मेरा एक सय एक अप्रेसन

वन्यजन्तु तस्करविरुद्धका अप्रेसनमा रमेश चन्दले धेरै भेष बदलेका छन् । कहिले व्यापारी, कहिले तस्कर, कहिले एजेन्ट, कहिले दलाल, कहिले सहयोगी, कहिले सुराकी भएका छन् उनी । उनी लगातार अप्रेसन गरिरहेका छन् । तर, कुनै चिकित्सकीय औजार प्रयोग गर्दैनन् उनी । र, उनका अप्रेसन कहिल्यै असफल हुँदैनन् । अहिलेसम्म गरेका १०१ अप्रेसनमा सफल भएका छन् उनी । यी सामान्य अप्रेसन भने हुदै होइनन्, ज्यानको जोखिम भएका अप्रेसन हुन् । चिकित्सकीय औजारबिना नै अप्रेसन गर्न सिपालु उनी हुन्- जिल्ला वन अधिकृत (डिएफओ) रमेश चन्द । एक साता कैलालीको खानीडाँडामा सिकारीलेझै कुरेर बसेका रमेश वन्यजन्तु तस्करीविरुद्धको १०१ औं अप्रेसनमा पनि सफल भए ।

वन र वन्यजन्तुप्रतिको लगावले वनविज्ञान पढ्न पुगेका रमेशले विसं. २०५९ मा थाइल्यान्डको एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर गरेका छन् । त्रिचन्द्र कलेजबाट बिएससी (२०३९) गरेका उनी पञ्चायतविरुद्धको विद्यार्थी आन्दोलनका हिरो पनि हुन् । भारतीय सैनिक बुबा बजिर चन्दको वेला-वेलामा भइरहने सरुवाले झन्जट ल्याए पनि आमा देवी चन्दले उनको पढाइमा असर पर्न दिइनन् ।

सरकारी जागिरे भई कट्टर वन र वन्यजन्तुवादी भएर २२ वर्ष बिताइसके उनले । यस अवधिमा उनले आफ्नो जीवन र जागिर धेरैपटक धरापमा पारे । उनी वर्षमा तीन/चारपटक काठमाडौं पुग्छन् स्पष्टीकरण दिन । 'वन्यजन्तुका तस्करलाई कारबाही गर्‍यो कि नेताहरू रिसाइहाल्छन्,' उनले गुनासो गरे । जिल्लास्तरमा त कोही नेता बोल्न सक्दैनन् । धम्क्याउन आउने नेतालाई राजनीतिको पाठ पढाएर फर्काइदिन्छन् उनी । तर, तस्करहरू नसमात्दै फोनले सताइहाल्छ । तत्कालीन वनमन्त्री मातृका यादवलाई त उनले आफूलाई जागिरबाट निकाल्न चुनौती नै दिएका थिए । एलडिओलाई ट्वाइलेटमा थुनेको, सिडिओलाई कुटेका खबर दिमागमा खेलाउँदै तत्कालीन वनमन्त्री यादवको कार्यकक्षमा स्पष्टीकरण दिन पुगेका रमेशले यथार्थ कुरा बताएपछि वनमन्त्री यादव पनि ट्वाल्ल परे रे ! 'कुटाइ खानुपर्ने हो कि भन्ने डर थियो,' मन्त्री यादवलाई स्पष्टीकरण दिन जानुअघिको कुरा सम्झि

ँदै डिएफओ रमेशले भने, 'आफ्ना कुरा राखेँ । उहाँ केही बोल्नुभएन । सरासर आएँ ।'

जागिर र ज्यान जोखिममा पारेर तस्करविरुद्ध एक्सन लिने उनी भन्छन्, 'म वन र वन्यजन्तु संरक्षणका लागि खटिएको हुँ । यो मेरो ड्युटी हो । गलत काम गर्नु हुन्न । सही काम गर्दा डराउनु पनि हुन्न ।' तस्करहरूको सम्बन्ध राजनीतिक दलका नेता, उच्च ओहोदाका कर्मचारी, सुरक्षाकर्मी, ठुल्ठूला आपराधिक समूहसँग भएको उनलाई राम्ररी थाहा छ ।

उनले पहिलो अप्रेसन अछामबाट सुरु गरे । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर २०४४ सालमा सहायक वन अधिकृत भएर अछाम पुगे उनी । भर्खर अछाम पुगेका उनलाई गाउँठाउँका बारेमा जानकारी पनि थिएन । पूर्वी आछामबाट बाघको छाला सुर्खेत हुँदै काठमाडौं लगिँदै छ भन्ने खबर आयो, हावासरी । 'केही थाहा थिएन । तुर्माघाटबाट सुर्खेततिर लगिँदै छ भन्ने मात्र जानकारी थियो ।' हाकिमको आदेश पालना गरेर पूर्वी अछामको तुर्माघाट पुगेका रमेशले पहिलो अप्रेसनमै बाजी मारे । तस्कर बनेर गएका उनले बाघको छालासहित एक दर्जन तस्कर समाते । उनले पहिलो अप्रेसनमै थाहा पाए- तस्करहरूसँग हतियार पनि हुँदो रै'छ । उनले भने, 'उनीहरूले थोरै सुराक पाएको भए मार्ने थिए, धन्न बाँचियो ।' तुर्माघाट अप्रेसनले नै उनलाई वन र वन्यजन्तुसँग झन् नजिक बनायो । र, तस्करविरुद्धका हरेक अप्रेसनमा उत्साहित भएर लाग्ने बनायो ।

रमेशलाई राम्ररी थाहा छ- वन र वन्यजन्तुको कारोबार गर्नेहरूसँग हतियार हुन्छ, उनीहरू मार्न र मर्न डराउँदैनन्, आफ्नो काममा भाँजो हाल्नेविरुद्ध जे गर्न पनि तयार हुन्छन् । तस्करहरूलाई झ्

यापझ्याप समात्न सकिँदैन । प्रमाणसहित समात्नुपर्छ । हतियार बोकेर युद्ध लडेजस्तै आम्नेसाम्ने गोली पड्काएजस्तो पनि हुँदैन । 'भेष बदलेर जानुपर्छ,' उनले भने, 'सुराकी पनि आफैं, लडाकु पनि आफैं । कहिले व्यापारी, कहिले तस्कर, कहिले एजेन्ट, कहिले दलाल, कहिले सहयोगी, कहिले सुराकी, धेरै भेष बदल्नुपर्छ ।' सुरक्षाफौज लगेर झ्याप कि झ्याप तस्करहरू समातेका घटनालाई उनी अप्रेसन भन्दैनन् । ती घटना, उनले गरेका एक सय एक अप्रेसनभित्र परेका छैनन् । चार दिनदेखि एक महिनासम्म भेष बदलेर पिछा गर्दागर्दा तस्करहरूलाई समातेका घटना नै उनको परिभाषामा अप्रेसन हुन् । 'मर्न पनि सक्छु भन्ने सोचेर जान्छु ।'

एक सय एकमध्ये 'अब बाँचिन्न' भन्नेजस्तो लागेको अप्रेसन चितवनको हो । २०४९ सालको कुरा हो । चितवनको एक होटलमा गैडाको खागसहित तस्करहरू छन् भने सूचना आयो । उनी एजेन्ट बने । एक साताजति कुरा चलाए । अन्तिम दिन तीस लाख रुपैयाँ बोके, पेस्तोल बोकेर होटलभित्र पसे । एक करोडमा कुरा मिल्यो । दस मिनेट समय गुजार्न कमिसनको कुरा झिकँे । एक लाख कमिसन दिन तस्कर तयार भयो । होटलभित्र पसेको १२ मिनेटपछि तस्करले पैसा समात्यो र खाग उनलाई दिन खोज्यो । त्यतिवेला रमेशले खाग समातेनन्, तस्करको कन्चटमा पेस्तोल तेस्र्याए । तर, अर्को कोठाबाट गोली चल्यो । उनले फिल्मी शैलीमा काखी च्यापेका तस्करलाई आड बनाए । 'गोली दायाँबाँया कानबाट सुर्रसुर्र गए,' उनले चितवन अप्रेसनबारे बताउँदै भने, 'तीन मिनेट कटाउन साह्रै गाह्रो भो ।' पन्ध्र मिनेटभन्दा ढिलो भए भित्र पस्न वन सुरक्षाफौजलाई होटल परिसरमा तैनाथ गरेका थिए उनले । 'सोह्रांै मिनेटमा ढोका फुटालेर सहयोगीहरू भित्र पसे, धन्न ज्यान जोगियो ।'

केही अप्रेसन रमाइला पनि हुन्छन् । यस्तै एउटा अप्रेसन नवलपरासीको झ्

यालबासको हो । झ्यालबास-अप्रेसन बताउनुअघि मज्जाले हाँसे उनी । मध्यराति जंगलभित्र गस्तीमा जाँदा खाली ट्रक भेटिएछ । त्यही ट्रकलाई चार दिनसम्म बजारमा घुमाएछन् । तस्करीको सामान बोक्ने कुरा चलाएछन् । एकजना तस्करसँग काठमाडौं सामान ढुवानी गर्न कुरा मिलेछ । मध्यराति बीचजंगलमा लगेर ट्रकमा वन्यजन्तुका अंग, छाला, काठ लोड गरे । चारैतिर गहुँका भुस हाले । तस्करलाई पनि ट्रकमै बसाले । आफू ड्राइभर बने उनी । ट्रक राजमार्गमा पूर्वतिर नगुडाएर रेन्जरपोस्टभित्र छिराए । 'ऊ (तस्कर) त केही बोल्नै सकेन । ट्वाल्ल परेर मेरो मुखमा एकोहोरो हेरिरह्यो ।'

हरेक अप्रेसन नाटकजस्तै हुन्छन् । उनको कार्यक्षेत्र दार्चुला भए पनि कञ्चनपुर जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलको 'निम्तो' मान्न उनी हिमालबाट तराई झरे । गत वर्षको तराई अप्रेसनमा उनले नयाँ अनुभव बटुले- प्रहरी हिरासतको । गैंडाको खाग भारततिर लगिँदै छ भन्नेे सुराकका आधारमा आठ दिनदेखि तस्करलाई पछ्याइरहेका थिए । महेन्द्रनगरको एक होटलबाहिर गिद्धले सिनो कुरेझंै कुरिरहेका थिए । होटलबाट खाग लिएर तस्करले मोटरसाइकल 'स्टार्ट' गर्न लाग्दा बाघलेझंै झम्टे । खाग र तस्करलाई शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाए । आफू लुखुर-लुखुर पाँच/दस कदम के हिँडेका थिए, इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोलीले गिरफ्तार गर्‍यो । रमेशलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठामा हुलियो । कञ्चनपुरका डिएफओको रोहबरमा बल्लतल्ल छुटे उनी ।

वन विभाग तथा वन मन्त्रालयबाट हौसला बढाउने काम नहुने गुनासो गर्दै उनले भने, 'कहिलेकाहीँ आफंैलाई प्रश्न गर्छु, म किन गरिरहेको छु यो सब ?' आफ्नै प्रश्नको चित्त बुझ्दो उत्तर नपाएका डिएफओ रमेशलाई ज्यानै मार्ने धम्की पनि आउँछ । उनलाई लाग्छ- ज्यान जाने एउटै गोलीले हो । हतियार र शत्रुको डर सबैलाई उत्तिकै हुन्छ । 'एक होस् या सयौं हुन्, आखिर शत्रु शत्रु नै हुन्,' उनले भने, 'एउटा शत्रु बनाउनु र सयौं शत्रु बनाउनुमा फरक छैन । जति भए पनि मर्नु परिहाले एउटै गोलीले मरिने हो ।'

'राम्रो गरेछु' भनेर जिन्दगीभरि सम्झि

ने उनीसँगै थुप्रै अप्रेसन छन् । स्मरणको लाइब्रेरीमा घटनाहरूका थुप्रै ठेली छन् । तैपनि एउटा कामले भने सधैंभरि आत्मसन्तुष्टि दिइराख्छ । माथिको आदेशमा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष अतिक्रमण गरेर बसेका परिवारलाई हटाउन थाले । हात्ती, सेना र प्रहरी लगाएर घर भत्काए, आगो लगाए, धपाए । सबैले घर छोडे, तर एउटा घरबाट कोही बाहिर निस्केन । यसो भित्र हेरे । दुई दिनकी सुत्केरी महिला रहिछन् । शिशु रुँदै थियो, आमा भुइँमै रगत लत्पतिएर पल्टिएकी थिइन् । रमेश केही नबोली बाहिर निस्के । जसरी पनि घर फाल्नु नै थियो । सरासर गाउँमा गए । कटेरो बनाउने जग्गा मागे । सबै सुरक्षाकर्मी लगेर कटेरो बनाए । काठको नै खाट बनाए । सबै मिलेर शिशु र आमालाई नयाँ घरमा पुर्‍याए । गाउँलेसँग खानेकुरा मागेर घरमा राखिदिए । खल्तीमा उनको पचास रुपैयाँ मात्र रहेछ, त्यति दिए । घर भत्काइएकाले रमेशसँग सबै आगो भए, तर बिदा हुँदा उनी भने धुरुधुरु रोइन् ।

बच्चु विक

bachubk@gmail.com