सङ्ख्यामा पर्यटकहरू यो बाटोभएर आवत जावत गर्थे , पदयात्रामा हिँडेका उनीहरूलाई यहाँ बास बस्नेको के कुरा पिउनलाई पानी समेतको ब्यवस्था थिएन । त्यसैले सोचेँ यहाँ एउटा बसोबास बसाऊँ ।" केही आफन्त र चिनजानका साथीहरूलाई अनुरोधगरेर यहाँ क्रमस बस्ती बाक्लिँदै गएको कुरा उहाँ बताउनु हुन्छ । बलदेव केसी र केही अन्य उत्साहि दौँतरीहरुको त्यो आँटले अहिले अठार घर धुरी भन्दा बढी बस्तीको स्थापना भइसकेको छ । गोसाइँकुण्ड, नगरकोट, काठमाडौँ, हेलम्बु, कुटुम्साङ आदिको बाटो हुँदै पदयात्रामा आउनेहरूकोलागि एक रात बिसाउने थलो भएको छ चिसोपानी । पर्यटकहरूलाई पहिले जस्तो असुविधा र गन्तब्यमा पुग्नको लागि हतारो छैन । उनीहरू आफ्नो गन्तब्यमा पुग्नकोलागि थप उत्साह भरिदिन्छ चिसोपानीको सौन्दर्यले । हाल यस स्थानमा बास बस्नाकालागि ५-६ वटा होटलहरू छन्, सञ्चार र यातायातको सुरक्षित प्रबन्ध छ । काठमाडौँबाट चिसोपानी सम्म आउनलाई सरकारी उदासिनताका बावजुत पनि स्थानीय बासिन्दाहरूको हातेमालो अभियानले संयुक्त श्रमदानद्वारा बाटो निर्माण गरेको छ । यसलाई नियमित बनाउन प्रयासहरू जनस्तरबाट थालिएका छन् ।
अधिकांस तामाङ जातिको बाहुल्य राहेको चिसोपानी क्षेत्रबाट देखिने हिमालहरूमा विशेषगरि गौरीशङ्कर, जुगल, मनासलु, गणेश हिमाल, लाङटाङ, अन्नपूर्ण-१, अन्नपूर्ण-२, लोत्से, नुत्से, गन्जला लगायतका रहेका छन् । सूर्योदयको मनोरम दृष्य हेर्नपाइने यस स्थान र नगरकोट बिच समानतापाइए पनि शिवपुरी निकुञ्ज अन्तर्गतको मध्यवर्ति क्षेत्रमा अवस्थित यस स्थानमा मृग, बँदेल, खरायो, बाघ, भालु, कालिज जस्ता बन्यजन्तु र चराचुरुङ्गीहरू पाइनेहुँदा चिसोपानी अद्भुत रमाइलो क्षेत्र मान्न सकिन्छ । सामान्य उपलब्धि सहित व्यापक लोकप्रियता प्राप्त गरेको नगरकोट र अथाहा उपलब्धि बोकेको तर थोरै लोकप्रियतामा उब्राइरहेको चिसोपानी गइसकेका हरूकालागि फेरि फर्कने वाचा हो । जानेहरूका लागि ठूलो सौभाग्य र अवसर हो । सोही स्थानको संरक्षण र समवर्धनमा क्रियाशील संस्थाका अध्यक्ष समेत रहनु भएका बलदेव केसीका अनुसार यस क्षेत्रमा दृष्यावलोकनकालागि 'भ्यु टावर'को निर्माण गर्न सकियो भने पर्यटकहरूले हिमालको सजिवतालाई अझ नजिकबाट नियाल्न सक्ने थिए ।
चिसोपानी केवल सौन्दर्यअवलोकनका लागि मात्र नभई पदयात्रको हिसाबले पनि केन्द्रीय थलोको रूपमा चिनिने गर्दछ। विशेष त ग्रामिण पदयात्रमा रमाउने हरूकालागि निम्न मार्गहरू रहेका छन् -
१. सुन्दरीजल-चिसोपानी-कुटुमसाङ-माउनगोठ-ठाडेपाटी-घोप्टे-गोसाइँकुण्ड-रसुवाधुन्चे-काठमाडौँ (सात दिने पदयात्रा)
२. चिसोपानी - कुटुमसाङ - हेलम्बु - मेलम्ची - काठमाडौँ ( सात दिने पदयात्रा)
३. काठमाडौँ - चिसोपानी - गोसाइँकुण्ड - सिगुम्बा - ठूलो स्याप्रो - लामा होटल - लाङ्टाङ (चौध दिने पदयात्रा)
४. काठमाडौँ - बनेपा - मेलम्ची - हेलम्बु - चिसोपानी (सात दिने पदयात्रा)
५. काठमाडौँ - सिन्धुपाल्चोक - तारङमराङ - चिसोपानी (सात दिने पदयात्रा)
६. काठमाडौँ - बुढानीलकण्ठ - शिवपुरी - चिसोपानी (तीन दिने पदयात्रा)
७. काठमाडौँ - चिसोपानी - नगरकोट (तीन दिने पदयात्रा)
८. नगरकोट - चिसोपानी - काठमाडौँ (तीन दिने पदयात्रा)
९. ककनी - पाटिस्वारा - अल्छे - चिसोपानी (दुई दिने पदयात्रा)
१०. त्रिसुली - लिखु खोला - चिसोपानी (तीन दिने पदयात्रा)
११ काठमाडौँ - साँखु - फर्सेचौर - झुले - चिसोपानी (१५ किमी साइकिलिङ)
चिसोपानी एउटा अनिवार्य गन्तब्य । तपाइँ गइसकेकाहरूलाई सोध्नुस् जानका लागि । अथवा जानुहोस् र विश्वास गर्नुहोस् । अनि वर्णन गर्नुहोस् हितैसीहरूलाई - कस्तो रहेछ त चिसोपानीको वास्तविकता । काठमाडौँको कोलाहलपूर्ण वातावरण देखि एकदिनको लागि भएपनि मानसिक शान्ति विश्रामको निम्ति आफ्नो एक दिनको अमुल्य समयलाई खर्च गर्नुहोस् चिसोपानीमा र बदलामा बहुमुल्य अनुभव सँगालेर फर्कनु होस् ...
जीवन त्यो होइन जो सुनिन्छ । जीवन त्यो हो जो भोगिन्छ । तपाइँ आफ्नो जीवन जस्तै बहन दिनुस् प्रकृतिको काखमा चिसोपानीको चीसो ची ऽऽऽ सो ऽऽऽ आनन्दमा ।