आजभन्दा २०६६ वर्ष अघिको कुनै दिन भारतवर्षका उज्जैनीका नरनारी नवसम्राट विक्रमादित्यका नाउँबाट ३६५ दिने पात्रोको थालनी गर्दैथिए होलान्। कल्पना गर्छु, उज्जैनी राजप्रासादका ताबेदारले सुगन्धित मसीको भाँडोमा मयुरपँखी कलमको चुच्चो चोबल्दै पीपलको पातमा बडो गर्वसाथ पहिलोपटक लेखेहोलान्, .....श्री विक्रमाब्द प्रथम साल महिना गते, बार। नेपालमा लिच्छवीकालदेखि नै औपचारिक शक संवत्सँगै चलनचल्तीमा रहेको विक्रमसंवत्, १९५८ वर्षपछिमात्र औपचारिक प्रयोग हुन थालेको विभिन्न सन्दर्भसामग्रीबाट पुष्टि हुन्छ। नयाँवर्ष छेक पुरानो वर्ष त बितिगो, अब नयाँवर्षभरि के कस्ता उत्तरआधुनिक अक्षर, ध्वनी र दृश्यका सामना गर्नुपर्ने हो भन्ने एउटै प्रश्नले दिमाग खान्छ।
आफ्नासँग मिलेर दुःखजिलो गर्दै बाँडीचुँडी भाग लाउन, ख्यालठट्टामा रमाउन, तथा प्रेमबात्सल्यका भावले छुन छोईन कसैले कसैलाई सिकाउन पर्दैन। विषधरसँगको लाप्पापश्चात् कुन झार चबाएर वा जीउमा दलेर उत्निखेरै विष मुक्त होइन्छ भन्ने न्याउरीलाई प्रकृतिलेचिनाइदिएको छ। न्याउरीलाई आजका वैज्ञानिकले पसिना काढेर पत्तो लाएको अर्को विषतुल्य 'एन्टीभेनम' ज्यानमा हाल्नै पर्दैन। बच्चा बोकेरै अग्रगामी छलाँङ लगाओस् भनेर काखैमा टाँसिएको जैविक झोला उपहार दिएको छ उदार प्रकृतिले कँगारुलाई। कुकुरले आफ्नो घाउ चाटेरै निको पार्छ। आकाशमा इन्द्रेणी लाग्दा मुजुरलाई नाच् भन्नै पर्दैन। त्यसैगरी मान्छेलाई पनि स्वभावजन्य खाँचाको पहिचान र पूर्ति गर्न, प्रकृतिले सबै र्याङठ्याङ मिलाइदिएको हुन्छ।
सहरका 'सभ्य' मानिसलेझैं राम्रा पुस्तक पढ्न, संगीतको मजा लिन, उच्चस्तरका कलाकृति बुझ्नबाट उनीहरू वञ्चित रहने भए नि! भनेर चुकचुकाउनु पनि पर्दैन होला। प्रकृतिको नजिकै आदीम सामाजिक मूल्य र परम्परामा बाँचेकाको बँचाइ-भोगाइ आफैमा ग्रन्थ हो, काव्य हो। उनीहरूको सीपमै पाब्लो पिकासो, दा भिन्चीहरू छरपस्टिएर गम्किएका छन्, अनि उनीहरुको श्रममा नै जोन लेनन र जोन डेनभर गाउँछन्।
विकासे प्राप्तिले पक्कै पनि एकसरो मानिसको जीवन सहज र रंगीन त बनेको छ - तर अनेक प्रदूषण, ग्लोबल वार्मिङ, पातलिंँदै गएको ओजोन तह, मरुभूमिकरण, उपचारै नास्ति रोगब्याधि पनि फोसामा हात लागेकै छ। आखिर विकासको अन्तिम लक्ष्य भन्नु धर्तीका सारा मानिसले एकपेट खाएर सुखसाथ बाँच्न पाउनु न हो! सबै आमाबाबुका सपनाजपना आफ्ना सन्तानलाई बतास पनि नबिझाओस् भन्ने न हो। तर घरबाहिर निस्कनासाथ मट्याङ्ग्रा लागेको भँगेराझैं लुले छोराछोरी भुक्लुक्क ढल्न थाले भने घामको रापलाई अझ नजिकिन उक्साउने त्यो विकासको के सार!
यस युगका महानायकहरू विश्वलाई नै प्रगतिको चरमचुलीमा पुर्याउन हतारो गर्छन्, तर हाम्रा गोडा अहिले नै दुईकिलोमिटर हिंड्न अल्छी मान्न थालिसके। भोलि कतै चुटकिलाको बाबुपात्रले, 'हेर् छोरा! अबउसो एउटा स्विच थिच्नासाथ तैंले चाहेको सबथोक पुग्नेछ' भन्दा- बा! अरु त ठीकै छ, त्यो स्विच चाँहि कस्ले थिचिदिन्छ नि? भनेझैं परनिर्भरताको चरम अवस्थामा त पुग्दैनौ हामी?
सबैमा सम्यक प्रगतिको हार्दिक शुभकामना!