आजभन्दा पाँच वर्षअगाडिको कुरा हो। म एउटा बादल नामको केटासँग प्रेम गर्थें। उसले दराजबाट फ्रेममा राखेको फोटो देखाउँदै भनी। यो बादलको तस्वीर हो जुन बादलले मलाई औधि माया गथ्र्यो। हामी एक-अर्कामा सँगै बाँच्ने र सँगै मर्ने कसम खान्थ्यौं। हाम्रो प्यार एउटा पवित्र सागर जस्तै थियो। यात्रा धेरै प्रकारको हुन्छ। यात्राले प्रेम, विछोड, मृत्यु जे पनि ल्याउन सक्छ। म एउटा यस्तो यात्राको वर्णन गर्दैछु। जुन यात्रा एउटा कहालिलाग्दो घनघोर जंगलको हो। रात केवल चुक पोखिएको गाडा कालो थियो। विडम्बना भनौ वा समयको खेल त्यसैमाथि मुसल्धारे पानीको अविरल वर्षा वर्षिन लाग्यो। |
आकाशमा तोप पडकिए जस्तै गड्याङ्ग-गुडुङ्ग आवाजको बज्रपात चक्रो मात्रामा भई नै राखेको थियो।
बेला-बेलामा अनायस बालक रोएजस्तो अस्पष्ट आवाजका तरङ्गहरू गुञ्जिरहेका थिए। म त्यो भयानक रातको डरलाग्दो दृष्यको छातीलाई एउटा सानो टर्च लाइटले चिर्दै, जंगलका ति कांडे झाडिहरूमा बेरिदै काँडाहरूले चिथोरिदै, कोतरिदै हिडिरहेको थिए। त्यसवखत मेरो अगाडिको वडेमान सालको रुखमा चट्याङ्गको बज्रपात पर्यो।
कानै फूट्नेगरी एउटा भयङकर आवाज चिच्चायो। ती रुखका पत्र पत्र उडेर सिन्का जत्रा टुक्रा-टुक्रा भएर छरिए। धन्न म बाँचे मेरो सातो पुत्लो उड्यो मैले चिच्चाउदै भने-'नाई बचाऊ...द्रद्र बचाउ...द्रद्र' मेरा ती अर्थहीन शब्दको चित्कारको गुञ्जन कता बिलायो कता, केवल शून्य मात्र थियो। त्यसको केही समयपश्चात् परबाट खितितिति गर्दै हाँसेको आवाज आयो। यो मध्यरातमा यो घनघोर जंगलमा को हाँस्यो। म अचम्ममा परें। झन डर लाग्यो निकैडराए मैले टर्चलाईट लगाएर हाँसेको आवाज आएतिर लगाएर केहि देखिएन। मेघ गर्जियो विजुति चम्कियो, बिजुलीको प्रकशमा एउटा डरलाग्दो आकृति खित्का छाड्दै मतर्फ आइराखेको थियो। त्यो देखेर म 'नाई...द्रद्र मलाई बचाऊ...बचाऊ...' भन्दै अन्दाजको भरमा दौडिएँ, जता पायो त्यतै जहाँ पायो त्यहीँ दौडिएँ। परको रुखमा गएर जोडले ठोक्किएँ, थुचुक्क बसें, त्यो खित्काको आवाज सुन्न थालें तर ती खित्काहरू जंगललाई थर्काउने गरी झन्झन् जोडले म बसेतर्फ आइसकेका थिए। म निकै नै डराएँ। शरीरभरी डरका पसिना चिडचिड गरी झरेका थिए, नाडी र मुटुको धड्कन बढ्यो। मेरो हातखुट्टा थर्थर् काम्न थाले। म जोडले चिच्चाएँ- भगवान् मलाई बचाऊ, भगवान मलाई बचाऊ।
यो कुन पापको यातना हो म बाँच्न चाहान्छु। खित्का रोकिए म गोजीबाट चुरोटको पाकेट झिक्दै एकाएक गर्दै चुरोटको पाकेट नै डरले काँप्दै धुवामा उडाइदिएँ। केही शान्तको आभाष भयो, जुरुक्क उठें र टर्चलाईट बालेर यताउती हेर्न थालें। फेरि केटाकेटी रोएको जस्तो अनौठो आवाज आयो, पानी पर्न भने बन्द भइसकेको थियो। केही वस्तु रुखको हाँगाबाट झ्वाम्म हामफाल्यो निकैबेर ती झुन्डिएका स्याउला हल्लायो। मैले टर्चलाईट लगाएर मेरो टर्चलाईटको फोकस त्यो भयानक आकृतिमा गएर टक्क रोकियो। बडेमानका लट्टाहरू थिए, विचित्रको मुख थियो। कालो न कालो यमराजको दूधजस्तो थियो। म यसको आकृति यस्तो देखें, जो खतरनाक फिल्ममा भूतको देखेको थिएँ। म गोजीबाट लाइटर निकालेर पानीले भिजेका स्याउला जम्मा गरे लाइटरले आगो बाल्ने प्रयास गरें तर असफल ! एकतमासको आधी सुसेली हाल्दै आयो र मैले जम्मा गरेका सबै पातहरू उडाइदियो। फेरी टर्चलाइट लगाएर त्यो आकृति मन्द-मन्द गतिमा म भएतिर आइराखेको थियो। म नाइ... भूत... बचाओ द्रद्र भन्दै जोडले चिच्चाएँ।
त्यो आकृति मेरो स्वरमा हाँस्यो- 'हा...हा...हा... म भाग्न जुरुक्क उठे अध्यारोले वाटो नै देखिएन। हातमा टर्चलाइट पनि थिएन हतार-हतार भूइँमा टर्च छामछुम गर्न थालें। त्यतिकैमा त्यो आकृति आएर मलाई पछाडिबाट ग्वाम्म अँगालो मार्यो। म एक तमासले छटपटाउन थाले। चिच्चाउँदै उफ्रिएँ। जेनतेन त्यसको पञ्जाबाट फुत्किएँ र एकातिर कुलेलाम ठोकें। झाडीहरूमा बेरिँदै, काँडाहरूले चिथोर्दै, केही दूरी पार गर्दै थिएँ। अचानक केही वस्तुमा ठोकिएँ। म ठोकिएको वस्तु पनि ऐया भन्दै केही पर ढल्यो। म अचम्म परें र गोजीबाट लाइटर झिकेर बालें। त्यो मसँग ठोकिने एउटी राम्री युवती थिई। यो घनघोर जंगलमा एक्लै युवती देख्दा म झन् डरले काँप्न थाले र भने- यति रातमा तिमी को हौ ?'मलाई चिनेनौ ? म पनि तिमीजस्तै एउटी बटुवा।' म झन् डराएँ, मेरो श्वास हिक्क-हिक्क गर्दै रोकियो। त्यो युवतीले मायालु स्वरमा भनी- 'तिमी किन डराउछौं ? नडराऊ म तिमीलाई केही पनि हुन दिन्नँ।' 'बरु हिँड म सँग, यहाँ खतरा छ' भन्दै मेरो हातमा समातेर तानी मैले भनें- 'नाई...नाई...म कहीँ पनि जान्न... म एक्लै जान्छु, म कसैसँग पनि जान्न।' फेरि एक तमासले बिजुली चम्कियो। केही अगाडि मलाई लछार-पछार गरेको त्यो कालो वस्तु आउदै थियो। म झन् आतिएँ, मेरो सबै बाटाहरू थुनिए। अब म अचेत अवस्थामा पुगेर चिच्चाउँदै त्यो युवतीको हातमा झुन्डिएर भने- 'हिँड...हिँड... म तिमीसँग जान्छु। मलाई बचाऊ मलाई मार्छ, त्यो आयो।' त्यो युवतीले मेरो हातमा समातेर हिँडाली। उसले जता-जता डोर्याउँछे उता-उता म पनि लाग्न विवश भएँ। अँध्यारो भए पनि बिजुली चम्कँदा मैले ख्याल गरेको थिएँ। त्यो युवतीले अरुतिर लैजाली भन्दा झन्-झन् घनघोर जंगलतिर लैजान थाली। के गर्ने, म इन्तु न चिन्तु भएर त्यो युवतीको पछि लागें र मनमनै सोच्न थाले- 'त्यो युवती साधारण केटी होइन। मानिसहरू भन्ने गर्थे, रातमा जंगलमा राम्रा-राम्रा तरुनी हिँड्ने गर्छन् भनेर, ती मान्छे नभएर किचकन्या हुन्छन्। तिनीहरूदेखि जोगिनुपर्छ। तर म त झन् फँस्दै पो गएँ।' अब मलाई भने बाँच्ने आशा मनबाट क्रमशः हराउँदै जान थालेको थियो। एकपटक बाबु, आमा, भाइ, बहिनी साथीसंगीनिलाई सम्भिmएँ। आँखाबाट आँशुका धारा बगाउँदै एकपटक स्मरण गरें। घडी हेरें, रातको ठीक २ बजेको थियो। यो सब के भइराखेको छ। म केही पनि बुझ्न सक्ने अवस्थामा थिइन। केवल एउटा नाबालक जस्तै अचेत अवस्थाको जालोमा अल्झेको थिएँ।
यो अन्धकार क्रमशः हट्दै गयो। एक तमासको एउटा यस्तो ठाउँ आयो सायद त्यो ठाउँ हाम्रो पृथ्वीभन्दा अलग्गै थियो। त्यो ठाउँको बारेमा मैले न त सुनेको नै थिएँ न त देखेको नै थिएँ। त्यो सायद अनौठो शहर थियो। अनौठो तरिकाले बिल्डिङहरू सजिसजाउ थिए। सबै ठाउँमा रङ्गीविरङ्गी बत्तीहरू, आर्कषक फूलहरू झकमक्क फुलेका थिए। म अचम्म मान्दै यो सुन्दर दृश्य हेरेर सबै भूलें। लाग्यो म एक्लै यो वातावरणमा घुमिरहेको छु। त्यत्तिकैमा एउटा आवाजले म झसङ्ग हुन पुगें। 'के सोचेको अब मेरो घर आयो।'
म अचम्म मानी यो कुन ठाउँमा ल्याए त ? घडी हेरें, रातको ३ बजेको थियो। तर पनि यो ठाउँ उज्यालो छ। सूर्य नअस्ताए जस्तो मैले एउटा ठूलो दृष्य देखें। जहाँ चित्र-विचित्रका ठूला-ठूला राँकाहरू बलिरहेका थिए। त्यो बलिरहेको आगोमा जिउँदा केटाकेटी छोपेर जबरजस्ती आगो भौरामा हाल्दै थिए। अली वर १०/१२ जना राक्षसहरू बसेर जिउँदा केटाकेटीहरूलाई जिउँदै झिरमा उनेर पोल्दै थिए। अर्को ठाउँमा ताता तेलका कराईहरूमा भकभकी तेल पाकिरहेको थियो। अली पर काटिएका मान्छेहरूलाई लतारिएको थियो। मलाई अब भने पूर्ण विश्वास भयो कि म मरिसकेछु र यो नरक लोकमा आएछु। अब मलाई पनि ताता तेलका कराईमा पकाउँछन्। म कराउँदै चिच्चाएँ 'नाई म मरेको छैन, मेरको छैन।' त्यो युवतीले मेरो मुख छोपिदिई र मेरा आवाज रोकी, तर केही आवाज भने फुस्किसकेको थियो। सबै राक्षसहरू काम छोडेर हातमा तरवार लिएर म भएतर्फआए। तर त्यो युवतीले एउटा घरको कोठामा छिट्टै नै लगेर लुकाई।
यो सब के भइराखेको थियो, मैले केही पनि बुझ्न सकिनँ, म कहाँ छु त्यो पनि जान्न सकिनँ। त्यो उज्यालोमा बल्ल त्यो युवतीको प्रष्ट चित्र देखें। त्यो युवतीलाई मैले एकपल्ट हेरें। ऊ निकै राम्री थिई, अप्सरा जस्तै, स्याउजस्ता गाला, अंगुर जस्ता नशालु आँखा, हल्का चुच्चो नाक, लामो सिल्की परेको कपाल, बारुले कम्मर र मिलेको जीउडाल थियो। अझ त्यसमाथि सेतो कपडाको पैरनले गर्दा अनुहार नै थपक्क बलेको थियो। त्यो युवती मेरो अगाडि बसी र मसँग सोधी-
'तिम्रो नाम के हो ?''राम'
'के तिमीलाई यो ठाउँ मन पर्यो ?'
'मन पर्यो, कुन ठाउँ हो यो ?'
'यो एउटा स्वतन्त्र ठाउँ हो। यहाँ धोका हुँदैन।'
'कस्तो धोका के धोका ?'
'म तिमीलाई पछि बताउने छु'
'म पनि तिम्रो नाम जान्न सक्छु ?'
'मेरो नाम सपना थियो।'
'अनि अहिले नि ?'
'तिम्रो लागि सपना नै भयो।'
यसपछि सपनाले भनी- 'बस्दै गर ल ! म आउँछु बाहिर नजानु नी।' त्यसपछि ढोका लगाएर ऊ बाहिर गई मैले ढोका राम्रोसँग लगाएँ। म निकै थाकेको थिएँ। मेरो शरीरमा निकै चोटहरू लागेका थिए। मेरो पेटमा गञ्जी माथि सारेर हेरें, त्यहाँ नङराका निल डाम थिए। जुन जंगलको राक्षसले छोप्दा लागेको थियो। मलाई सुतौं-सुतौं लाग्यो तर डरका कारणले सुत्न सकिन। म कोठाको चारैतिर हेर्न थालें। कोठा सेतो रङ्गले चम्काइएको थियो। बीचमा टेबुल थियो। त्यसमा एउटा ठूलो डायरी थियो। अलि पर एउटा दराज थियो। म उठेर दराजको ढोका खोलें एउटा रातो कपडाले केही वस्तु ढाकिएको थियो। मैले हात कमाइ-कमाई त्यो कपडा हटाएँ। एउटा सुनको फ्रेममा एउटा राम्रो केटाको फोटो थियो। त्यसमा तलपट्टि 'धोका' ठूलो अक्षरमा लेखिएको थियो। म यो के हो भनेर सोच्न थालें। त्यत्तिकैमा ढोकामा टक्-टक् आवाज आयो। म डराउँदै ढोका खोलें। त्यो युवती थिई सपना। ढोका बन्द गरेर सपना बसी। उसले सेतो पट्टी र विभिन्न पातहरू ल्याएकी थिई। मैले सोचें यो किचकन्याको खाना होला। अब मलाई यी घाँस र पट्टी खुवाएर मार्ने भई। त्यसको ठीक विपरीत उसले मेरा रगत बगेका घाउहरूमा ती पात लगाइदिएर त्यो पट्टी बाँधिदिई। मलाई कता-कता सितलको अनुभव भयो।
सपनाले आफ्नो कोठामा राखेको त्यो डायरी पल्टाउन थाली र आँखाबाट आँशुका थोपाहरू बगाउन थाली। मैले अचम्म मान्दै सोधें-
'के भयो सपना'
'राम यो छाति भित्र-भित्र दुख्यो।'
'किन ?'
'छातिभित्र एउटा कथा छ त्यसैले पिरोल्छ।'
'के कथा, भन्न मिल्छ ?'
'हो, भन्न मिल्छ र कसैलाई सुनाउन पाए हल्का पनि हुन्छ।'
'त्यसो भए मलाई सुनाऊ।'
'हो तिमी सुन्छौ भने म सुनाउँछु' भनेर सपनाले आफ्नो छातिभित्र दुखाउने कथा आत्माभित्र पिल्सिएको कथा आँशुका थोपाहरू बगाउँदै भन्न लागी। 'आजभन्दा पाँच वर्षअगाडिको कुरा हो। म एउटा बादल नामको केटासँग प्रेम गर्थें। उसले दराजबाट फ्रेममा राखेको फोटो देखाउँदै भनी। यो बादलको तस्वीर हो जुन बादलले मलाई औधि माया गथ्र्यो। हामी एक-अर्कामा सँगै बाँच्ने र सँगै मर्ने कसम खान्थ्यौं। हाम्रो प्यार एउटा पवित्र सागर जस्तै थियो। समयको गतिसँगै हाम्रो प्यार झाङ्गिँदै गयो। नयाँ-नयाँ आँकुराहरू हाल्दै गयो। एक सच्चा प्यारको परिभाषाको रूपमा बादल र म परिचित थियौं।
तर त्यसको केही दिनपछि मैले थाहा पाएँ। वास्तवमा बादलले मलाई प्यार होइन मेरो जीवनसँग खेलेको रहेछ। उसको प्यार गर्ने वाहना मात्र रहेछ। म जस्ता कयौं कुमारीहरूलाई उसले प्यारको नाममा जीवनसँग खेलेको रहेछ। त्यसपछि मैले उसलाई यस्तो कार्यको विरोध जनाएँ। मैले उसलाई मसँग विवाह गर्न सल्लाह दिएँ र आफू बच्चाको आमा बनिसकेको कुरा पनि सुनाएँ। त्यसपछि ऊ एकाएक आवेशमा आयो र भन्यो- 'ए बेश्या, मुख सम्हालेर बोल, तँ जस्ती बेश्यालाई मैले विवाह गर्ने ? कसको पाप बोकेकी छस् भनेर मलाई भन्छ। मैले निकै सम्झाएँ, बिलौना गरें तर उसले सुनेन। अन्त्यमा आत्महत्या गर्नु बाहेक अरु के पो गर्न सक्थें र ? समाजमा चलेको हल्लाले म आत्महत्या गर्न विवश भएँ। हो म एउटा रुखमा झुन्डिए र आत्महत्या गरें।'
म अचम्म मान्दै सपना समक्ष भने?
'हैन तिमी त जीवित नै छौ त ?'
'होइन, म जीवित छैन, आजभन्दा ५ वर्ष पहिला म मरेको थिएँ।'
'त्यसो भए म पनि मरिसकें त ? म कहाँ छु।'
'तिमी अहिले यो नयाँ दुनियाँमा छौ, जहाँ धोका हुँदैन।'
'मलाई छाड, म मर्न चाहन्न, जान्छु।'
'नाई, राम तिमी फर्केर नजाऊ, त्यो स्वार्थीहरूले रङ्गिएको पृथ्वीमा धोकैधोकाले भरिएको, पापीहरूको मुलुकमा रक्तपात अनि आतंकले कोलाहल मच्चाएको त्यो रणभूमिमा के जान्छौ ? कमसेकम यहाँ शान्ति त छ, स्वार्थी छैन। दुःख, पीडा, पाप, धर्म, जातजाति, भेदभाव, मुर्ख, विद्वान्, शिक्षा अशिक्षा केहीको पनि गन्ध छैन यहाँ, तिमी पृथ्वीमा नर्फक तिमीलाई धोका हुन्छ।'
होइन सपना, मलाई रोक्न नखोज, मलाई जान देऊ। मेरो आमाबुबाले मेरो बाटो हेरेका होलान्, साथीसंगी पर्खेर बसेका होलान्। मेरो देशले मबाट केही पाउने आशाले पर्खिरहेको होला। गाउँका बुढापाकाले पुर्पुरोमा हात लगाएर भन्दै होलान्- 'राम कहाँ गयो ?' त्यसैले म जानु छ। यो देशलाई केही गरेर देखाउनु छ, बरु एकदिन म तिमीसमक्ष फर्केर आउनेछु आज मलाई नरोक।'
मेरो बिलौना सुनेर सपनाले थालभरि अक्षता लिएर आँशुका भल बगाउँदै भन्न थाली- 'ठीक छ राम, तिमीले धेरै इच्छा र आकांक्षा बोकेका रहेछौ, धेरै सपनाहरू सजाएर राखेका रहेछौ। त्यसैले तिमीलाई मैले रोक्दिन, तिमी जाऊ, तर पृथ्वीमा गएर तिमीले केही गर्नुपर्छ। धोका कसैलाई नदिनु, स्वार्थको दलदलमा कहिल्यै पनि नफस्नु, जातजातिप्रति भेदभाव नगर्नु, धनका पछि कहिल्यै नलाग्नु। एउटा देश र समाजको सच्चा नागरिक भएर बाँच्नु, यत्तिकैमा अचानक ढोका फोडिएला जस्तै आवाज आयो। सपनाले हत्तपत्त मलाई दराजमा लुकाइन् र ढोका खोलिन्। एउटा राक्षसको हुल आयो र सपनालाई तैंले जिउँदो मान्छे लुकाएर राखेकी छेस् भन्दै चुल्ठामा समातेर, लतारेर घिसार्दै लगे। म दराजको चरबाट सबै दृश्य हेरिरहेको थिएँ। म अचम्म परें। ती राक्षसले जिउँदो मान्छे भनेर त्यसरी लतार्दै लगेकोमा दराजबाट बिस्तारै निस्किएर झ्याल खोलेर हेरें।
सपनाले मलाई लुकाएको कारणबाट काँटी र निलकाँडा भएको चौरमा लगत्तै ती राक्षसहरूले उनलाई लगे। मैले आफ्नो आवाज नियन्त्रण गर्न सकिन र चिच्याएँ- 'नाई सपनालाई छोड, सपनालाई छोड...।' मलाई देखेपछि एउटा हुल मतिर आयो र मलाई लतार्दै लगे एउटा डरलाग्दो ठाउँमा। त्यहाँ फुटबल खेल्ने पोल जस्तो दुईवटा पोल थियो। मलाई ती राक्षसहरूले छोपेर २ हात एवं २ खुट्टा बाँधेर पोलमा बाँधे। अब भने म मर्ने निश्चित भएँ। ती राक्षसहरूले मलाई पोलेर खाने भए। म निकै छटपटाएँ, चिच्याएँ मलाई छाड भनेर। मैले बिन्ती गरें तर मेरो चित्कार कसैले पनि सुनेन। मलाई छाड्नुको सट्टा झन् एउटा कालो-कालो टाउकोमा तीनवटा सिङ्ग भएको डरलाग्दो राक्षस दुवै हातमा धारिलो तरबार लिएर मतिर मलाई काट्न निशाना लगाउँदै आयो। म के पो गर्न सक्थें र ? जञ्जिनमा कैद भएको थिएँ। एउटा अनौठो चित्कार आयो र त्यो राक्षस जोशिएर मलाई त्यो तरवारले हान्न थाल्यो। म चिच्याएँ 'नाई, मलाई नमार, म बाँच्न चाहन्छु... मलाई नकाट... मलाई नमार... म... बाँच्न चाहन्छु।' मेरो आँखा खुले। म झसङ्ग भएँ, म त अर्को संसारमा पो आइसकेको रहेछु। मेरो नाक र मुखमा अक्सिजनको पाइप लगाइएको थियो। हातमा रगत चढाइराखेको थियो। वरिपरि ३/४ जना डाक्टरहरू चिन्तित अवस्थामा देखिन्थे। यत्तिकैमा एकजना नर्स बहिनीले बाहिर संकेत गर्दै भनिन्- 'लौ बिरामीको होश आयो, तपाईंहरू भेट्न सक्नुहुन्छ' यत्तिकैमा आमा, बुबा, भाइ, बहिनी र अन्य छिमेकी साथीहरू म सुतिरहेको बेडमा आए र सबै डाँको छाडेर रुन थाले र मेरो मुखबाट अक्सिजनको पाइप निकालेपछि मैले भने- 'मलाई के भयो र रुनुभयो' फेरि पनि हर्षे सबैले आँशु बगाए। सबैले भने- विचाराको बल्ल ३ दिनपछि होश आयो। कसैले चाहिँ 'हामी सबैलाई रुवाएर गएको कठै बरा ! बाँच्यो' भने।
शंकरप्रसाद गौतम