ठकुरी माइलाको नर्कलोकमा मृत्यु --कुमार लामा

 नामले नेपाली सेना तर कामले अझै शाही नेपाली सेनाले गैरकानूनीरुपमा सिकार गरेर ल्याएको दुर्लभ हरिणको सुकुटी चपाउँदै एक बोतल स्कच ह्विस्की घुड्क्याएर सदाको रात झैँ निदाएका ठकुरी माइला यसपल्ट भने बिहान ब्युँझिएनन्। राति घमासान भटट र रटट गरेर घुर्दै मस्त सुतेका थिए, तर फेरि कहिल्यै ब्युँझिएनन्। कसैलाई अत्तोपत्तो भएन, उनले राति कतिखेर खुट्टा तन्काए। यमराजले निमेष नसोची तुरुन्त नर्कलोकतर्फ उडाइदिए ठकुरी माइलालाई।

ठकुरी माइलालाई लिएर उडेको यमराजको यान नर्कलोकको नर्क अन्तर्राराष्ट्रिय विमानस्थलमा उत्रियो।"नर्कलोकमा तपाईंलाई हार्दिक स्वागत छ," ठकुरी माइलालाई स्वागत गर्न आएका एडल्फ हिटलरले हात मिलाउँदै भने। "यात्रा कस्तो रह्यो त?"ठकुरी माइला केही नबोली धुम्धुम्ती उभिइरहे। एकैछिनपछि यात्रा ठीकै थियो भन्ने संकेत गर्दै उनले बांगो मुण्टो हल्लाइदिए।
नर्कलोकमा ठकुरी माइलाको आगमनमा एक विशाल स्वागत भोजको आयोजना गरिने भयो। ठकुरी माइलालाई सत्कार गर्नेहरूमा एडल्फ हिटलर, जोसेफ स्टालिन, बेनितो मुसोलिनी, अगुष्टो पिनोसेट, इदी अमिन, पोल पोट, सद्दाम हुसेन लगायत थुप्रै
एकताकाका महसुर तानाशाहहरू थिए। यी खुंखारहरूको बीचमा आफूलाई पाउँदा ठकुरी माइलाको नाक फुलेर घिरौंला जत्रै भयो।



नेपालका महेन्द्र, जंगबहादुर राणा, पृथ्वीनारायण शाह र द्रव्य शाह पनि त्यहाँ थिए।महेन्द्र र जंगबहादुर किन नर्कलोकमा पुगे भन्ने ठकुरी माइलाले बुझे पनि पृथ्वीनारायण र द्रव्य शाह किन त्यहाँ पुगे छन् भनेर पटक्कै बुझ्न सकेनन्। "यी बुढाहरू के खान यता आए छन्?" ठकुरी माइलाले मनमनै सोचे। द्रव्य शाह गोरखाका प्रथम राजा थिए। उनका शाखासन्तान पृथ्वीनारायण शाह नेपालका एकिकरणकर्ता। दुबैलाई नायकका रुपमा चित्रित गरिएको छ नेपालको इतिहासमा। ठकुरी माइलाले उनीहरूका बारेमा जानेको कुरो यस्तो थियो।



"यमराजले कतै झुक्किएर तपाईंहरूलाई यता पठाएका त होइनन्?" ठकुरी माइलाले पृथ्वीनारायणलाई सोधे। "तपाईं त नेपालका राष्ट्रिय एकताका प्रतिक मानिएको छ। स्कूलमा मैले यही कुरा पढेको थिएँ। तपाई त स्वर्गमा बस्नुपर्ने हो।""हेर बाबु, तिमीले खालि सत्तापक्षको इतिहासमात्रै पढे जस्तो छ," पृथ्वीनारायणले चोर औंला ठड्याएर भने।त्यसपछि पृथ्वीनारायणले निम्न भाषण छाँटेः-



सही इतिहास त के हो भने काठमाडौं उपत्यका हान्दा त्यहाँका नेवारहरूले लडाइँमा देखाएको लडाकुपनको बदलामा गोरखाली फौजले लडाइँ जितेपछि बदला स्वरुप नेवारहरूको नाक कान काटिदिएको थियो। इन्द्रजात्रा मनाइरहेका हजारौं नेवारहरूलाई गोरखाली सेनाले अन्धाधुन्ध तरबारले काटेर नाक तथा कानबिहीन बनाई दिए। बसन्तपुरको नौतले दरबार मैले बनाएको भनेर पढेका हौलाउ, तर वास्तवमा मल्ल दरबारका भारदारहरुलाई त्यहाँ राखेर जिउँदै जलाइदिएपछि नष्ट भएको दरबारको पुनःर्निर्माणमात्रै मैले गर्न लगाएको थिएँ। वास्तवमा सो युद्धअपराध मात्रै होइन, जातीय हिंसात्मक दंगाफसाद नै थियो। शाहवंशीय मुड्के शासनभर यो कुरा कतै लेख्न सम्भव नभएकोले धेरै नेपालीलाई यो कालो इतिहास थाहा छैन। हिमालका काखमा रहेका अनेकौं सार्वभौम स-साना राज्यहरूलाई लडाइँमा जितेर वा जालझेलमा पारेर नेपाल राष्ट्र बनाउनु एकिकरण नभएर अतिक्रमण र जालझेलिकरण थियो। यो वास्तविकता अरूलाई नभए पनि भगवानलाई राम्रैसँग थाहा थियो।



"अब त बुझ्यौ होला नि बाबु, म किन नर्कमा पुगेँ भनेर," लामो सास तान्दै पृथ्वीनारायणले भने।"एहे... कुरो त त्यसो पो परेछ!" ठकुरी माइलाले बांगो मुण्टो हल्लाए। अनि फेरि सोधे, "तर द्रव्य शाह चाहिँ किन यहाँ नि?"



द्रव्य शाहले खिसिक्क हाँसेर भने, "हेर बाबु ढर्रढम्म ढर्रढम्म द्रव्य शाह कुदे, चेपेकिनारबाट दौडी लिगलिगकोटमा पुगे। यसरी मगरहरूलाई दौडमा पराजित गरेर द्रव्य शाहले गोर्खा राज्य जिते। तिमीले यही कुरा शायद स्कूलको किताबमा पढ्यौ होला। साँचो कुरो त के हो भने मगरहरूलाई घुमाउरो बाटो पठाइदिएर आफू चाहिँ सोझो बाटो ढर्रढम्म ढर्रढम्म होइन, लख्रक-लख्रक गएँ। कुद्दै नकुदी अथवा विस्तारै हिँडेको भरमा दौडमात्रै होइन गोरखा राज्य नै जितेँ। यो जालझेलको दण्डस्वरुप यमराजले मलाई नर्कतिर पठाइदिए।"



"हरे! कुनै पनि शाह राजाले हिमाली अधिराज्यमा राम्रो र विश्वासिलो कामै गरेका रहेन छन् कि क्या हो?" ठकुरी माइला गुन्गुनाए। "हो त। त्यही भएर नै अन्ततः उनीहरू समाप्त भए," पृथ्वीनारायणले निचोड दिए। "महिला तथा सज्जनबृन्द! म तपाईंहरूको ध्यानआकृष्ट गर्न चाहन्छु," हिटलरले परबाट भने। "अब स्वागत भोज शुरू हुँदैछ। कृपया यहाँ पाल्नुहोला।" नेपाली टोली स्वागत भोज आयोजकहरूको भीडतर्फ लाग्यो। खालखाले र स्वाद-स्वादका खाने र पिउने सामग्रीले टेबलहरू भरिएका थिए।



हिटलरले जर्मनेली रोटी र बीफ्‌स्टिक पोलेका थिए, स्टालिनले भोड्का ल्याएका थिए, मुसोलिनीले पाष्टा र पिच्जा बनाए, पिनोसेटले वाइन (अंगुरको रक्सी) ल्याए, इदी अमिनले कोदोको रोटी पोले, पोल पोटले गुलियो र अमिलो स्वादको झोल राखिएको माछा पकाए भने सद्दामले केबाब र फालाफेल बनाए। त्यसैगरी महेन्द्र र जंगबहादुरले दाल, भात, तरकारी, मासु र अचार बनाए। डाइनिङ् टेबल साँच्चिकै अन्तर्राष्ट्रिय तथा बहुसाँस्कृतिक देखिएको थियो।



ठकुरी माइलाको स्वागतमा छोटो मन्तव्य दिनलाई हिटलर तयार भए। त्यसैबेला वीरेन्द्र र ऐश्वर्य पनि टुप्लुक्क आइपुगे। ठकुरी माइला तीनछक्क परे। "यो सपना हो कि विपना? कि मेरो दृष्टिभ्रम हो? तपाईहरू त स्वर्गमा हुनुपर्ने!" ठकुरी माइलाले वीरेन्द्र र ऐश्वर्यलाई भने। वास्तवमा भएको के रहेछ भने नेपालका ती पूर्व राजा र रानीलाई छ महिना स्वर्ग र छ महिना नर्कमा बस्ने व्यवस्था मिलाएका रहेछन् यमराजले। अकालमा षडयन्त्रपूर्वक मारिएकाले उनीहरूलाई शुरूमा यमराजले दया गरी स्वर्गतिर पठाइदिए छन्। तर छ महिनापछि नर्कतिर पठाइदिए छन्। किनभने उनीहरू पनि आफ्नो समयमा असल शासक थिएनन्। उनीहरूले पनि देशलाई लुटेका थिए, प्रतिपक्षीलाई भुटेका थिए।



वास्तवमा शाह वंशका राजाहरूमध्ये त्रिभुवनले मात्रै स्वर्गमा स्थायी बसोबास पाएका रहेछन्, २००७ सालको जनक्रान्तीमा जनताको साथ दिएका कारण। बाँकी सबै श्री ५ र श्री ३ हरूलाई यमराजले अदालतको तारिख खेपे जस्तै कहिले माथि स्वर्गतिर र कहिले तल नर्कतिर पठाएर हैरानी दिएका रहेछन्। जंगबहादुर, महेन्द्र, पृथ्वीनारायण, द्रव्य शाह आदिलाई त स्वर्गको आँगन कहिल्यै टेक्न नदिई पूर्णकालीन नर्कवासी बनाइदिएका रहेछन् यमराजले। दीपेन्द्रलाई गँजडी भएका कारण छमहिना नर्कमा तर धान खाने मुसा चोट पाउने भ्यागुत्ता भने जस्तै १९ जेठको कत्लेआम पर्वको गलत दोष लगाइएकोले छमहिना स्वर्गमा बस्ने व्यवस्था मिलाइएको रहेछ।



"ए पाजी, हत्यारा, ठग! तँलाई बल्ल भेट्टाएँ," वीरेन्द्रले चिच्याउँदै झम्टिए र ठकुरी माइलाको बांगो मुण्टो माथिको कठालो मुठ्याए। वीरेन्द्रले अँठ्याइरहेकै बेला ऐश्वर्यले ठकुरी माइलाको नितम्बमा लात्तै लात्तले हानिन्। उनी भन्दै थिइन्, "तैँले मलाई गाँजा, हेरोइन र मूर्तिको व्यापारमा हिसाब गोलमाल पारेर ठगेको होइनस्? त्यतिले नपुगेर अझ स्विटजरल्याण्डको मेरो ब्यांक खातासमेत आफ्नै नाउँमा सारिस्। जतिसुकै घिचे पनि नपुग्ने तँ लोभी, पापी, गधा...! लौ खा तँलाई!"



तीनजना लाप्पा खेल्दा डाइनिङ् टेबल सबै गर्ल्याम्गुर्लुम् ढले। खाने र पिउने सबै सामग्री भूइँमा छरपष्ट भए, सग्लो केही बचेन। न त खाना, न त पिउने, न त स्वागत भोज नै। नर्कलोकमा ठूलै भद्रगोल भयो। सबै अतिथी तथा आयोजक चुपचाप आ-आफ्नो बाटो लागे। नर्कलोकमा सन्नाटा छायो। ठकुरी माइला सुत्न गए। सदा झैँ उनलाई सुत्नुअघि पिउने स्कच ह्विस्की उपलब्ध थिएन सो रात, न त चपाउने हरिणको सुकुटी नै। बुङ्बुङ्ती धुँवा उडाउने हवानाको बिलासी सिगार पनि उपलब्ध थिएन त्यहाँ।



भोलिपल्ट बिहान झिस्मिसेमै ब्युँझिए ठकुरी माइला। उनी भोक र प्यासले ग्रस्त थिए। बिहानको अखबार पढेर समाचारको सारसंक्षेप सुनाइदिने कोही थिएन। उनी पृथ्वीलोकको खबरसँग पूरै बेखबर भए। चिया, खाजा तथा खाना ल्याइदिने सुसारे-मुसारे, नोकर-चाकर कोही पनि थिएनन्। ठकुरी माइलाले खाना पकाउन जिन्दगीमा कहिल्यै सिकेका थिएनन्। उनले केवल मुड्के शासन, षडयन्त्र, लुट्ने, कुट्ने र भुट्ने काम सिकेका थिए। भोकले कुइँकुइँ गर्दागर्दै केही दिनमै ठकुरी माइलाले खुट्टा तन्काए। बाँचेनन् ठकुरी माइला नर्कलोकमा पनि।