Showing posts with label frist loveletter. Show all posts
Showing posts with label frist loveletter. Show all posts

पहिलो प्रेमपत्र

प्रेम भनेको अन्जानमै बस्ने अनौठो वस्तु रहेछ। त्यत्रा विशाल तस्वीरहरूमा मलाई तिम्रै तस्वीर राम्रो लाग्यो। यति सुन्दर मोहक छविमा पागल भएँ दुर्गा, तिम्रो अपार सौन्दर्यका अगाडि पग्लिरहेकी छु। जीवन अनुभव अनुभूतिहरूको अनन्त शृंखला हो, जीवनरूपी अथाह सागरमा सयर गर्दै जाँदा हामी धेरै तीता-मीठा घट्नाक्रमहरूसँग साक्षात्कार हुन्छौं। जीवनमा घटेका कतिपय घटनाहरू समयको प्रवाहसँगै विस्मृतिको सागरमा विलीन हुन्छन् भने कति चाहिँ स्मृतिको क्यानभाषमा अमूर्त आकृति भएर सल्बलाई रहन्छन्।

कुनै-कुनै घटनाहरू यस्ता हुन्छन् जसले मानव जिन्दगीलाई नै सार्थक सही दिशातर्फ उन्मुख हुन प्रेरित गर्दछन्। कुरा २०५३ साल जेठतिरको हो। त्यसबेला प्रवेशिका परीक्षा दिएर परिणामको प्रतिक्षामा बसेको थिएँ। विद्यालयस्तरको करिब एक दशक लामो अध्ययन यात्राबाट मुक्त भएकोले त्यो समय अपेक्षाकृत रूपमा मेरो लागि फुर्सदको समय थियो। त्यही फुर्सदको सदुपयोग गर्दै 'पत्रमित्रता' को माध्यमबाट मुलुकका अपरिचित मित्रहरूसँग परिचित भई आफ्नो क्षेत्रको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक पक्ष लगायत जीवन भोगाइका अनुभव- अनुभूतिहरू एक आपसमा आदान-प्रदान गर्न साह्रै लालायित थिएँ। त्यसैले मैले पहिलो चोटी पत्रमित्रताको आह्वान गर्दै आफ्नो तस्वीर सहित संक्षिप्त परिचय एक राष्ट्रिय पत्रिका 'युवामञ्च' मार्फत सार्वजनिक गरें। परिचय प्रकाशित भएको तीन हप्तापछि मलाई एउटा पत्र प्राप्त भयो। पत्रको लिफामा बाहिरपट्टि पत्र प्रेषकको नाम/ठेगाना केही उल्लेख नगरी 'चित्र को हुँ ?' मात्र लेखिएको थियो। त्यतिबेला विश्वभरि नै चिठ्ठीपत्रहरूमा 'यन्ट्राक्स आतंक' भएकोले त्यो पत्रलाई मैले विशेष सावधानीपूर्वक खोलें। पत्रमा अगाडि लेखिएको थियो-

दिनाङ्क २०५३//१५

प्रिय दुर्गा,

सुमधुर सम्झना एवं प्यार।

सर्वप्रथम तिम्रा मेरा भावनाहरू एक अर्कामा साट्न सहयोगी माध्यम युवामञ्चलाई धन्यवाद। दुर्गा लाग्छ मेरो लागि नै युवामञ्चमा तिम्रो तस्वीर प्रकाशित भए जस्तो। प्रेम भनेको अन्जानमै बस्ने अनौठो वस्तु रहेछ। त्यत्रा विशाल तस्वीरहरूमा मलाई तिम्रै तस्वीर राम्रो लाग्यो। यति सुन्दर मोहक छविमा पागल भएँ दुर्गा, तिम्रो अपार सौन्दर्यका अगाडि पग्लिरहेकी छु। आऊ सम्हाल मलाई तिम्री राजकुमारी भएर बाँच्न चाहन्छु। मेरा अरु सबै साथी-साथीहरूका ब्वाई फ्रेन्ड छन् तर मेरो कोही छैन। यस्तो केटासँग प्रेम गर्न चाहन्छु जो मबाट टाढा होस् किनकि जो प्रेमी प्रेमिका टाढा रहेर प्रेम गर्छन् उनीहरूको प्रेम अत्यन्त प्रगाढ, गाढा सत्य हुन्छ। दुर्गा, तिमीलाई 'रविन' नाम दिन्छु किनकि मलाई रविन नाम मन पर्दछ। अँ रवि, अहिले एसएलसी दिएर बसेकी छु, भन तिमी के गर्दैछौ ? अनि मसँग प्रेम गर्ने भए तिम्रो ठूलो साइजको रङ्गीन फोटो पनि पठाऊ ल। फोटो भयो भने याद अझै बढ्छ क्या। रवि तिमी बिना बाँच्न सक्दिन। आजसम्म मैले कसैलाई प्रेम गरेकी छैन यही नै मेरो पहिलो अन्तिम प्रेम हो। मेरो नाम रोशनी हो, घरमा सबैले 'रोजी' भनेर बोलाउँछन्। अब एसएलसीको रिजल्टको आशा राखेर बसेकी छु। तिम्रो सहयोग, सद्भाव माया पाएँ भने नयाँ वसन्तमा प्रवेश गर्नेछु। अन्त्यमा, रातको सुन्दर सपनीमा तिमीलाई सझाउँदै तिम्रो पत्र तस्वीरको आशा गरेको छु।

-तिम्री धड्कन रोशनी 'रोजी'

पत्र पढिसकेपछि उनलाई प्रतिउत्तर लेख्ने कि नलेख्ने ? उनीसँग मित्रता स्थापित गर्ने कि नगर्ने ? भन्ने द्विविद्वामा परे। मैले सकारात्मक नकारात्मक दुवै कोणबाट उनको पत्रको विश्लेषणात्मक अध्ययन गरें। उनले मलाई त्यो पत्र अन्तर चञ्चल मनको दिवास्वप्ना थियो। मैले पहिचान गर्न सकिन। अन्ततः मैले उनको पत्रको जवाफ नदिने निर्णय गर। मेरो स्मृति फाइलमा उनका अभिव्यक्तिहरू सुरक्षित छन्। उनी अहिले कुन अवस्थामा कहाँ के गर्दैछिन् मलाई थाहा छैन, के गर्दैछु सायद उनीलाई पनि थाहा छैन होला। तर पनि कहिलेकाहिँ आफ्नो संग्रहमा रहेका पुराना चिठ्ठीपत्रहरू पल्टाउँदै जाँदा जब उनको पत्र भेट्छु तब यस्तो लाग्छ- मैले उनको पत्रको जवाफ नदिएर ठूलो भूल गरें, 'चिन को हुँ' भन्ने उनको प्रतिकात्मक आह्वानलाई मैले अस्वीकार गरें। के थाहा ? उनको प्रस्तावलाई स्वीकार गरेर उनीसँग सम्बन्ध सूत्रपात गरेको भए उनले भनेझैं हामीबीच प्रणय सम्बन्ध नै गाँसिने थियो कि ?

( दुर्गाप्रसाद घिमिरे )-कमलामाई, सिन्धुली