहिला मेरो बड्का मेरो नोकर थियो,' यसको उही गाउँलेले थाहा पाएको सामान्य जानकारीबाट विषय उठान हुन्थ्यो । बूढो दुर्गाले बाघलाई तीरले मुखमा हानेर लखेटेको, वनमान्छेसँग रातभरी आगो तापेको, मन्त्र गरेर बक्राहा खोला तरेको जस्ता रोचक न्दर्भ सुनाउँथ्यो । त्यससँगै आफ्नो पुर्खाको चरा बनेर दुम्का जिल्लाबाट मोरङ्ग आएको, जंगबहादुरलाई आफ्नो हजुरबाले रौतहटको जंगलमा अर्कै जनावरको रूप धारण गरेर भेटेको जस्ता उसका कथाहरू हामीलाई औधी रोचक लाग्थे । बाल्यकालबाट हामी किशोरावस्थामा पुगेपछि भने बूढाले आफ्नो सम्पत्ति घट्दै र हाम्रा मुखिया बाको सम्पत्ति बढ्दै जानुको कारण विश्लेषण गर्न थाल्यो । तैपनि बूढोको जीवनप्रति कुनै गुनासो थिएन बरु नातिका लागि केही सपनाहरू उपहार जस्तै थिए । हामीलाई अचम्म लाग्थ्यो, ४० वर्षपहिलेको नोकर मालिक र मालिक नोकर हुँदो रहेछ । पूर्णियाबाट आउने नाटकमा भूमिका फेरिएजस्तो लाग्थ्यो त्यो समयमा यो परिवर्तन ।
दुर्गा बूढोले जेठालाई सपना हस्तान्तरण गरेर प्राण त्यागेछ । म काठमाडौं भासिएको ५, ७ वर्षमा बूढो र जेठो उत्तराधिकारी ढेनाको पनि मृत्यु भैसकेको थियो, थोरै वर्षो अन्तरालमा । ढेनाले आफ्ना बाबुको सपना आफू पूरा गर्न नसकेर छोरालाई हस्तान्तरण गरेको रहेछ । गाउँमा क्रान्तिको असर छिरेपछि एक दशैंको भ्रमणमा मलाई पौडेल्नी काकीले भनिन्, "पदम बाबु, दर्गा सतारले त छोरालाई आफ्नो जग्गा फिर्ता लिएरै छाड्नु भनेको र'छ । छोराले नाति (माइला)लाई भनेछ । अनि पो त्यो हतियार बोकेर हिँडेको रहेछ त !" यो जानकारीपछि मेरो मस्तिष्कमा हामी पहाडबाट आउनु पूर्वको गाउँ फेरि फर्किएको झझल्को आउँथ्यो । क्रान्ति सधैं अग्रगमनका लागि हुन्छ, म मान्थेँ । तर, क्रान्तिको 'बाइ प्रोडक्ट' भन्ने प्रायः प्रतिगमनकारी वा पश्चगमनकै जस्तो परिणाम ल्याएर सकिन्छ भन्ने मलाई परिरहेको थियो । व्यवस्थित सोचाइ र तार्किक निष्कर्षनभए पनि आदिवासी मात्र भएको जंगलको घारी र खोलाको बीचको विशाल फाँट मस्तिष्कमा आउँथ्यो ।
माइलाले तीनपुस्ताको सपना बोकेर उठाएको बन्दुक त्यसै ढलेको थियो । एउटा- माइलासँग तीनपुस्ताको सपना मर्‍यो । सपनासँगै शोषण र षडयन्त्रको एउटा पुरानो श्रृंखलाले समाजबाट वर्षौंपछि दोस्रो पटक संस्थागत हुने मान्यता पायो । अर्को- सपनाको खोजीमा हिँडेको माइलाको मृत्यु सापले टोकेर मरेभन्दा फरक पनि भएन । एउटी माइली र काखको नानीको दुःख देखिरहेका थिए त्यसदिन गाउँलेहरू । मिश्रीनी आमै, खगेन्द्र काकी, राजपीडितकी बुहारी, तल्लाघर काकी, ठूली माइजू, पौडेल काका, भट्टराई माइलो, फौदसिंह सर, लिम्बू जेठो, भतिज सतार..... दर्जनौंको भीड थियो । स्तब्ध हुने, सम्झाउने, दुःख मनाउ गर्ने, छेउ लागेर आधी घटनाको, आधी अर्कै विषयको कुरा गर्ने कम जारी थियो । माइला क्रान्तिमा लाग्नुअघि आफ्नो घरमा बसेको, आफूले भनेभन्दा बढी तलब दिएको, आफूले छोरालाई जस्तै व्यवहार गरेको, माइलो सतार टोलकै इमान्दार भएको जस्ता गाइँगुइँ हेर्दाहेर्दै पातलिन थाले । संस्कार अनुसार माइलाको सतगत थालिने समय आयो । हामीसँग बिदा हुनुबाहेक अरु विकल्प रहेन ।
यसपटक घर जाँदा २० वर्षअघिका दर्गा मुर्मुका सपना कतै सतार टोलमा छन् कि भन्ने आशा लागिरहृयो । माइलाको हत्याले उसको परिवारकै सपना स्वाहा पारेको फेरि प्रमाणित भयो । त्यहाँको मूर्दा शान्तिले म झिनो आशाले सतार टोल गएको थिएँ । त्यहाँ माइलासँगै सबै सपना साँच्चै नै एक चिहान भएछन् । आखिर सपनाहरू चिहानमा टुंगिनु सतार टोलको मात्र नियति हैन, देशकै नियति हैन र ? सतार टोल यसै कारण पनि चुपचाप बसेको हो कि ?