म भित्रको चरो

आफूलाई आफैंभित्र हराएर

निर्भिकतापूर्वक यात्रामा अघि बढिरहँदा

थाहा छैन गन्तव्यको बिन्दु कता अलमलियो

टक्क उभिएर दृष्टि दौडाउँदा

यथास्थितिको कुरुपताले

दाह्रा ङिच्याएको हेर्न नसकीे

पाइला चालेको हो

सिउँढीका काँढा शीतल हुँर्दैनन् भन्ने


पूर्वज्ञान पचाएर

काँडाघारीको बाटो समाउँदा

पैताला छियाछिया हुनु पथ्र्यो

शरीर कोतरिनु पर्ने हो

तर सग्लो छ


भावना घाइते भएकी छे

चाहना सेलाएकी छे

आश्था हराएकी छे

विश्वास भूइँमा ढलेर

संत्रास उभिएको छ

हुनु पर्ने एउटा हो

तर भैदियो अकैं

यी सबैको साथमा रमाउने मन

आज एक्लिएको छ 


बिना घाउ शरीर दुखिरहेको छ

हाँस्न खोज्दा आँशु बगिदिन्छ

लामो यात्रा तय गर्न बाँकी छँदै

पाइला रोकिए

सबल यी पाखुरीहरु बाँधिए

पक्षघातले बोली समात्यो

दृष्यपटमा तन्दुरुस्त शरीर

कार्यस्थलमा अक्षम बनेको छ 


आन्तरिक ज्योतिर्पूाज

बाहिरी निशाले घेरिएको बेला

प्रकाश छर्ने चाहना

भोल्टेजको कमिले क्षीण बन्दैछ 


थाहा छैन रात कति बित्ने हुन् अझै

तर निदाउन पनि सक्दैन

आफन्तकै भिडभाडमा

बबुरो भएको यो चरो

पिँजडाभित्रै पखेटा फट्कारिरहेछ ।