श्रीपेच खोसिएका राजासँग

अवकाशप्राप्त कर्मचारी, दलबाट हटाइएका नेता र श्रीपेच खोसिएका राजासँग कसैले केही कुराको आशा राख्छ भने त्यो अनुभवको रूपमा प्राप्त हुने ज्ञान मात्र हुनसक्छ। जीवनमा यस्ता पात्रहरूबाट जति ज्ञान प्राप्त गर्न सकिन्छ सामाजिक जीवनमा त्यसले अत्यन्त महत्व राख्छ र व्यक्तिगत जीवनमा त्यस्ता अनुभव अत्यन्त उपयोगी हुन्छन्।अवकाशप्राप्त कर्मचारी र दलबाट हटाइएका नेताहरूसँग सान्निध्य राख्ने र उहाँहरूबाट ज्ञान प्राप्त गर्ने मौका बारम्बार आइरहे पनि श्रीपेच खोसिएका राजासँगको साक्षात्कार अत्यन्त दुर्लभ अवसर हो। संसारमा अत्यन्त कम मुलुकहरूमा मात्र राजतन्त्र जीवित छन्, राजतन्त्र भएका मुलुकहरूमा पनि सामान्यतया राजतन्त्रको अन्त्य एकैपटक मात्र हुने हो। आफू बाँचिरहेका बेला राजाको श्रीपेच खोसिनु र श्रीपेच खोसिएका राजा सबै प्रकारका 'ह्युमिलिएसन' सहेर पनि स्वदेशमै जीवन बिताउन कटिबद्ध रहनु विश्वइतिहासमा सामान्य घटना होइन। यस्ता असामान्य घटना–सन्दर्भका मूल पात्र 'राजा' ज्ञानेन्द्रसँग साक्षात्कार गर्ने इच्छा यतिवेला धेरैमा हुनसक्छ र स्वाभाविक रूपले ममा पनि थियो। सीमित समयमा असीमित चर्चा, बहस र विवादको केन्द्रीय पात्र बन्नुभएका 'राजा' ज्ञानेन्द्रसँग वि.सं. ०५८ को भदौमा (राजा होइबक्सेको दुई महिनापछि) पहिलोपटक साक्षात्कार गर्ने मौका मिलेको र त्यसपछि पनि एकाधपटक सामूहिक भेटको अवसर प्राप्त भएको थियो। सामूहिक नै भए पनि ०६१ को साउनतिर गोकर्णमा भएको भेटमा पनि राजालाई आफ्नो कुरा राख्ने अवसर मलाई प्राप्त भएको थियो। त्यसबेला राजनीतिक दलहरूसँगको सम्बन्ध सुधार्नु र संसदीय प्रजातन्त्रलाई सुदृढ बनाउन लागिपर्नुको विकल्प नरहेको बताउन पाउँदा मैले मनको भारी नै बिसाएको महसुस गरेको थिएँ। 'देश बर्बाद भयो, राजा अघि सर्नैपर्छ' भन्नेहरूको भीडमा डा. सुन्दरमणि दीक्षित र हामीजस्ता पात्रहरू सम्भवतः कागको बथानमा बकुल्लाझैं भएका थियौं। जे भए पनि त्यसवेला राजासँग आफूले देखेको कुरा राख्न पाउँदा प्रशन्न होइएको थियो। भर्खरै राजा होइबक्सेको ज्ञानेन्द्रदेखि राजतन्त्रमै विराम लागेपछिका ज्ञानेन्द्रसम्मलाई भेटेर संवाद गर्न पाउनुलाई मेरो पत्रकारिता जीवनले रोमाञ्चक र सुखद क्षणको रूपमा महसुस गरेको छ। नेपाली राजनीतिका केही जिज्ञासाहरूमध्ये प्रमुख 'अब के हुन्छ' भन्ने हो भने त्यसपछिको सबैभन्दा ठूलो जिज्ञासाचाहिँ 'राजा के गर्दै या सोच्दै होलान्' भन्ने नै हो, जुन जिज्ञासा मभित्र पनि थियो। मङ्सिर १२ गते मलाई मेरो जिज्ञासा मेट्ने अवसर प्राप्त भयो, त्यसनिम्ति म 'राजा'प्रति आभारी पनि छु। निर्धारित समयमा 'राजा'सँग भेट गर्न जानुअघि मेरा मनमा अनेक प्रश्नहरू एकसाथ तैरिएका थिए। विशेषगरी राजाको अनुहारमा पहिलेजस्तो चमक अहिले होला या नहोला, स्वास्थ्यस्थिति कस्तो होला, वर्तमान परिस्थिति र आफ्नो भाग्य एवम् भूमिकालाई लिएर के सोच्दै हुनुहोला, राज्य गुमाएका राजाका बारेमा इतिहासमा पढिएको थियो तर त्यस्ता राजाहरूको मानसिकतालाई किताबहरूमा नजिकबाट स्पर्श गर्न सम्भव थिएन, त्यसैले राज्य गुमाएका राजाको मानसिकता कस्तो हुँदोरहेछ भन्नेलगायतका अनगिन्ती जिज्ञासाको पोको बोकेर म त्यस दिन निर्मलनिवासमा प्रवेश गरेको थिएँ। करिब दुई घन्टाको बसाइमा 'राजा'लाई मैले जुन रूपमा पाएँ, जस्ताको त्यस्तै राख्ने प्रयास यहाँ गरिएको छ। राजाका रूपमा रहँदा र नरहँदा अनुहारमा जति अन्तर होला भन्ने सोचिएको थियो त्यति अन्तर देखिएन। मन्त्री/प्रधानमन्त्री बनेको र बाहिरिनुपरेको अवस्थामा हाम्रा नेताहरूको मुहारमा अतुलनीय अन्तर देखिने गरेको हुँदा झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्रसहित श्रीपेचबाट वञ्चित गरिएका 'राजा'को अनुहारमा ठूलै अन्तर होला भनी सोच्नु अस्वाभाविक थिएन। तर सोचेजस्तो अन्तर देख्न पाइएन। 'श्री ५' का रूपमा र 'श्री ५' विहीनताका बीचमा पनि 'राजा'को बाह्य रूपमा कुनै परिवर्तन भेट्न सकिएन। कतै गणतन्त्र स्थापना भएको 'राजा'लाई थाहै नभएको हो कि जस्तो पो लाग्यो उहाँलाई भेट्दा। 'राजा'को स्वास्थ्यमा कुनै खराबी आएजस्तो किञ्चित महसुस भएन, तर मैले उहाँलाई स्वास्थ्यस्थिति कस्तो छ भनी चासो दर्शाउन पनि बिर्सिएछु। सम्भवतः 'राजा'लाई तन्दुरुस्त पाएकोले पनि मबाट स्वास्थ्यस्थितिबारे चासो व्यक्त नभएको हुनसक्छ। हाम्रा केही नेता, उच्च तहका कर्मचारी र व्यापारीहरूको भन्दा अझ सामान्य लाग्ने भुइँ तलाको भित्री बैठकमा 'राजा' र म मात्र थियौँ। म 'राजा'सँग खुल्न सक्थेँ, त्यत्तिकै 'राजा' पनि मसँग खुल्नुपर्छ या खुल्नुहोला भन्ने आशा मैले राखेको थिइनँ। मेरा कुराहरू सुनिसकेपछि 'राजा' पूरै नखुले पनि धेरै खुल्नुभएको महसुस मैले गरेँ। श्रीपेच खोसिएकै भए पनि 'राजा'को बोली, व्यवहार र संस्कारमा कुनै परिवर्तन आएको रहेनछ, त्यसैले त्यहाँ करिब दुई घन्टा बिताइन्जेल मैले म श्रीपेच खोसिएका राजासँग बसिरहेको छु भन्ने महसुस गरिनँ। राजालाई नसोधिएको तर मलाई सिधै सोध्न मन लागेको एउटा प्रश्न थियो– 'तपार्इंलाई राजाको रूपमा फेरि नारायणहिटीमा 'दर्शनभेट' गर्न पाइएला?' मैले यसरी सिधैं सोध्न सकिनँ, नसोधिएको प्रश्नको जवाफ आउने कुरा पनि भएन। तर, लामो संवादपछि मैले राजामा एक प्रकारको आत्मविश्वास पाएँ। उहाँमा नेपाली जनताले एक दिन वास्तविकता बुझ्नेछन् र राजासंस्थाको औचित्य र आवश्यकता बोध गर्नेछन् भन्ने पूर्ण विश्वास रहेको मैले महसुस गरेँ। संसारमा राजतन्त्र पुनर्स्थापना भएका धेरै दृष्टान्त छैनन्। ब्रिटेन मात्र एउटा यस्तो मुलुक हो जहाँका जनताले चिरकालसम्मका लागि राजसंस्थाको आवश्यकता बोध गरे र ढलिसकेको राजतन्त्र फर्कियो। दोस्रो विश्वयुद्धपछि जापानको रातजन्त्र पनि चरम सङ्कटमा परेको हो। गणतन्त्र स्थापना या सेरेमोनिएल राजतन्त्र दुई विकल्पमध्ये जापानीले सेरेमोनियल राजतन्त्र नै रोजे। कम्बोडियामा गणतन्त्र स्थापनापछि पनि अलिक बेग्लै रूपमा राजा फर्किएका हुन्। होइन भने अधिकांश मुलुकमा राजतन्त्र फर्किएको दृष्टान्त छैन। त्यसो त गद्दी र श्रीपेच हरण भएपछि राजा आफ्नो देशमा बसेको दृष्टान्त पनि छैन, सिक्किमको अवस्था नितान्त भिन्न हो। 'राजा' ज्ञानेन्द्रलाई श्रीपेचविना पनि आफ्नै देशमा जीवन बिताउन तयार हुनुलाई सानोतिनो साहस मान्न खोजिनँ मैले। विगतमा आफूबाट भएका केही निर्णयहरू सही नभएको महसुस 'राजा'लाई अहिले भएजस्तो लाग्यो मलाई। माघ १९ को कदमभन्दा उक्त कदम चालिएपछि भएका कतिपय निर्णयहरूचाहिँ त्रुटिपूर्ण रहेको महसुस राजालाई भएको मैले ठानेँ, तर उहाँले शब्दमा भने त्यस्तो अभिव्यक्ति दिनुभएन। 'राजा'लाई श्रीपेचविहीन तुल्याइएकोमा भन्दा राष्ट्रिय एकता खलबलिएको र सार्वभौमिक स्वतन्त्रता कमजोर हुँदै गएकोमा अधिक चिन्ता रहेछ। नेपाली जनताको प्रजातन्त्रप्रति बलियो प्रतिबद्धता रहेको महसुस पनि राजालाई भएको छ। उहाँले राष्ट्रियता र प्रजातन्त्र सुदृढ तुल्याउन जनता अरू सजग र सक्रिय भइदिए हुन्थ्यो भन्ने आशा राख्नुभएको छ। प्रजातन्त्र र राष्ट्र तथा राष्ट्रिय एकताका पक्षधर शक्तिहरू एकजुट हुनसके देश पनि जोगिने र प्रजातन्त्र पनि सुदृढ हुने दृढविश्वास 'राजा'मा भएको पाइयो। देशभक्त तथा प्रजातन्त्रवादी शक्तिहरू एक हुन नसक्ने हो भने प्रजातन्त्र र देश दुवै गुम्नसक्छ भन्ने चिन्ता राजामा रहेछ। आफू सक्रिय रहँदा वैदेशिक सम्बन्ध सुमधुर एवम् सन्तुलित तुल्याउन नसकेको निष्कर्ष सायद 'राजा'ले निकाल्नुभएको छ, कुराकानीबाट यस्तै अनुमान गर्न सकिन्थ्यो। विगतमा कतिपयले दिएका सुझावहरू लिन नसकेको स्मरणहरू पनि राजासँग रहेछन्। विगतमा जे भए तिनका परिणामहरूलाई सहजै स्वीकार्ने अभ्यास राजाबाट भइरहेको कुराकानीबाट बुझ्न सकिन्थ्यो। राजतन्त्र फर्काउन कुनै पनि प्रकारको षड्यन्त्र, तिकडम या छलकपट गर्ने सोच राजामा रहेको कुनै सङ्केत मैले पाउन सकिनँ। राजसंस्थाको आवश्यकता छ र नेपाली जनताले राजसंस्थाको आवश्यकता महसुस गर्नेछन् भन्नेमा पूर्ण विश्वास देखिए पनि राजसंस्थालाई पुनर्वहाली गराउन राजाबाट कुनै अप्रत्यासित पहलकदमी हुने सङ्केत कम्तीमा दुई घन्टाको संवादका क्रममा मैले पाउन सकिनँ। राजा बनिरहनका लागि देशको आवश्यकता पर्ने भएकोले राजाहरू देशभक्तिको कुरा गर्छन् भन्ने स्थापित मान्यता हो। तर, 'राजा' ज्ञानेन्द्रमा भने राजा भएर मर्न होइन एउटा साधारण नेपाली मात्र भएर मर्नका लागि पनि देश चाहिएको महसुस मलाई भयो। उहाँले कुराकानीका क्रममा एकीकृत र सार्वभौम नेपालको भविष्यबारे बारम्बार जसरी चिन्ता प्रकट गरिरहनुभएको थियो त्यहाँ कृत्रिमताको छनक देखिन्नथ्यो। देश जातीय एवम् क्षेत्रीय द्वन्द्वको चपेटामा पर्छ र कालान्तरमा मुलुकको स्वतन्त्र अस्तित्व नै मेटिनेछ कि भन्ने प्रमुख चिन्ता उहाँमा देखिन्थ्यो। चीनलाई सार्कमा पर्यवेक्षकका रूपमा राख्न गरिएको (सार्क सम्मेलन, ढाका २०६१) प्रस्ताव बेठीक थियो भन्ने राजालाई नलागेको देखियो। शब्दमा केही व्यक्त नगर्नुभएको भए पनि चीनलाई 'अब्जर्भर' बनाउनु बेठीक थिएन भन्ने उहाँको सोच रहेको ठान्न सकिन्थ्यो। बरु भारतलाई विश्वासमा लिन नसकिएको महसुसचाहिँ कतै भइरहेको छ कि जस्तो लाग्यो मलाई। भारतलाई पूर्ण विश्वासमा लिन सक्नेहरूले विजय हात लगाएको भएर हो या छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सधैं मैत्रीपूर्ण र विश्वासयोग्य रहनुपर्छ भन्ने मान्यता भएर हो या दुवै कारणले गर्दा हो, भारतलाई विश्वासमा लिन नसकिएकोचाहिँ राजाले ठान्नुभएको छ। अब कुनै पनि प्रकारको विवादमा आउने या विवादमा पर्ने कुराप्रति 'राजा' अत्यन्त सचेत हुनुहुँदोरहेछ। तर, देशका निम्ति आवश्यक भूमिका निर्वाह गर्न जनताको आदेश भए उहाँ पछि हट्नुहोला जस्तो पनि लाग्दैन। देशको अस्तित्व, अखण्डता, राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय एकता र प्रजातन्त्र जोगाइराख्न राजसंस्थाको भूमिका अपरिहार्य छ भन्ने जुन विश्वास उहाँमा रहेको देखिन्छ, त्यसबाट समयाक्रममा आवश्यक पर्दा जनता र देशका लागि जस्तोसुकै भूमिका निर्वाह गर्न पनि 'राजा' तयार रहेको अनुभूति मलाई भएको छ। तर, 'राजा'को पनि भूमिकाको खोजी गर्ने स्थिति नेपालको वर्तमानमा छैन। देशै नरहने स्थिति सिर्जना भएमा यति कमजोर तुल्याइएका 'राजा'बाट कति प्रभावकारी काम हुनसक्ला? प्रश्न कठोर बनेर उभिएको छ।