Showing posts with label फ्लीम. Show all posts
Showing posts with label फ्लीम. Show all posts

जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी: स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ


‘तिम्रा लागि औषधि त त्यो पो थियो ?’, आफ्नो चेलासँग जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी हा योलाई भेटेपछि बौद्ध भिक्षुको प्रश्न। जवाफ केही आउँदैन। हुन पनि हो जीवनले सबै प्रश्नहरुको जवाफ छाडेको पनि त हुँदैन। अनि आफ्नो मनोवैज्ञानिक रोगको उपचार सेक्स हो वा बौद्ध गुम्बाको परम्परागत औषधि भन्ने निर्क्योल फरक संसारमा हुर्किएर गुम्बा पुगेकी युवतीलाई के थाहा। हा योसँग कुनै उत्तर नभए पनि उनी अभिनित स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङले सिंगो मानव जीवन क्षेत्र के हो भन्ने विषयलाई गहिराइमा पुगेर जवाफ दिएको छ। फिल्मको थिम विश्वव्यापी छ- संसारका हरेक मान्छे जन्म-बच्चा-यौवन-वृद्ध अनि मृत्युको चक्रमा घुम्छन्।
एउटा तालको बीचमा अवस्थित बौद्ध गुम्बाबाट सुरुभएको फिल्मले ऋतुहरुको चक्रमा जीवनलाई तुलना गरेर पालैपालो मान्छेको बाल, यौवन, वृद्ध र मृत्युको कथा बोल्छ। जीवन चक्र एउटा नदीको अविराम प्रवाह हो र यसलाई मान्छेका कर्म (कुसल-अकुसल) ले निर्धारण गर्छ भन्ने बुद्ध दर्शनलाई फिल्मले सरल ढंगले प्रस्तुत गर्दछ। अविद्या (युनिभर्सिटिले सिकाउने विद्या हैन मान्छेमा रहने विशेष शक्ति पहिचान बिनाको अवस्था) को समयमा मान्छे अरुको हित छाडेर आफ्नो खुशी मात्र हेर्छ। आफ्नो खुशीका लागि अन्य (प्राणी) लाई दुःख दिन्छ, हत्या गर्छ भन्ने पक्ष बालक भिक्षुमार्फत् उजागर गरिएको छ। र, जानेर/नजानेर गरिएका सबै कर्मको फल जीवनको कुनै कालखण्डमा स्वयंले भोग्नै पर्छ भन्ने सन्देश फिल्ममा छ।
१ सय २ मिनेटको फिल्ममा प्रशस्त सिम्बोलिज्म प्रयोग भएको छ। सिम्बोलिज्ममा पनि जापान र कोरिया केन्द्रित झेन बुद्धिज्मका मिथकीय कथा हाबी छन्। वृद्ध भिक्षुले आत्मदाह गरेपछि सर्प गुम्बा छिरेको दृश्यले गुम्बामा मानव नभएको संकेत गर्छ, हाँसका भालेपोथीबीचको क्रिडाले किशोर भिक्षु र हा योसँगको यौन क्रिडाको संकेत गर्छन्। फिल्ममा यौन प्यासको लागि एउटा युवामा जाग्ने भोक र त्यसको विछोडमा हुने मानव छटपटिका दृश्य बेजोड छन्। यौन भोग्न गुम्बा छाडेर संसार छिरेको भिक्षु श्रीमती अर्कैसँग लागेपछि हत्या गर्नेसम्मको आवेगमा पुग्छ। संसार भोगिसकेपछि मात्र गुम्बाभित्रको शान्ति र संसारको दुःखलाई छुट्याउन सक्ने बन्छ। र श्रीमती हत्याको सजाय भोगिसकेपछि नयाँ रियलाइजेशन सहित फेरि गुम्बामै फर्किन्छ। त्यसपछि आफ्ना खराब पूर्व कामका लागि उसले गरेको प्रायश्चितले त्रिपिटकमा बुद्धले व्याख्या गरेका दुःखका स्रोतहरुको सम्झाउँछ– यौन (तृष्णा), सम्बन्ध (अट्याचमेन्ट) र तिनमा निहीत इन्फाचुवेशन (भ्रम) दुःख हुन्। र तिनमा निहीत दुःख भोग्न मानव संसार अभिसप्त छ।
स्प्रिङमा सुरु भएको फिल्म मानव जीवनका हरेक उमेर समूह व्याख्या गर्दै अन्त्यमा स्प्रिङमै गएर टुंगिन्छ जसरी मान्छे जन्म-बाल-युवा-वृद्ध हुँदै मर्छ र फेरि जन्मन्छ। थोरै सम्वाद प्रयोग भएको स्प्रिङ-समर-फल-विन्टर एन्ड स्प्रिङ सामान्य गतिमा बगेको छ तर फिल्मले व्याख्या गरेको विषय असाध्यै गहन छन्। निर्देशन किमकी डुकले बौद्ध दर्शनको अधिकतम फिल्मीकरण गरेका छन्। फिल्म हेरिरहँदा लाग्छ आजको मान्छे त जन्मन्छ र शारीरिक विकाससँगे यौन र धनको इच्छा मात्र थप्छ। अनि जीवनभरि यौन र धनका लागि घोटिएर कहिलै आँखा नउघारी अविद्याको अवस्थामै मर्छ।