क्याम्ब्रिज विश्वविद्यालयमा मेरो अनुभव

मेरो जीवनयात्राको लामो अन्तरालमा क्याम्ब्रिज विश्वविद्यालयमा मेरो प्रवेश मेरो स्मृतिमा अक्षुण्ण रहेको छ। मैले पेन्सिल्भानियाको डिकिन्सन कलेजबाट पहिलो पटक डिग्री परीक्षा उत्तीर्ण गरेको थिएँ। मेरो प्रमुख विषय भौतिकशास्त्र थियो।

भौतिकशास्त्रको अध्ययन गर्ने अवसर पाएबाट मलाई १९ औँ शताब्दी र २० औँ शताब्दीको प्रारम्भमा भौतिकशास्त्रका विषयमा गरिएका महत्वपूर्ण अनुसन्धानहरूको बारेमा यथेष्ट जानकारीको सौभाग्य मिलेको छ।

त्रिनिटीका सदस्यहरू द ब्रागका पिता र पुत्र, जे.जे. थोमसन, रथफोर्ड, वाल्टन, बर्ट्राण्ड रसेलजस्ता आविष्कारक र विद्वान्हरूले सोही विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्नुभएको थियो। मैले पनि त्यहाँ बाइरनको कविताबाट यथेष्ट आनन्द लिएको छु। डिकिन्सन कलेजमा अध्ययन गर्दा अन्तिम वर्षमैले त्रिनिटीमा अध्ययनका लागि आवेदन गरेँ र उच्च डिग्री अध्ययनका लागि मेरो आवेदन स्वीकृत भयो।

मलाई अहिलेसम्म याद रहेको छ, मैले पेरुजियाबाट क्याम्ब्रिजसम्म रेलमा यात्रा गरेको थिएँ। पेरुजियामा मैले इटाली भाषाको अध्ययन गरेको थिएँ। म क्याम्ब्रिजमा पुग्दा मध्यरात भएको थियो र त्यहाँ मैले मेरो आगमनको बारेमा त्रिनिटीका अधिकारीहरूलाई जानकारी दिएर सोझै न्यूकोर्टमा रहेको मेरो आवासकक्षमा पुगेँ। मैले जाडोयामका लुगा लिएर आएको हुनाले क्याम्ब्रिजमा मलाई चिसोको सामना गर्न सजिलो भयो।

डिकिन्सनको भन्दा क्याम्ब्रिजको मौसम एकदमै फरक थियो। मैले फाइबरमा एक वर्षबिताएको थिएँ। त्यहाँ एक अत्यन्त सुशील महिला मेरो सहयोगीको रूपमा थिइन् र उनले मलाई त्यहाँको बारेमा, मेरा गुरुहरूका बारेमा इतिहासकालीन ठूल्ठूला व्यक्तित्वका बारेमा जानकारी दिइन्। उनले रोबर्ट रोब्सनको बारेमा समेत बताइन्। रोब्सन त प्रख्यात म्याकलेका बारेमा विशिष्ट ज्ञान राख्ने व्यक्तित्व रहेछन्। मलाई लर्ड एड्रियनसँग दिवाभोज गर्ने अवसरसमेत मिल्यो।

यद्यपि मैले क्याम्ब्रिज विश्वविद्यालयमा भौतिकशास्त्रलाई मूल विषय मानेर अध्ययन गरेको थिएँ तापनि म अर्थशास्त्रसमेत पढ्न चाहन्थेँ। म जोन रोबिन्सनको व्याख्यानमा समेत भाग लिन पुगेँ। उनले अर्थशास्त्रप्रतिको मेरो अभिरुचिलाई निकै कदर गरे। खास गरेर मैले भारत र चीनको अर्थशास्त्रका विषयमा रुचि देखाएको थिएँ। उनी वास्तवमा बहुप्रतिभाशाली प्राध्यापक र असाधारण अर्थशास्त्रीसमेत रहिछन्।

त्यतिबेला जेम्स मीड र पाउल स्यामुल्सनसमेत त्यही संकायमा थिए। उनी नियममा एकदम कट्टर थिइन्। म हरेक हप्ता आफ्नो निबन्ध समयमै उनलाई बुझाउँथेँ र उनले अक्षरशः मेरा लेखाइहरूलाई पढ्थिन् र मलाई जानकारीसमेत गराउँदथिन्।

त्यतिबेला अर्थशास्त्र पढ्न एक किसिमको आनन्द आउँथ्यो। अहिले त अर्थशास्त्रको अध्ययन एक किसिमले हिसाबको पाठ गरेझैँ जटिल भएको छ। त्यतिबेला गणितका खासखास तथ्यांक उल्लेख नगरीकन नै अर्थशास्त्रको अध्ययन गर्न सकिन्थ्यो। त्रिनिटीमा त्यतिबेला एक जना इटालियन अर्थशास्त्री पिएरो स्ट्राटा थिए। उनलाई मानिसहरू भन्ने गर्दथे कि 'पिएरोले ईश्वरबाट अर्थशास्त्र प्राप्त गर्दछन्।'

उनी सदैव विद्यार्थीहरूलाई प्रतिभाशाली हुने शिक्षा दिन्थे। क्याम्ब्रिजमा रहँदा पहिलो वर्षमैले साह्रै खुसीसँग समय बिताएँ। मैले त्यहाँ आफ्नो सामाजिक जीवनसाथीहरूसँग मिलेर बिताएँ। यदाकदा लन्डनबाट आएका साथीहरूसँग घुम्न गएर पनि मैले खुसीका दिनहरू बिताएँ। त्रिनिटीमा नै मैले राजीव गान्धीलाई भेटेँ। यद्यपि उनी आफ्ना साथीभाइहरूसँग अलग्गै जमघट गर्दथे।

क्याम्ब्रिजमा पहिलो वर्ष बिताएपछि म एक पटक फेरि काठमाडौँ गएँ। पछि सन् १९६६ मा अनुसन्धानको सिलसिलामा म पुनः यहाँ फर्किएँ। नेपाली भएको नाताले मैले आफ्नो अनुसन्धानको विषय भारत र चीनको अर्थशास्त्रलाई बनाएँ। किनभने दुई ठूला देशका बीचमा रहेको नेपालको विकासमा अर्थशास्त्रको ठूलो महत्व रहेको थियो।

त्यतिबेला बेलायतका राजकुमार चार्ल्स पनि त्रिनिटीमा अध्ययनार्थ आउनुभएको थियो। उहाँको अङ्गरक्षक साह्रै कठोर थियो। राजकुमार चार्ल्सको आवासको प्रमुखचाहिँ रब बट्लर थिए। उनी अत्यन्त मिजासिला र हंसमुख थिए। उनलाई नेपाल अधिराज्यको बारेमा विशद ज्ञान पनि थियो। तत्कालीन बेलायती प्रधानमन्त्री हेराल्ड विल्सन क्याम्ब्रिजमा आउनुहुँदा केही विद्यार्थीहरूले विरोधसमेत जनाएका थिए।

त्यही बेलामा नै मैले त्यहाँका तीन विद्यार्थीलाई आफ्नो अभिन्न साथी बनाएँ। अहिले स्यान्डविचको एघारौँ अर्ल पदवी पाएका जोन मोन्टागु मेरा तीन अभिन्न साथीमध्ये एक थिए। उनी अहिले पनि हाउस अफ लर्ड्सका सम्माननीय सदस्य छन्। अर्का मेरा मित्र जापानका काजुओ ओबुरा थिए।

उनी पछि फ्रान्सका लागि जापानका राजदूत नियुक्त भए र अहिले जापान फाउन्डेसनको अध्यक्ष छन्। यसपछि तेस्रो मित्रको रूपमा मैले विद्या दहेजियालाई पाएँ। उनी कोलम्बियाका प्राध्यापक छिन्। म अमेरिकाको न्यूयोर्क पुगेको बेलामा उनलाई नभेटी फर्कन्न। हाम्रा सन्ततिले पनि अहिले हामीहरूबीचको मित्रतालाई प्रगाढ बनाउँदै आएका छन्।

यद्यपि अक्सफोर्डमा अध्ययन गर्नेमा एकदमै कम नेपालीहरू रहेका छन्। तिनमा पनि प्रायःजसो राणाजीका सन्तानहरू हुन्थे। क्याम्ब्रिजमा अध्ययनार्थ जानेमा म नेपालको पहिलो विद्यार्थी थिएँ। यस कारण मेरा लागि त्यहाँ धेरै कुरा नौला थिए। त्यसो भए तापनि म दक्षिण एसियाका अन्य विद्यार्थीहरू झैँ दायाँ-बायाँ अल्मलिनेमा परिनँ।

किनभने क्याम्ब्रिज मेरा लागि अत्यन्त रमणीय स्थल रह्यो। यस एसियाली उपमहाद्वीपका धेरैजसो नेताहरू त्यहीँका उपज थिए र उनीहरूले आफ्नो मुलुकको स्वाधीनताको संग्राममा भाग लिएका थिए। मोहम्मद इकबाल र जवाहरलाल नेहरू क्याम्ब्रिजका नै विद्यार्थी थिए। त्यसैगरी, सुभाषचन्द्र बोस पनि त्यहीँका विद्यार्थी रहेका थिए।

त्यतिबेला क्याम्ब्रिज करी हाउस भनिने स्थानमा पनि म जान्थेँ। त्यसैगरी, काश्मीर नाम दिइएको अर्को रेष्टुराँमा पनि म जाने गर्थें। उक्त रेष्टुराँको नाम काश्मीर राखिएकाले पाकिस्तानी विद्यार्थीहरूले विरोधसमेत गरेका थिए। उनीहरूले उक्त भोजनालयलाई भारतीय भोजनालयसमेत भन्ने गर्दथे। काश्मीरको विषयमा भारत र पाकिस्तानका बीच हालै मात्र पनि युद्ध भएको थियो। त्यसैगरी, म रोज क्रेसेन्टमा पनि जाने गर्दथेँ ।

क्याम्ब्रिजमा रहँदाको मेरो समय खुसीसँग बितेको थियो। मैले त्यहाँ आफूलाई कहिल्यै पनि परदेशी ठानिनँ। त्यहाँ मलाई कुनै कुराको अभाव थिएन। त्यहाँ खाली अंग्रेजी अनुशासन पालना गर्न मात्र मलाई यदाकदा कठिनाइ पर्दथ्यो। क्याम्ब्रिजमा रहँदा सम्पूर्णरूपमा आफूलाई अंग्रेज बनाउनुपर्दथ्यो। क्याम्ब्रिजमा मेरो तीन वर्ष सहजैसँग व्यतीत भयो। मलाई योभन्दा अत्यन्त खुसी लाग्दछ कि मेरा जीवनका धेरै वर्षहरूमध्ये ती तीन वर्ष साह्रै उत्तम वर्षरहेका थिए। आफूलाई अत्यन्त क्रियाशील बनाएर मैले सहजै त्यहाँ जीवन बिताएको थिएँ।

सन् १९६९ को अन्त्यतिर म नेपालमा फर्किएँ। त्यहाँ रहँदाका मेरा सबै अध्ययनका कार्यहरू एक प्रकारले सम्पन्न भएको थियो। मैले आफ्नो अध्ययनको र ज्ञानको शोधपत्र बुझाउन मात्र बाँकी रहेको थियो। सन् १९७२ मा राजा महेन्द्रको स्वर्गारोहणपछि म नेपाल छाडेर जाने स्थितिमा रहिनँ। मैले राजा वीरेन्द्रको सेवामा आफूलाई समर्पण गरेँ।

त्यतिबेला कहिलेकाहीँ त १६ घन्टासम्म पनि काम गर्नुपर्दथ्यो। नेपाल अधिराज्यभित्र र विदेशमा समेत प्रशस्त भ्रमण गर्नुपर्यो। म राजा वीरेन्द्रको प्रमुख सचिवसमेत रहेको थिएँ। वास्तवमा राजा वीरेन्द्र अत्यन्त लज्जालु होइबक्सिन्थ्यो।

आफ्ना परिवारबाहेक अरूसँग मौसुफको खास सम्बन्ध थिएन। जम्मा तीन या चार जनासँग मात्र मौसुफको आत्मीय सम्बन्ध थियो। हरेक दिन ६ देखि ७ घन्टा मैले मौसुफसँग बिताएँ। मौसुफका साथमा म ३५ वटा मुलुकमा पुगेको छु। तीमध्ये आधाजसो मुलुकमा मौसुफबाट राजकीय भ्रमण गरिबक्सेको थियो। सन् १९९० मा मौसुफबाट आफ्ना अधिकारहरू प्रजातान्त्रिक दलहरूमा सुम्पिबक्सेको थियो।

मैले सन् १९७० को मध्यतिर मात्र मेरो शोधपत्र बुझाएको थिएँ। मेरा प्राध्यापकहरूले चीनको बारेमा मैले लेखेका केही विषयहरूमा केही अदल-बदल गर्न चाहनुभएको थियो। तर त्यतिबेला चीनको बारेमा यथार्थ तथ्याङ्क पाउन सम्भव थिएन र विशेष अध्ययन गर्ने फुर्सद पनि मलाई थिएन। अन्त्यमा मैले एम.एस्सी. अध्ययन गरेँ। तर त्यो नै मेरो अध्ययनको अन्तिमचाहिँ थिएन।

राजा वीरेन्द्रबाट मौसुफका अधिकारहरू प्रजातान्त्रिक दलहरूमा सुम्पेपछि म पुनः अध्ययनार्थ फर्किएँ। पहिलो वर्षमैले हाइडलवर्गमा बिताएँ। त्यसपछि तीन वर्षक्याम्ब्रिजमा बिताएँ। त्यस समयमा मैले भारत र चीनको अर्थशास्त्रलाई प्रचुर मात्रामा अध्ययन गर्ने अवसर पाएँ। मेरो पहिलेको अध्ययनभन्दा यो धेरै नै फरक थियो। किनभने भारत र चीनले यस अवधिमा निकै नै विकास गरिसकेका रहेछन्। त्यतिबेला मेरी श्रीमती मेरै साथमा थिइन् र मेरा केटाकेटी पनि बेलायती विद्यालयहरूमा अध्ययन गर्दै थिए।

सन् १९६० ताका म बेलायतमा आउँदा यो मुलुक अत्यन्त धनी राष्ट्र थियो। अहिले त त्यसको चौगुना धनी राष्ट्रको रूपमा बेलायत रहेको छ। नेपाल बेलायतजस्तो भाग्यमानी हुन सकेको छैन। अहिले मुलुकमा तीन शक्ति हावी भएका छन्। जसमध्ये राजतन्त्र, माओवादी र प्रजातान्त्रिक शक्ति। मलाई विश्वास छ, अन्त्यमा प्रजातान्त्रिक शक्तिको विजय हुनेछ।