जल्दै गरेको चिताबाट

छप्प भिजेको सडकमा एम्बुलेन्सको रिभल्विङ लाइटको प्रतिविम्वले मनमा एक किसिमको त्रास थपिरहेको थियो । प्रतीकको शिर दादाको काखमा थियो, शरीर मेरो काखमा । अब उसलाई सोध्नुको कुनै औचित्य थिएन । उसले स्पष्ट भनिसकेको थियो, उसले मर्नको लागि खाएको हो दुई महिना पुग्ने सारा औषधि । हो, त्यही र त्यो जस्तै औषधि उसले बर्षौ देखि डाक्टरको सल्लाहमा खाइरहेको थियो, बाँच्नका लागि ।
 मसँग भन्ने गर्थ्यो, ‘यार विनय, यो मानसिक समस्या भनेको कुनै रोग नै हैन नि ! जसरी मान्छे शरीरको कमजोरीमा भिटामिन लिन्छन् त्यसैगरि मानसिक कमजोरीमा यो औषधि । हेर् न मलाई कुनै समस्या नै छैन सुरु सुरुमा केही दिन औषधि खाएपछि लाग्थ्यो मलाई त कुनै रोग नै लागेको छैन । अनि डाक्टरले दिएको औषधि विचैमा छाडिदिन्थेँ । फेरि समस्या आउँथ्यो थाहा नपाउने गरी । खूब सताउँथ्यो अनि लाग्थ्यो म साँच्चै बिरामी छु । गर्दा गर्दै अभ्यस्त भएँ । अब आफ्नो समस्या सहजै थाहा पाउन सक्छु । तुरुन्तै डाक्टरकोमा जान्छु एक्लै । सवै सामान्य छ ।’
तर आज स्थिति असामान्य भएको थियो । प्रतीकको दादाले फोन गर्दा मैले कुरा यत्ति सम्म गम्भीर होला जस्तो लागेको थिएन । तथापि रातको ११ बजे फोन गरेर ऊ बिरामी भएर हस्पिटल लानु पर्‍यो भन्ने खबर पाउँदा चाहीँ आपत्तिको सामान्य पूर्वानुमान भने गर्न पुगेको थिएँ ।
अब उसले किन यसो गर्‍यो भन्ने कुरा महत्वपूर्ण रहेन । जसरी पनि उसको आँखामा निहित झिनो आशा पूरा भएको हामी देख्‍न चाहन्थ्यौं, बस् ! घरि घरि ऊ मेरो आँखामा आँखा मिलाएर केही आशा गरेझैँ
गर्थ्यो अनि लाग्थ्यो उसका आँखा लोलाएर हिम्मत हार्दै थिए । मेरो हात उसको छातीमा थियो, अस्वभाविक र अनियमित हलचल । म जीवनको कठोर सत्य नजिक पुग्न लागे झैं र जोडको कुनै धक्काले कतै टाढा धकेलिए जस्तो स्थितिमा थिएँ । असन्तुलित थिएँ म पूर्णत: । उसले जोड जोडले हातहरू झट्कार्न थाल्यो । अनि घरि-घरि लर्वराएको स्वरमा ‘हस्पिटल पुगेन ?’ भनेर सोधिरह्यो । कतै उसमा विस्तारै जीवन प्रतिको लालसा बढिरहेको थियो र जीवन ऊ भित्र-भित्र हारिरहेको थियो । हो, यस्तै केही भएको हुनुपर्छ त्यसैले दादाले ‘प्रतीक आखिर तैले किन यस्तो गरिस् ?’ भनेर सोध्दा उसले फेरि पनि अघिकै जवाफ दियो ‘मर्न मन लागेर !’ ।



उसले कैयौं पटक मसँग भनेको थियो, ‘आत्महत्या कायरहरुले गर्छन् !’ यही कुरामा एक दिन टिभिमा हेरिरहेको फिल्मको एक दृश्यमा हामी बिच निकै वाद-विवाद भएको थियो । फिल्मको हिरोले आफ्नै छातीमा छुरा प्रहार गरेकोलाई मैले ‘क्या आँटिलो’ भनेको थिएँ ।



हो, उसले एकताका मसँग भनेको थियो, ‘यो साला जिन्दगीले मलाई कहिल्यै माया गरेन । म घरिघरि उसको ममताको आँचलमा लपेटिन खोज्छु । ऊ मलाई धकेल्छ, घचेट्छ, झुक्याउँछ, छक्याउँछ । मभित्र जति आशाहरू छन् केवल कृत्रिम छन् । यिनै औषधिका गोटीहरू ममा जीवनको सञ्चार गराइरहेका छन् । यिनको अनुपस्थितिमा … ’ मैले उसको मुख थुनिदिएँ । भनें, यति भावुक हुनुको कुनै अर्थ छैन, खुसी साथ बाँच्नुपर्छ यार ! अनि एकछिन घोरियो र क्षणमै भन्यो- ‘यो जीवनमा खुसी हुनै पर्छ भन्नै कुनै जरुरी छैन, दु:खी हुनु पर्ने कुनै कारण पनि छैन, अनि यो जीवन बाँच्नै पर्छ भन्ने अनिवार्य नै कहाँ छ र ?’ मैले फेरि उसलाई रोक्न खोज्दै थिएँ तर उसले भन्न भ्याई हाल्यो- ‘न त मर्नै पर्ने कुनै कारण ।’ यत्ति भनेर ऊ जोडले हाँसेको थियो । यस्ता जीवन दर्शनहरू ऊ घरिघरि उब्जाउँथ्यो ठट्टामै र डायरीका पानाहरू सजाउँथ्यो । र, कहिलेकाहीँ भन्ने पनि गर्थ्यो, ‘खूब सजियो डायरी र धेरे तापियो आगो ।’ उसले लेखेका कुरा कुनैपनि बेला ऊ नष्‍ट गरिदिन्थ्यो, अकारण ।



हो, ऊसँगका केही सम्वादहरू सम्झेर मलाई मनमा अनायस डर लागिरहेको थियो । ऊसँग मलाई रिस उठिरहेको थियो, प्रतीक तैँले मलाई यत्ति ठूलो धोका दिईस् ! आफ्ना कुनै कुरा पनि लुकाएको छैन भनेर विश्‍वास दिलाएको साथीसँग यहाँ सम्मको गद्दारी गरिस् । हेर् तैले भनेको भएँ हामी एक साथ यो जीवनलाई लात मार्न सक्थ्यौँ । हैन भने तलाई सताईरहने मृत्युको छायाँ सँग लड्ने थें म पनि र एकसाथ हामी बाच्न सक्थ्यौ- यसै भन्दै कि ‘मर्नै पर्ने कुनै कारण छैन ।‘ तैंलेनै त भनेको थिइस् नि ‘बाँच्नु र मर्नुमा कुनै अन्तर छैन, त्यसैले किन मर्ने बाचौं न।‘ तँ मलाई सधैं धोका दिइरहेको थिइस् भने तँ आफ्नै कमजोर मनोबललाई ढाडस् दिइरहेको थिईस् र म लगायत सबैलाई झुक्याईरहेको थिइस् कि तँ जीवन प्रति अरु भन्दा पनि सकारात्मक छस् । जे होस् म तेरो गालामा थप्पड हान्न छाहन्छु प्रतीक, म तैले गरेको धोकाको बदला लिन चाहन्छु तलाई बचाएर ।‘



मनको गति कति तेज हुँदोरहेछ । अस्पताल सम्म एम्बुलेन्स पुग्दा मैले प्रतीकसँग भेटे देखि आजसम्मका सारा कुरा सोच्न भ्याएँ । यहि एक डेढ किलोमिटरको दुरीमा प्रतीकले सायद हरेस खाइसकेको थियो । उसले सोध्नछोडिसकेको थियो अस्पताल । दादा मलिन अनुहारमा निशब्द: बसिरहनुभएको थियो उसको निधार सुम्सुम्याउँदै ।



अस्पतालमा हामी दुईजानाको काँधमा उठाएर उसलाई भित्र लग्यौं । र औषधिका प्रवाह निरन्तर भयो करिव एक घण्टा सम्म सिरिन्ज, सलाइन र बिभिन्न माध्यमबाट । सवै डाक्टरहरु गम्भिर थिए । मैले घरमा फोन गरेर निरन्तर झुटो बोलीरहेको थिएँ । त्यसैबला अचानक लाइन काटिएको मोबाईल फोन, मेरो एक मात्र रीस पोख्ने साधन भयो---- जोडले भुईमा फालिदिए । टुक्रा टुक्रा भएर फुट्यो जसरी मेरो आँखा अघिल्तिर मेरो एउटा सानो र अतिप्रिय सपना चकनाचुर हुन लागिरहेको थियो – ऊ बाँचेको देख्ने सपना ।‘



त्यो म अन्तिम पटक औषधि लिन गएको थिएँ । म फर्कदा उसको छातिमा थिच्दै मुड्की बजार्दै उसलाई घच्घच्याउँदै थियो एउटा डाक्टर । र उसले आफ्नै टाउको ठोके लगत्तै प्रतीकले अन्तिम पटक मुट्ठि कस्यो । म सामुन्ने थिएँ एकोहोरो म तिर हेर्‍यो र दाह्रा किट्यो । त्यतिबेला दादा भित्तामा मुन्टो अडाएर डाँको छाडिरहनुभएको थियो । डाक्टर बाहिरियो ।मैले आँखा चिम्ले । मैले आँखा खोल्दा प्रतीक हेरिरहेको थियो । तर उसको यो हेराई आज सम्मका कुनै हेराईभन्दा बिलकुलै भिन्न थियो । उसको आँखामा अब दृष्टी थिएन । मैले छामें उसलाई उसको शरीरमा कुनै ताप थिएन, उ हिउँझैं कठ्याङ्ग्रिएको थियो । मैले उसको छातिमा हात राखें कुनै भयानक भुकम्प पछिको ससानो कम्पन हो कि जस्तो, शायद भ्रम थियो मेरो, बिस्तारै हट्दै गयो । म जोडले चिच्याएँ: ‘------प्रतीक!’ ऊ बोलेन , ऊ कहिल्यै बोलेन त्यसपछि ।



एउटा अति कठिन अभिनय फेरि गर्नु थियो मलाई । त्यो मैले गरें- मैले प्रतीकको घरमा गएर बुवा आमालाई खुब सँग भने उसले तपाईहरुलाई खोजिरहेकोछ । झुठै भएपनि आशा कति प्यारो हुँदोरहेछ । स्पष्‍ट मैले देखें कि उहाँहरुको विश्वासले बजार उठाइसकेको थियो तर पनि सोध्नुभयो – ‘उ बोल्दै छ बाबु?’ म मौन रहें, केवल मौन जसको अर्थ जे पनि हुनसक्थ्यो । यसरी मैले अस्पताल सम्म पुर्‍याएँ उहाँहरुलाई । त्यसपछि त्यहाँ जे भयो न मैले हेर्न सकें (तर हेरिरहें) न त म त्यो उल्लेख नै गर्न सक्छु ।



त्यो रात कतिबेला बित्यो, कति बेला बिहान भयो मैले केहि थाहा पाईन तर न त म बेहोस भएको थिएँ न निदाएकोनै ।



सारा सहर बेखवर सधैं झैं ब्यस्त थियो । मानिसहरु हिडिरहेका, हाँसी रहेका, हत्तासिइरहका, अत्ताल्लिइरहका सधैं झैं सवै कुरा थियो । पिकअप गाडिको पछाडी म, दादा र प्रतीक !---------- तर प्रतीक हिजो सम्मको प्रतीक थिएन । ऊ जीवनको प्रतीक थिएन । अनाहक कता कता उसलाई लिएर हामी गुडिरहेका थियौं । दिनभर अलमल, झमेला, अप्ठेरा प्रश्‍नहरूको ओइरोले हामीलाई पूरीरह्यो । त्यहाँ भोक, प्यास, निद्रा कुनैकुरा आउँनसक्ने सम्भावनानै थिएन । घरि घरि कसैले पानी दिन्थे मुख सम्म रसाउथ्यौं हामी । यसै गरि घाम डुब्न लागेको थियो ।

घाम कतै टाढा पुगिसकेको थियो ।बागमतीको किनार ओझेल परिरहेको थियो । संसारका सारा पीर र ब्यथा हामी (प्रतीकको परिवार सहित म) मा थोपरिएको थियो र अरु मानिसहरू बाँदरको खेलमा रमाइरहेका थिए । केही मौन थिए नजिकैको बेन्चमा बसिरहेकाहरु । उसको छातीमा निर्ममतापूर्वक मोटो मोटो डोरीले सिलाईएको मैले हेर्न सकिन र आँखा मोडेर पनि उसलाई उठाएर अन्तिम बिस्तरा सम्म पुर्‍याउन हात दिईरहें ।



आगो बलिरहेका थियो र त्यहि आगोमा जलिरहेका थिए मेरा सपनाहरू । मेरो बिगत बर्तमान र भविश्य एकसाथ जलिरहेका थिए त्यै आगोमा । मेरो प्रतीक-----जसले म जस्तो एकलो टुहुरोलाई साथी बनाएको थियो र आफ्नै आमा, बाबु लगायत सबै परिवार बाँडेकोथियो मसँग । हो उसको परिवारमा उ यस्तो मान्छे थियो जसको दाजु-भाई, दिदी- बहिनी सबै थिए । उसले म सँग उसका सारा खुसी बाँडेको थियो, मेरा सारा ब्यथा उसले बराबर लिएकोथियो । ऊ भन्थ्यो उसले मसँग कहिल्यै राम्रा नराम्रा कुनैकुरा लुकाएको थिएन तर उसले झुठ बोलेछ मसँग । मलाई धोका दिएछ उसले ।



मैले देखिरहेको थिएँ देवताको मन्दिर र त्यहाँ आस्थावत् ढोगीरहेका मानिसहरु। प्यासी आगोलाई जल्नुको पीडा के थाहा, जलाउनुको आनन्दमा मस्त दन्किरहेकोथियो । मेरो आस्था, विश्वास, आसा, भरोसा सबै सबै जलिरहेका थिए त्यहि आगोमा । अनि त्यहि आगो बिच एउटा हात उठेको थियो, अन्तिम पटक । ऊ बिदा मागि रहेको थियो जल्दै गरेको चिताबाट ।